कर्णालीमा वर्षा : तल्लो सुर्खेत डुबानमा, धेरैजसाे सडक बन्द, पाक्न लागेकाे धान नष्ट

 असोज २१, २०७९ शुक्रबार १९:१७:७ | रासस
unn.prixa.net

सुर्खेत – भारी वर्षाका कारण वीरेन्द्रनगर नगरपालिकाअन्तर्गत पर्ने तल्लो सुर्खेत डुबानमा परेको छ । हिजाे बिहीवार रातिदेखि कर्णाली बेसिन क्षेत्रमा परेको भारी वर्षाका कारण आज शुक्रवार बिहानैदेखि तल्लो सुर्खेतका बस्ती डुबानमा परेको हो । 

डुबानले केही घर जलमग्न हुनुका साथै पाक्न लागेको धानबाली नष्ट गरेको छ । डुबान क्षेत्रमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालसहित जिल्लामा रहेका सुरक्षा निकायका प्रमुख उद्धार टोलीसँगै खटिनुभएको थियो । प्रमुख जिल्ला अधिकारी रिजालले बाढी र डुबानको पूर्वसूचनाका कारण मानवीय क्षति हुन नपाएको बताउनुभयो । 

जल तथा मौसम विज्ञान विभागले सर्तकता अपनाउन चेतावनी दिएसँगै स्थानीय प्रशासन र जनप्रतिनिधि बिहानैदेखि बाढी र डुबानबाट क्षति हुने नदिन उद्धार सामग्रीसहित त्यस क्षेत्रमा खटिएका थिए । 

वीरेन्द्रनगरको डुबान क्षेत्रमा मेयर मोहनमाया ढकाल, उपमेयर निलकण्ठ खनालसहित वडाध्यक्षले उद्धारको संयोजन गर्नुभएको थियो । वीरेन्द्रनगर–९ का वडाध्यक्ष ऋषि गिरीले डुबानले तल्लो सुर्खेतका पर्सेनी, लौवस्ता, तिलपुर, इटौरा, घोग्रेनीलगायत बस्तीका केही घर जलमग्न हुनुका साथै धानबालीमा क्षति पुर्‍याएकाे जानकारी दिनुभयो । उहाँका अनुसार पर्सेनीमा दुई वटा घर डुबानमा परेपछि सुरक्षाकर्मीको सहायतामा उद्धार गरी सुरक्षित स्थानमा सारिएको थियो । 

भारी वर्षाले रत्न राजमार्ग, छिञ्चु–जाजरकोट सडक खण्ड, दैलेख–सुर्खेत सडक खण्ड र कर्णाली राजमार्गका विभिन्न स्थानमा पहिरो खसेको छ । कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक माधवप्रसाद श्रेष्ठले लगातारको वर्षाले धेरैजसाे सडक खण्ड बन्द हुन पुगेको बताउनुभयो । सडक बन्द हुँदा बिहानैदेखि गाडी बीच बाटोमा रोकिएका छन् । सडक डिभिजन कार्यालयले कतिपय सडक खण्डमा खसेको पहिरो हटाउने क्रम जारी रहेको प्रहरीको भनाइ छ । 

यसैबीच रत्न राजमार्गअन्तर्गत सुर्खेतको ब्युरेनीमा सडक माथिबाट पहिरो खस्दा गुडिरहेको एक स्कुटी पुरिएको छ । जिल्ला प्रहरी कार्यालय सुर्खेतले वीरेन्द्रनगरबाट भेरीपुलतर्फ जाँदै गरेको कर्णाली प्रदेश ००२००१ प ५३०४ नम्बरको स्कुटी पहिरोले पुरिएको र स्कुटीमा रहेका दुई जना घाइते भएको जनाएको छ । स्कुटी चालक वीरेन्द्रनगर–४ का २९ वर्षीय कमल पन्त र सुरेश नेपाली घाइते हुनुभएको छ । घाइतेको सुर्खेत अस्पतालमा उपचार भइरहेको छ । पहिरोमा पुरिएको स्कुटीलाई डोजर प्रयोग गरी निकालिएको छ । 

अन्तिम अपडेट: बैशाख ३१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

1 Comments

  • Bishnu acharya

    Oct. 7, 2022, 7:46 p.m.

    बेमौसमी झरीले सुर्खेत मात्र नभइ रुपन्देहीमा पनि धेरै स्थान डुबानमा परेका छन् /

  •  0 Reply

तपाईको प्रतिक्रिया