भ्रष्टाचारको एउटा मुद्दाले ढल्यो स्पेनी सरकार

 जेठ १८, २०७५ शुक्रबार २०:१२:५ | उज्यालो सहकर्मी

स्पेनमा प्रधानमन्त्री मारियानो रखोयविरुद्धको अविश्वास प्रस्ताव पारित भएको छ । 

विपक्षी सोसलिस्ट पार्टीले पेस गरेको अविश्वास प्रस्ताव पारित भएपछि रखोय पदबाट बर्खास्त भएका छन् । 

रखोयको पार्टीले भ्रष्टाचार गरेको आरोप लगाउँदै सोसलिस्ट पार्टीका नेता पेद्रो साञ्चेजले रखोयविरुद्ध संसदमा अविश्वासको प्रस्ताव पेस गरेका छन् । सान्चेजको प्रस्तावमा बास्क नेसनलिष्ट पार्टीले पनि समर्थन जनाएपछि रखोयविरुद्धको अविश्वासको प्रस्ताव पारित भएको हो । 

स्पेनको इतिहासमा रखोय अविश्वास प्रस्तावबाट हटाइएका पहिलो प्रधानमन्त्री हुन् । कन्जर्भेटिभ पिपुल्स पार्टीका नेता रखोय सन् २०११ मा प्रधानमन्त्री भएका थिए । सोसलिस्ट पार्टीका नेता साञ्चेज अब स्पेनको नयाँ प्रधानमन्त्री बन्ने सम्भावना रहेको छ । 

पछिल्लो हप्ता रखोयको पार्टीका पूर्व कोषाध्यक्षमाथि भ्रष्टाचारको आरोपमा ३३ वर्षको जेल सजाय सुनाइएको थियो । मड्रिडको उच्च अदालतले लुई बार्थेनसलाई भ्रष्टाचार तथा अवैध धन थुपारेको विषयमा दोषी ठहर गरिएको थियो । 

को हुन् साञ्चेज ?

४६ वर्षीय पेड्रो साञ्चेज सन् २०१४ सम्म चर्चामा थिएनन् । उनी ठूला नेता पनि थिएनन् । तर उनी सन् २०१४ मा सोसलिस्ट पार्टीका प्रमुख बने । उनी  एक अर्थशास्त्री तथा पूर्व बास्केटबल खेलाडीसमेत हुन् । 

सन् २०१५ र २०१६ मा उनले दुई पटक चुनावमा हार पनि व्यहोरे । त्यसैले उनले पार्टीको प्रमुख पद छोड्नु पनि पर्यो । तर केही महिनापछि उनले पार्टीका बहुमत सदस्यबाट विस्वास जित्दै पुनः प्रमुख बने । 


 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया