सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुबाट ३ जनाको मृत्यु, स्थानीयहरु त्रसित

 भदौ २८, २०७५ बिहिबार १८:२०:२४ | शुभनारायण यादव

सप्तरी – सप्तरीमा स्वाइन फ्लु र हङकङ फ्लुबाट ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेहरुमा कञ्चनरूप नगरपालिका वडा नं–७ का १४ वर्षीय दिवश बस्नेत, वडा नं–३ का १४ वर्षीय किशोर राम र वडा नं–९ का १४ वर्षीय आमोदकुमार राम छन् । 

केहीदिन अघि कञ्चनरुप र हनुमाननगर नगरपालिकामा केही दिनदेखि देखिएको रुघाखोकी र ज्वरोका बिरामीमा ’एचवानएनवान’ (स्वाईन फ्लु) र ’एचथ्रिएनटु’ (हङकङ फ्लु)को भाइरस फेला परेको थियो ।

कञ्चनरुप नगरपालिकाका १८ तथा हनुमाननगर नगरपालिकाका ६ गरी २४ जनामा गरिएको परीक्षणका क्रममा १ जनामा स्वाइनफ्लु र १० जनामा हङकङ फ्लु फेला परेको जिल्ला जनस्वास्थ्य कार्यालय सप्तरीका प्रमुख निरन्जन प्रसाद यादवले जानकारी दिनुभयो । 

८ जनाको रिपोर्ट आउन अझै बाँकी छ । भदौ २४ गतेदेखि तीन दिनसम्म सञ्चालन गरिएको स्वास्थ्य शिविरमा जम्मा १ हजार १ सय २२ जनाले स्वास्थ्य  परीक्षण गराएका थिए । जसमध्ये २४ जनाको रगत र र्‍याल परीक्षणका लागि काठमाडौको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको थियो । 

परीक्षणमा कञ्चनरुप नगरपालिका ७ बलुवाका ६० वर्षीय हरिलाल साहलाई स्वाइन फ्लुको संक्रमण भएको तथा कञ्चनरुपका अन्य ४ जना तथा हनुमाननगरका ६ जनामा हङकङ फ्लु फेला परेको यादवले जानकारी दिनुभयो । 

ज्वरो र रुघाखोकीका बिरामी बढ्दै गएपछि कञ्चरुप तथा हनुमाननगर क्षेत्रमा स्वास्थ्य शिविर स्थापना गरी बिरामीको रगत र र्याल परीक्षण गरिएको थियो ।
एकपछि अर्को गर्दै लगातार बिरामीको संख्या थपिँदै गएपछि स्थानीयहरु त्रसित भएका छन् । 

जिल्ला जनस्वास्थ्य कार्यालय लगायतका सरोकारवाला निकायले भने सबै मृतककको मृत्युको कारण स्वाइन फलु नै भएको किटेर भन्न सकिने अवस्था नरहेको बताउँछन् ।

‘मृत्यु भएकामध्ये कसैको पनि परीक्षण भएन’ जनस्वास्थ्य प्रमुख यादवले भन्नुभयो ‘स्वाइन फ्लु वा हङकङ फ्लुकै कारण मरेको हो भन्ने यकिनसाथ भन्न सकिँदैन ।’ 

यसैबीच कञ्चनरुप तथा हनुमाननगर नगरपालिकामा स्वाइन फ्लु र हङकङ फ्लुको भाइरस फेला परेपछि जिल्ला दैवी प्रकोप उद्दार समितिको आपतकालीन बैठक बसेको छ । 

बैठकमा प्रभावित क्षेत्रमा स्वास्थ्य टोली खटाउने र उपचारको व्यवस्था मिलाउने तथा भारतीय नाकामा हेल्प डेस्क राख्ने विषयमा छलफल भएको जनाइएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

शुभनारायण यादव

शुभनारायण यादव सप्तरीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया