प्रिमियर लिगमा आर्सनल र ब्राइटन तथा क्रिस्टल प्यालेस र चेल्सीले ...
पुस २१, २०८१ आइतबार
बाग्लुङ – बाग्लुङ नगरपालिका वडा नंं ११ को तल्लो रामतोलामा पहिरो खसेको एक महिना भयो । महिना दिनदेखि निरन्तर बगेको पहिरोका कारण यहाँका दर्जनौँ घरपरिवारले दशैँको टीकासमेत आफ्नो घरमा बसेर लगाउन पाएनन् ।
भदौको १९ गतेदेखि जमिन चिरा परेको र २१ गते अविरल वर्षापछि जमिन बग्न थालेको थियो । निरन्तर बगिरहेको जमिनमा दशैँका बेला भइरहेको भारी वर्षाले झन् असर गरेको छ । जमिन बग्दा सडक, ठूला पिपलका रुखसमेत बगेका छन् । पहिरो खस्न थालेपछि स्थानीय किसानले लगाएका सुन्तलाको बगान, कुखुरापालन फार्मलगायत गोठ पुरिएका छन् । कतिपय घर चिरा परेका छन् भने केही किसानका घर र गोठ भत्केका छन् ।
‘पहिला एउटा पाटोमा मात्रै ठूलो पहिरो थियो, अहिले अर्को पाटो पनि बग्यो’, वडाध्यक्ष ज्ञानेन्द्र गौतमले भन्नुभयो, ‘सुरक्षित छन् भनेका घर र यहाँ रहेका पशुपक्षीको फार्मसमेत पुरिने अवस्थामा पुगे ।’
भारी वर्षा र पहिरोसँगै खसेको भेल गाउँ पसेको छ । ‘आफ्नो घर छ तर पहिरोले राज गरेको छ, अर्कैको घरमा दशैँ मनाउनुपर्यो, वासविनाको दशैँ खल्लो भयो’, स्थानीय कुलराज शर्माले भन्नुभयो, ‘छिमेकीका घर पनि चिरा परेका छन्, जुनसुकै बेला खस्छन्, हाम्रो दशैँ भागाभागमै बित्यो ।’ यो बस्तीका खानेपानीको ट्याङ्कीसमेत बगेपछि स्थानीयवासी चिन्तामा छन् ।
पहिरोले शर्मासहित दर्जन बढी घरपरिवार विस्थापित भइसकेका छन् । केही घरपरिवार सुरक्षित ठाउँको खोजीमा रहेको अर्का स्थानीयवासी विष्णु पौडेलले जानकारी दिनुभयो ।
जमिन चिरा परेको ठाउँ हेर्दा थप सयौँ रोपनी जमिन, घर तथा सडक बग्ने अवस्थामा रहेको देखिएको उहाँले बताउनुभयो । पहिरोले यहाँको तमाखुवारी भन्ने अर्को बस्तीमा पनि जोखिम बढेको छ ।
‘यो सङ्केत हेर्दा यहाँको बस्ती नै जोखिममा भयो, पहिलाभन्दा अब धेरै घर विस्थापित हुने भए’, पौडेलले भन्नुभयो, ‘अर्बौँ रुपैयाँ खर्चेर पनि रोकथाम हुने अवस्था छैन ।’ बगेको पहिरोले जैमिनी नगरपालिका वडा नं १ को ओडार भन्ने ठाउँमा पनि दर्जन घर विस्थापित भएका छन् । उनीहरूले पनि यो वर्षको दशैँ आफ्नो घर छोडेर अर्कैको घरमा मनाए । रामतोलादेखि तल्लो खण्ड जैमिनी नगरपालिका–१ मा पर्छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।