काठमाण्डौ उपत्यकाको सहरीभन्दा काँठ क्षेत्रका मतदातामा चुनावको उत्साह बढी

 मंसिर ४, २०७९ आइतबार १७:४९:५९ | रासस
unn.prixa.net

काठमाण्डौ – काठमाण्डौ उपत्यकामा प्रतिनिधि सभा तथा प्रदेश सभा चुनावका क्रममा सहरी क्षेत्रमा भन्दा काँठ क्षेत्रमा मतदाताको बढी उत्साह देखिएको छ । 

काठमाण्डौ महानगरपालिकामा भन्दा बाहिरका नगरपालिकामा मतदाताको बढी भिड देखिन्छ । सहरी क्षेत्रका धेरै मतदानस्थलमा खटिएका कर्मचारी मतदाता कुरेर बस्न बाध्य भएका छन् ।

काँठ क्षेत्रमा पनि यसअघिको पालिका चुनावमा जस्तो मतदाताको उत्साह नदेखिए पनि सहरी क्षेत्रको तुलनामा उत्साहपूर्ण सहभागिता देखिएको काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर ३ का निर्वाचन अधिकृत मन्दिरा शाहीले जानकारी दिनुभयो ।

‘यस क्षेत्रको सहरी भेग काठमाण्डौ महानगरपालिका–६ को सरस्वतीनगर र बौद्ध क्षेत्रमा रहेको मतदान केन्द्रभन्दा गोकर्णेश्वर नगरपालिका–३ मा रहेको तारेभीर क्षेत्रका मतदातामा उत्साह देखिएको छ,’ उहाँले भन्नुभयो, ‘गोकर्णेश्वर नगरपालिकाकै बढी जनघनत्व भएका जोरपाटी, गोकर्णभन्दा कम जनघनत्व भएको सुन्दरीजल, कागेश्वरी क्षेत्रमा मतदाता उत्साहपूर्वक मतदानमा सहभागी भएका छन् ।

यस निर्वाचन क्षेत्रको काँठ भेगमा दिउँसो २ बजेसम्म करिब ५० प्रतिशत हाराहारीमा मतदान भएको मतदान अधिकृत शाहीले जानकारी दिएको निर्वाचन क्षेत्र अधिकृतको कार्यालयले जनाएको छ ।

त्यही समयभित्रमा सहरी क्षेत्रमा भने करिब ४० प्रतिशत हाराहारीमात्र मतदान भएको छ । मतदानस्थलमा भेटिएका मतदातामा उत्साह भने धेरै देखिएको छैन । पालिका चुनावमा जति पनि उत्साह मतदातामा नदेखिएको गोकर्णेश्वर नगरपालिका–१ का स्थानीयवासी रोशन पोखरेलले बताउनुभयो । पालिका चुनावमा स्थानीयस्तरकै धेरै उम्मेदवार हुने भएकाले धेरै मतदाताको सहभागिता रहने गरेको थियो ।

राजनीतिक दल र तीनै तहमा यसअघि निर्वाचित जनप्रतिनिधिको गतिविधिले पनि मतदातामा मतदान गर्न जाने जाँगर नदेखिएको उहाँको भनाइ छ । राजनीतिक दल र तिनका प्रतिनिधिले चुनावमा वाचा अनुसार काम नगर्ने, विधिभन्दा पनि राजनीतिक रङका आधारमा काम गर्ने, विभिन्न विवादास्पद गतिविधिमा जनप्रतिनिधि मुछिने गरेकाले पनि चुनावप्रति मतदाताको उत्साह बढ्न नसकेको हो ।

काठमाण्डौ जिल्ला निर्वाचन क्षेत्र नम्बर २ मा पनि सहरी क्षेत्रमा भन्दा ग्रामीण भेगमै मतदाताको उत्साह बढी देखिन्छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिकासँग सीमा जोडिएको यस क्षेत्रको शङ्खरापुर नगरपालिकाका वडा नम्बर १, २, ३ र ४ मा बढी मतदाताको उत्साह देखिएको जनाइएको छ ।

काठमाण्डौ जिल्ला क्षेत्र नम्बर २ मा पर्ने महानगरपालिकाका–९ र ३२ मा मतदाताको कम उत्साह छ । वडा नम्बर ९ का मतदाता सुरेश नेपाल राजनीतिक दलले यो क्षेत्रलाई प्रयोगशालाका रुपमा विकास गर्न खोजेकाले पनि मतदातामा उत्साह कम हुँदै गएको बताउनुहुन्छ । यो क्षेत्रमा ठूला दलले पटक–पटक बाहिरका उम्मेदवार उठाउने गरेका छन् । ठूला नेताले चुनाव लड्ने र जितेपछि अरु क्षेत्रमा जाने गरेकाले मतदाता रुष्ट हुने गरेका छन् ।

अन्तिम अपडेट: पुस १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया