त्रिभुवन विश्वविद्यालयको ५०औं दीक्षान्त समारोह आज, सर्वोत्कृष्ट प...
पुस १३, २०८१ शनिबार
खाेटाङ - दिक्तेल–गाईघाट सडक अन्तर्गत महुरे–सिम्पानी सडक खण्ड ठेकेदारकै धरौटी रकम खर्च हुने गरी मर्मत भइरहेकाे छ ।
कालोपत्रका लागि ठेक्का लिएको भारत कन्ट्रक्सन/सिद्धी शाही जेभी काम अलपत्र छाडेर हिँडेपछि सडक विभागको कार्यालय गाईघाट उदयपुरले ठेकेदारकै धराैटी रकम खर्च हुने गरी सडक मर्मतकाे काम सुरु गरेकाे हाे। महुरे-सिमपानी सडक खण्डकाे लम्बाई २२ किलाेमिटर रहेकाे छ ।
खोटाङ क्षेत्र नं १ (क) बाट निर्वाचित प्रदेश सभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश महामन्त्री भूपेन्द्र राईको ताकेतापछि कार्यालयले सोमवार दुईवटा टिपर र एउटा डाेजर निर्माणस्थल पठाएकाे छ । सडक खण्डको हिलाम्मे क्षेत्र पहिचान गरेर मर्मत सुधार गर्ने, खाल्डाखुल्डी सम्याउने, ग्राभेल हाल्ने लगायतका काम सुरु गरिएको सडक विभागका कार्यालयका प्रमुख इ्ञ्जिनियर गोपाल खकुरेलले बताउनुभयो ।
कालोपत्रको काम पुनः सञ्चालन गर्न तथा सडक खण्डमा नियमित आवतजावत गर्ने वातावरण बनाउन पटकपटक पत्र पठाएर ताकेता गर्दा पनि छ/सात महिनासम्म ठेकेदार सम्पर्कमा नआएकाे उहाँले बताउनु भयाे । अहिले उसकै धरौटी रकम काटिने गरी सडक मर्मतसम्भार सुरु गरिएको खकुरेलले बताउनुभयो । सिम्पानी (राजापानी) सडक मर्मत गर्न १० देखि १२ दिन समय लाग्ने कार्यालयले जनाएको छ ।
महुरे–सिम्पानी सडक कालोपत्रको ठेक्का सम्झौता गर्नेक्रममा भारत कन्ट्रक्सन/सिद्धी शाहीले विभागको कार्यालयमा करिब एक करोड रुपैयाँ धरौटी रकम जम्मा गरेको जनाइएको छ । सडक मर्मत तथा सुधारका क्रममा त्यही ठेकेदारले जम्मा गरेको धरौटीबापतको रकम खर्च गरिने सडक विभागले जनाएको छ ।
गएकाे पुस अन्तिम हप्तादेखि निर्माणस्थलबाट निर्माणसम्बन्धी सम्पूर्ण उपकरण उठाएर अन्यत्र लैजान थालेको निर्माण कम्पनी गएकाे माघ ४ गते क्रसरकै सामान उठाएर हिँडेको थियो ।
'निर्माण कम्पनीलाई तत्काल काम सम्पन्न गर भनेर पटकपटक चिठ्ठी लेखियो, ताकेता गरियो । सम्पर्कविहीन भएपछि राज्य त यथास्थितिमा रहन सक्दैन', उहाँले भन्नुभयो, 'हामीसँग एउटै उपाय थियो, त्यही उपायअन्तर्गत धरौटी रकमबाट खर्च गर्ने गरी काम सुरु गराएका छौँ ।'
तराईका जिल्ला जोड्ने सबैभन्दा छोटो मार्ग महुरे–फोक्सिङटार (४९ किलोमिटर) सडक खण्डको महुरे–राजापानी सडक कालोपत्रको काम भारत कन्ट्रक्सन/सिद्धी शाही तथा सिम्पानी भञ्ज्याङदेखि फोक्सिङटारसम्म (२७ किलोमिटर) सडक खण्डको ठेक्का देवनारायण पवन/मैनाचुली/खाम्पाचे जेभीको जिम्मामा छ । तर, दुवै सडक खण्डको कालोपत्रको काममा निर्माण कम्पनीकाे चरम लापरबाही देखिएको छ ।
मध्यपहाडी लोकमार्गको दिक्तेल–चखेवा भञ्ज्याङ सडक खण्डको सेखुवा– चखेवाभञ्ज्याङ (१० किलोमिटर) सडक कालोपत्रको जिम्मा लिएका ठेकेदार काम अलपत्र छाडेर पुनः सम्पर्कविहीन बनेका छन् । कालोपत्रको जिम्मा लिएका भारत कन्स्ट्रक्सन/मैनाचुली/सिद्धी शाही जेभी काठमाण्डौका ठेकेदार सम्पर्कविहीन भएपछि गएकाे चैत २५ गतेयता सडक खण्ड कालोपत्रको काम ठप्प छ ।
काम अलपत्र छाडेर हिँडेको निर्माण व्यवसायी अहिले सम्पर्कमा नरहेका मध्यपहाडी लोकमार्ग योजनाको कार्यालय, धुलिखेलका इन्जिनियर दिपेश मनकर्मीले जानकारी दिनुभएको छ।
कालोपत्रको काममा ढिलासुस्ती भएको भन्दै आयोजनाको कार्यालयले गएकाे मङ्सिरमा ठेक्का अन्त्य गर्न सिफारिस गरेलगत्तै काममा फर्किएका ठेकेदार पुनः सम्पर्कविहीन बनेका स्थानीय बासिन्दाले बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।