आइतवारदेखि हुन लागेको लगानी सम्मेलनमा नेपालले एक सय ५१ वटा...
बैशाख १४, २०८१ शुक्रबार
काठमाडाैं - थाइल्याण्डमा हुने एएफसी यू १६ महिला च्याम्पियनसिपमा छनोट हुने नेपालको सम्भावना सकिएको छ ।
पहिलो खेलमा फिलिपिन्सँग ४–० ले पराजित भएको नेपाल शुक्रबार म्यानमारसँग ११–१ गोल अन्तरले पराजित भएपछि छनोटको सम्भावना सकिएको हो ।
हलचोक मैदानमा आज भएको खेलमा म्यानमारले पहिलो हाफको सुरुदेखि नै गोलको वर्षा गरेको थियो । पहिलो हाफको चौथो मिनेटबाट गोल खान शुरु गरेको नेपालले ६३औं मिनेटसम्म खेल पुग्दा नेपालले ११ गोल खाएको थियो ।
नेपालले ७४औं मिनेटमा सान्त्वना गोल फर्काएकाे थियो । नेपालका लागि एक मात्र गोल सावित्री ठोकरले गरेकी हुन् ।
म्यानमारका लागि स्वीओर माङले पहिलो हाफको ३८ मिनेटभित्र एक्लै ५ गोल गरेकी थिइन् । उनले चौथो मिनेटमा गोल गर्दै सुरुआत गरेकी थिइन् ।
उनले ४, ६, १७, २० र ३८औं मिनेटमा गोल गरेकी थिइन् । त्यस्तै मायाट खिनले ९, २९ र ३३ औं मिनेटमा गोल गर्दै ह्याट्रिक गरिन् । पहिलो हाफकै तेस्रो मिनेटमा जिन मारले गोल गरेकी थिइन् ।
फु रेनले ३०औं तथा पोन्ट पोन्टले ६३ औं मिनेटमा थप एक गोल गरिन् । नेपालले पहिलो हाफमा १० गोल खाँदा दोस्रो हाफमा भने १ गोल मात्र खाएको थियो ।
यसअघि आजै भएको पहिलो खेलमा फिलिपिन्सले लगातार दोस्रो जित निकालेको छ ।
हलचोक रंगशालामा सम्पन्न खेलमा समूह ई मा रहेको फिलिपिन्सले मलेसियालाई १–० गोलअन्तरले पराजित गरेको हो । पहिलो खेलमा नेपाललाई पराजित गरेको फिलिपिन्स लगातार दोस्रो जितसँगै लिग तालिकाको शीर्ष स्थानमा छ ।
खेलको ८१औं मिनेटमा अलामोको गोल फिलिपिन्सको जितमा निर्णायक बन्यो ।