राजनीतिसँगै कुखरापालन : ‘ब्रोईलर’ले डुबायो, ‘लेयर्स’ले उकास्यो

 भदौ ३१, २०७५ आइतबार ९:२०:५४ | श्यामशितल परियार
unn.prixa.net

लमजुङ – नाम : द्धारिकाप्रसाद मिश्र । ठेगाना : सुन्दरबजार नगरपालिका–९, धारापानी लमजुङ । पेशा : व्यवसायिक कुखुरापालन ।    
     
उनै मिश्र २०५७ सालमा दुराडाँडाबाट भोटेओडार आउनुभयो । श्रीमती, छोरा र दुई छोरीको साथमा उहाँ दुराडाँडाबाट भोटेओडार आउनुभएको हो । 

४ वर्षसम्म कोठा भाडामा लिएर बस्नुभयो । परिवारको गर्जो टार्न केही वर्ष स्थानीय निजी स्कुलमा समेत पढाउनुभयो । किराना पसल पनि चलाउनुभयो । तर गुजारा चलाउन सकस भयो ।   

ब्रोईलरले डुबायो  

परिवारको सल्लाहमै उहाँले कुखुरा पाल्ने सोच बनाउनुभयो । र २०६८ सालमा ऋणधन गरी पाउँदीमै ब्रोईलर कुखुरा पाल्नुभयो । उहाँको कुखुरापालन व्यवसायले त्यसबेला खासै गति लिन सकेन । 

कुखुरालाई रोगले सतायो । समयमै प्राविधिक सेवा पाउन सक्नुभएन । कुखुरा धमाधम मर्न थाले । लगानी पनि डुब्यो । ब्याजले डाँडै काट्यो । लगानी चुर्लुम्मै डुब्यो । उहाँको थाप्लोमा झनै आर्थिक भार थपियो ।

लगानी डुबेपछि भोक, प्यास र निद्रा भुलेका मिश्रले लेयर्स कुखरा पाल्ने सोच बनाउनुभयो । २०७० सालदेखि लेयर्स पाल्न थाल्नुभएका मिश्रले अहिले अण्डा बिक्रीबाटै मनग्य आम्दानी गरिरहनुभएको छ । 

‘ब्रोईलर भन्दा लेयर्स पालेपछि खस्किएको आर्थिक स्तर केही उकासिएको महसुस गरेको छु’ उहाँले सन्तुष्टी जनाउनुभयो ।

दैनिक २३ सय अण्डा उत्पादन, ११ हजार आम्दानी

सुन्दरबजार नगरपालिका–७, पाउँदी सडक आडैमा उहाँको कुखुरा फार्म छ । फार्ममा ४ वटा टहरा छन् । कामदारको आवासका लागि एक कोठा, स्टोर कोठा र अण्डा संकलन कोठा गरी तीन कोठा सहितको ब्लक लगाएर बनाईएको एउटा घर छ । फार्ममा उहाँ आफैं खटिनुहुन्छ । साथमा एकजनाले पूर्ण रोजगारी पनि पाएका छन् ।    

फार्ममा अहिले झण्डै ३ हजार ‘हाईलेन’ जातका लेयर्स कुखुरा छन् । दैनिक ११ प्याक अण्डा उत्पादन हुन्छ । एक प्याकमा २ सय १० वटा अण्डा हुन्छ । फार्मबाट उत्पादित २३ सय अण्डा लमजुङकै पाउँदी, सुन्दरबजार, खत्रीठाँटी, सिउँडीबार, भोटेओडार, उदीपुरमा खपत हुँदै आएको छ ।

प्रतिप्याक २ हजार रुपैयाँका दरले उहाँले अण्डा बेच्दै आउनुभएको छ । फार्ममा दैनिक ११ हजार रुपैयाँ खर्च हुन्छ । दैनिक ११ हजार रुपैयाँ दैनिक आम्दानी हुन्छ ।

‘फार्ममा रहेका सबै कुखुराले उत्पादन दिएका छन् । दैनिक २३ सय अर्थात ११ प्याक अण्डा उत्पादन हुन्छ । प्रतिप्याक २ हजार रुपैयाँका दरले अण्डा बेच्छु । फार्मको दैनिक खर्च ११ हजार छ । दैनिक आम्दानी ११ हजार नै छ,’ फार्ममा अण्डा टिप्दै उहाँले भन्नुभयो ।    

आयश्रोत हुनु जरुरी    

धारापानीमा मिश्रको आफ्नै घर छ । किराना पसल छ । किराना पसल मिश्रकी श्रीमती शिवकुमारी पोख्रेलले सम्हाल्नुभएको छ ।  

स्थानीयस्तरमा थुप्रै संघसंस्थाको नेतृत्व गरेको अनुभव पनि छ, उहाँसँग । उहाँ राजनीति पनि गर्नुहुन्छ । यसअघि उहाँले नेपाली कांग्रेस सुन्दरबजार नगर कार्य समितिको सभापति भएर काम समेत गर्नुभएको थियो । 

तर स्थानीय तहको चुनावदेखि उहाँ पार्टीप्रति असन्तुष्ट व्यक्त गर्दै नेपाली कांग्रेस स्वतन्त्र समूह सुन्दरबजारको संयोजक भई राजनीति गर्दै आउनुभएको छ ।

‘राजनीति समाजसेवा हो । पेशा होइन । राजनीति गर्ने मान्छेको पनि आयश्रोत हुनु जरुरी छ । कुनै व्यापार, व्यावसाय हुनु आवश्यक छ,’ उहाँले भन्नुभयो, ‘त्यसैले म राजनीति, समाजसेवासँगै कृषिमा पनि लागिरहेको छु ।’      

प्राविधिक सेवा नपाउँदा समस्या

सम्बन्धित निकायवाट प्राविधिक सेवा नपाउँदा आफूहरु समस्यामा पर्ने गरेको द्धारिकाको भनाई छ । उहाँका अनुसार कुखुरा पालनमा उच्च लगानी छ । जोखिम पनि उत्तिकै छ । आम्दानी पनि राम्रो छ । तर किसानले समयमा नै प्राविधिक सेवा पाउन नसक्दा लगानी डुब्ने खतरा रहन्छ ।

मिश्रका अनुसार जिल्लामा ५० जना व्यावसायिक लेयर्स कुखुरापालक किसान रहेका छन् । दैनिक जिल्लामा झण्डै ३३ हजार अण्डा उत्पादन हुन्छ । 

खाडी धाउनु पर्दैन  

बाहिरबाट आउने सस्तो अण्डाका कारण स्थानीय किसानले उत्पादन गरेको गुणस्तरीय अण्डा सस्तोमै बेच्नुपर्ने अवस्था सिर्जना हुने गरेको पनि उहाँ बताउनुहुन्छ ।   

‘बाहिरबाट अण्डा आउँछन् । सस्तोमै बेच्छन् । जसका कारण पनि स्थानीय किसानले उत्पादन गरेको गुणस्तरीय अण्डाले कहिलेकाहीँ राम्रो बजार नपाउने अवस्था आउँछ । किसान मारमा पर्छन्,’ उहाँले भन्नुभयो । वास्तविक किसानले राज्यको सहयोग पाउन नसकेको पनि उहाँले बताउनुभयो । 

‘आवश्यक ज्ञान, सीप लिएर कृषि क्षेत्रमा होमिए पैसाकै लागि खाडी धाउनु पर्दैन,’ अन्त्यमा उहाँले भन्नुभयो ।    
 

अन्तिम अपडेट: बैशाख १३, २०८१

श्यामशितल परियार

श्यामशितल परियार उज्यालोकाे लमजुङ र मनाङ जिल्ला सम्वाददाता हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया