इजरायल बस्ने नातिनीकाे 'अनलाइन' स्याहारले बाैरिए १०१ वर्षीय बाजे

 असोज १९, २०७९ बुधबार २०:२२:२९ | रासस
unn.prixa.net

म्याग्दी – बुढेसकालमा छोरो नै बाबुआमाको सहारा हुन्छ भन्ने नेपालीहरूको मानसिकता र सोचाइमा पछिल्लो समय धेरै परिवर्तन आएको छ ।

छोरा–बुहारीकै कारण कैयौँ वृद्ध बुबाआमाहरू घरमा बस्न सक्ने वातावरण नभएर वृद्धाश्रम वा मन्दिरमा सहारा लिइ आफ्नो अन्तिम दिनको प्रतिक्षा गरिरहेका छन् । 

तर म्याग्दीको मालिका गाउँपालिका–२ मा पर्ने बेली गाउँका एक १०१ वर्षीय वृद्धले विदेश (इजरायल) मा बस्ने नातिनीको अनलाइन स्याहार सुसारबाट अझै बाँच्ने र परिवारको साथमै रहने वातावरण पाउनुभएको छ ।

रुमको बेली गाउँका १०१ वर्षीय शिवलाल पुन थोरै भाग्यमानी व्यक्तिमा पर्नुहुन्छ । उहाँलाई परिवारका सदस्यहरूले गरेको स्याहार सुसार देखेर बेली गाउँ नै दङ्ग पर्ने गरेको छ । हजुरबा (बाजे) को स्याहार सुसारकै लागि इजरायलबाट डेढ महिनाको बिदा लिइ घरमा आउनुभएकी नातिनी विष्णु पुन मगर चौबिसै घण्टा बाजेको स्याहारमा तल्लिन हुुनुहुन्छ ।
 
एक सय एक वर्षको वृद्ध व्यक्ति त्यसै नै शिथिल हुन्छन् । शारीरिकरूपमा कमजोर भए पनि त्यस्तो अवस्थामा तागतिलो खानेकुरा खाने, परिवारको माया र स्याहार पाउने रहर बढी नै हुन्छ । तर परिवारका सदस्यले त्यस्ता वृद्धवृद्धाहरूको स्याहार सुसारमा खासै ध्यान नदिँदा उनीहरू शारीरिकरूपले मात्रै नभइ मानसिकरूपमा समेत कमजोर बन्दै जान्छन् र रोगले च्याप्ने गर्दछ ।

तर शिवलाल पुन मगरको हकमा भने यस्तो छैन । उहाँको हेरचाह र स्याहार सुसारका लागि विदेशमा रहँदासमेत नातिनी विष्णुले अनलाइन माध्यमद्वारा नै परिवारका सदस्यहरूलाई निर्देशन दिने, सिकाउने, आवश्यक सामान र सुविधाजनक चिजहरू मगाइदिने गर्नुहुन्थ्यो । 

विष्णुले घरका सदस्यलाई अरू काम छोडेर भए पनि बाजेको स्याहार सुसार गर्न खटाउनुहुन्थ्यो । परिवारका सदस्यले पनि त्यहीअनुसार गर्ने भएकाले वृद्ध शिवलाल शारीरिकरूपमा कमजोर भए पनि मानसिकरूपले फुर्तिलो बनेर हँसिलो अनुहारमा परिवारका सदस्यहरूसँग कुराकानी गर्ने, व्यावहारिक कुराहरू सिकाउने, आफन्त, इष्टमित्रहरूको खबर बुझ्ने लगायतका कुराहरू गर्नुहुन्छ ।

बाजेको हेरचाहका लागि विष्णु इजरायलबाट घरमा आएर खानपान र हेरचाहको उचित प्रबन्ध मिलाइ विदेशमा आफूले जानेको (वृद्धवृद्धाको स्याहार सुसारका विधि) तरिका अपनाइ सेवा गर्न थालेपछि शिवलाल शारीरिकरूपमा कमजोरी भएको अवस्थाबाट बौरिएर भान्छामा बसेर आफैँ खाना खाने, परिवारका सदस्यहरूसँग गफिने गर्न थाल्नुभएको छ ।

विगत १५ वर्षदेखि इजरायलमा बस्दै आउनुभएकी विष्णु त्यहाँ वृद्धवृद्धाहरूको स्याहार सुसार गर्ने काम गर्नुहुन्छ । 

गाउँकै सज्जन व्यक्तिका रूपमा चिनिने शिवलालसँग व्यावहारिक ज्ञानको अथाह भण्डार भएको र उहाँ गाउँका लागि सूर्यजस्तै उज्यालो छर्ने व्यक्ति भएको स्थानीयवासीले बताउँछन् । युवा अवस्थामा समेत गाउँमा नै बसेर गाउँको विकास र उत्थानका लागि अहोरात्र खट्ने शिवलालको दीर्घ जीवनको कामना गर्दै दैनिकरूपमा उहाँलाई भेट्न आउनेहरूको भड नै लाग्ने गर्छ ।

एक सय वर्ष पार गरेका वृद्धवृद्धालाई मानिसको रूपमा नभइ भगवानका रूपमा मानिनुपर्ने धार्मिक मान्यता र सामाजिक प्रचलन समेत छ । उहाँहरूले आफ्नो जीवनकालमा गरेका कामहरू समाजका लागि अनुकरणीय हुने गर्दछन् । 

बेली गाउँमा एक सय वर्ष उमेर पार गरेका तीन जना ज्येष्ठ नागरिक हुनुहुन्छ । विष्णुले दैनिकरूपमा ती जेष्ठ नागरिकहरूको घरमा पुगेर उहाँहरूलाई कसरी स्याहारसुसार गर्नुपर्दछ भनेर परिवारका सदस्यहरूलाई समेत सिकाउनुहुन्छ । आफ्नै खर्चमा ती वृद्धवृद्धालाई आवश्यक पर्ने चिज र पोषिला खानेकुराहरू किनेर लगिदिने, बनाएर खान दिने आदि कामहरू गर्दै आउनुभएको छ ।

शिवलालका एक छोरा र दुई छोरी हुनुहुन्छ । छोरीहरू विवाह गरेर आ–आफ्नो कर्मघरमा हुनुहुन्छ भने छोरा कहिले लेक गाउँमा त कहिले बेली गाउँमा पशुपालन गर्नुहुन्छ । शिवलालका तीन सन्तानबाट १५ जना छोराछोरी र तिनका २५ जना पनाति, पनातिनी गरेर ४० जनाको परिवार छ । परिवारका सबै सदस्यहरू शिवलाललाई उत्तिकै सम्मान गर्नुका साथै उहाँको रेखदेखमा खटिने गर्नुहुन्छ ।

बाजेलाई प्रसन्न र स्वस्थ राख्न नातिनी विष्णुले हरेक उपाय अपनाउनुहुन्छ । उहाँलाई हँसाउने, फुर्काउने, खुवाउने, सुताउने, उठाउने सबै काम विष्णुले नै गर्दै आउनुभएको छ । बाजेको सेवा गर्न पाउँदा आफूलाई धेरै खुसी लागेको र आफूलाई नै भाग्यठानी ठानेको विष्णुको भनाइ छ । उहाँले आफ्नो घरका ज्येष्ठ नागरिकलाई बोझको रूपमा नभइ ओजको रूपमा लिन र उहाँहरूलाई सम्मानका साथ रहने वातावरण मिलाउन सबैसँग आग्रहसमेत गर्नुभएको छ ।

अन्तिम अपडेट: पुस २०, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया