हेड सरको सनही !

 असोज २, २०७५ मंगलबार ६:३:२९ | रासस

पर्वत - ‘प्रधानाध्यापक’ भन्नेवित्तिकै धेरैले अधिकांश समय विद्यालयको काममा खटिरहने शिक्षकको प्रमुख नाइके भनेर बुझ्ने गर्दछन् । प्रधानाध्यापकले विद्यालयको व्यवस्थापकीय पक्षलाई राम्रो बनाउँदै शिक्षक न्यून हुने शैक्षिक संस्थामा अध्यापन गराउने कामसमेत गरेका हुन्छन् तर यहाँको एक माध्यमिक विद्यालयका प्रधानाध्यापकले भने अतिरिक्त श्रममा समेत आफूलाई अब्बल नाइकेका रुपमा प्रस्तुत गरिरहेका छन् । 

जिल्लाको एक माविका प्रअलाई सार्वजनिक बिदाको दिन प्रायः कुश्मा बजारमा हुने बिहे लगायत अन्य शुभकार्यमा गाला फुलाई–फुलाई सनही बजाइहेको देखिन्छ । उहाँलाई धेरैले हेड सर अर्थात् प्रधानाध्यापक चक्रबहादुर पुन भनेर चिन्दछन् । सदरमुकामको व्यस्त बजारबीच सनही फुकिरहँदा उहाँ धेरैको ध्यान आफूतिर खिच्न सफल हुनुहुन्छ । जलजला गाउँपालिका वडा नं ९ स्थित बनौँ माध्यमिक विद्यालयका प्रअ पुन बिहेमा निर्धक्कसँग नौमतीमा रमाइरहेको देखिनुहुन्छ । उहाँ र उहाँका समूहले नौमती बाजा बजाएर धेरैलाई मनोरञ्जन दिँदै आएको छ । 

जिल्लामा मात्र नभएर पछिल्लो समय धौलागिरि क्षेत्रमा समेत ‘मगरबाजा’ भनेर ख्याति कमाउन सफल उहाँको समूहले छिमेकी जिल्लामा समेत नौमती बाजा बजाउने गरेको छ । निश्चित पारिश्रमिक लिएर उक्त समूह विवाह उत्सव तथा शुभकार्यमा बाजा बजाउन हिँड्ने गर्दछन् । विसं २०५९ माघ १ बाट शिक्षण पेशा शुरु गर्नुभएका उहाँले ०५९ चैत १६ बाटै प्रअको भूमिका निर्वाह गर्दै आउनुभएको छ । करीब १५ वर्ष प्रअ हुनुभएका उहाँले नौमती बाजा बजाउन लागेको भने जम्मा छ वर्ष भयो । 

विद्यालय खुलेको दिनमा सधैँ विद्यालय जाने तर सार्वजनिक बिदाका दिनमा भने बाजागाजा बोकेर बिहे तथा शुभकार्यमा बाजा बजाउन हिँड्नुहुने उहाँ भन्नुहुन्छ, “म नौमती बाजाको अत्यन्त पारखी हुँ । बाजा जहाँ बजे पनि जाउँजाउँ लाग्छ , शुरुमा परियार थरका मानिसले नौमती बजाउने गर्दथे । हामी रमाइलो हेर्न जान्थ्यौँ तर बाजा बजाउने एकाध मानिस जाँडरक्सी सेवन गर्ने र होहल्ला गरी शुभकार्य नै अशुभ गराउनेसम्मको हर्कत गर्ने गरेको भेटेपछि आफैँ बाजा बनाउने समूह निर्माण थालेको हुँ ।” 

नौमती बाजा मगर समुदायले बजाउने गरेपछि यसको माग पनि बढ्न थालेको छ । शहरबजारमा आधुनिक बाजा भित्रिनै लाग्दा प्रअ पुनले चलाउनुभएको अभियानबाट नौमती बाजा मात्र होइन स्थानीय गीत सङ्गीतको समेत संरक्षण र प्रवद्र्धन भइरहेको छ । “हाम्रा कलासंस्कृति लोप हुने अवस्था थियो, मगरले नौमती बाजा संरक्षणको अभियान चलाएपछि खुशी लागेको छ ।” पर्वत उद्योग वाणिज्य सङ्घका अध्यक्ष केदारनाथ शर्मा भन्नुहुन्छ, “गाउँको गहनाका रुपमा रहेका बाजालाई संरक्षण गरेपछि हामीले चाहिएको बेला नौमती बजाउन पाएका छौँ ।” 

संस्कृति बचाउने मात्र होइन, टमक्क मिलेको मगर पोशाकमा महिला र पुरुष दुवै मिलेर नौमती बाजा बजाउने, नाच्ने र गाउने गर्दछ बनौँको बाजा समूहले । अहिले पर्वतमा मगर बाजाको नामबाट प्रख्यात बनौँका बाजा पर्वत मात्र नभएर पोखरा, बागलुङ, म्याग्दीबाट समेत माग बढ्न थालेको छ । प्रअ पुन सार्वजनिक बिदा परेका दिन आफै र नपरेका दिन समूहका अन्य साथीलाई बिहे तथा शुभकार्यमा बाजा बजाउन पठाउने गर्नुहुन्छ । 

उहाँको समूहमा महिला र पुरुष दुवै संलग्न छन् । बाजा समूहले बजाउने मात्र होइन, नाच्ने, गाउने कामसमेत गर्दछ । प्रअ पुन विद्यालयको व्यवस्थापनमा मात्र मात्र नभई बचेको समयमा सनही, ट्याम्को, ढोलकी, दमाहा, झ्याली लगायत बाजा बजाउन निपूर्ण हुनुहुन्छ । उहाँको विद्यालयमा २३२ विद्यार्थीका साथमा १२ शिक्षक छन् भने बाजा समूहमा ११ जना छन् । 

अन्तिम अपडेट: बैशाख २५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया