जम्कट्टेलको प्रश्न : ‘एमालेले पाएकाे मात्रै जनमत, हाम्रो चाहिँ सालको पात ?’

 कात्तिक ४, २०७८ बिहिबार १९:१४:१० | हरि हुमागाईं
unn.prixa.net

फाइल फाेटाे

मकवानपुर – नेकपा माओवादी केन्द्र वाग्मती प्रदेश संसदीय दलका नेता शालिकराज जम्कट्टेलले नेकपा एमालेले दम्भ र अहङ्कार मात्रै प्रदर्शन गरेकोले सर्वोच्च अदालतले गलहत्याएर निकालेको टिप्पणी गर्नुभएकाे छ । 

आज बुधवार प्रदेश सभा बैठकलाई सम्बोधन गर्दै नेता जम्कट्टेलले सत्ताधारी एमालेले आफूहरूमात्रै जनमत प्राप्त दल भएको भन्दै अहङ्कार प्रदर्शन गर्नु गलत भएको बताउनुभयाे ।  उहाँले भन्नुभयाे, ‘एमालेमा केपी ओली प्रवृत्ति हाबी भएको छ । जसरी हुन्छ हेप्ने, चेप्ने, सकेसम्म यो व्यवस्था र संविधान ध्वस्त पार्न खोज्ने, संसद् र संविधानमाथि नै आक्रमण गर्ने अनि संयुक्त गठबन्धनबाट बनेको प्रधानमन्त्रीलाई परमादेशको सरकार भन्ने, यो उहाँको कस्तो राजनीतिक संस्कार हो ?’ 

‘एमालेले पाएको चाहिँ जनमत अनि हामीले पाएको चाहिँ सालको पात हो त ? उहाँले मात्रै जनमत पाएको भए, किन छाडेको त सरकार, पुर्‍याउनुस् न त बहुमत,’ नेता जम्कट्टेले थप्नुभयाे । 

जनमतकै आधारमा सर्वोच्च अदालतबाट परमादेश जारी भएको बताउँदै उहाँले संयुक्त गठबन्धन संविधान र लोकतन्त्रको रक्षाका लागि निर्माण भएको दाबी गर्नुभयाे । 

उहाँले मुख्यमन्त्री शाक्यलाई आफूहरूले विश्वासको मत नदिने बताउनुभयाे । उहाँले भन्नुभयाे, ‘हामीले उहाँलाई विश्वासको मत दिनुपर्थ्याे तर उहाँ प्रतिगमनको पक्षमा उभिनुभएको छ । त्यस कारण दुःखका साथ भन्नुपर्छ, उहाँलाई हामीले विश्वासको मत दिन सक्दैनौँ ।’ 

यस्तै आजकाे बैठकमा नेपाली कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर बानियाँले एमाले नेतृत्वको सरकारले भ्रमको खेती गरेको आरोप लगाउनुभएकाे छ । उहाँले एमाले सरकारले झन्डै साढे तीन वर्षे कार्यकालमा गरिब नागरिकका लागि खाना, नाना र छानाको नारा भजाएर व्यक्तिगत स्वार्थका लागि मात्रै काम गरेको बताउनुभयाे ।  

अन्तिम अपडेट: बैशाख २४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया