पीपीएल : पारसको टिम चितवनको लगातार दोस्रो हार, ५ विकेटले पोखरा विजयी

 कात्तिक १२, २०७५ सोमबार १७:५५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

कास्की – पोखरा प्रिमियर लिगमा पारसको कप्तानीमा रहेको चितवनले लगातार दोस्रो हार ब्यहोरेको छ । आज भएको खेलमा चितवन घरेलु टिम पोखरा पल्टनसँग ५ विकेटले पराजित भयो ।

पोखरा रंगशालामा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको चितवनले २० ओभरमा ४ विकेट गुमाउँदै एक सय ४१ रनको लक्ष्य दिएको थियो । सुरुवात राम्रो गर्न नसकेको चितवनले १८ रनमा पहिलो विकेट गुमायो । उसका ओपनर हरिशंकर शाह तीन रनमा आउट भए ।

त्यसपछि अनिल शाह पनि १६ रनमा पेभेलियन फर्किएपछि चितवनले ५७ रनमा तेस्रो विकेट गुमायो । चौथो विकेटका लागि कप्तान पारस खड्का र सन्नी पटेलले ५३ रनको साझेदारी गर्दै टिमलाई बलियो स्थितिमा पुर्याउने प्रयास गरेका थिए । तर पारस ४४ रनमा आउट हुँदा चितवनले एक सय १० रनमा चौथो विकेट खेर फाल्यो । चितवनका लागि सन्नी पटेलले ४६ रन बनाए । बलिङतर्फ विक्रम भुषालले दुई विकेट लिए ।

जवाफमा पोखराले १७ ओभर २ बलमा ५ विकेट गुमाउदै लक्ष्य पूरा गर्यो । निकै खराब सुरुवात गरेको पोखराले खाता खोल्न नपाउँदै दुई विकेट गुमायो । दुवै ओपनर कुशल भुर्तेल र आशिफ शेख शून्य रनमा नै आउट भए । तर रवि इन्दर सिंह र रोहितकुमार पौडेलले तेस्रो विकेटका लागि ७८ रनको साझेदारी गर्दै टिमलाई सम्हालेका थिए । रोहित १९ रनमा आउट भएपछि पोखराले तेस्रो विकेट खेर फाल्यो ।रविले ६५ रन बनाए भने शरद भेषावकरले ३७ रनको योगदान गरे । 

प्रतियोगितामा शरदको कप्तानी रहेको पोखराको दोस्रो जित हो । उसको अंक तालिकामा चार अंक भएको छ । प्रतियोगितामा बुटवल र काठमाडौंको चार–चार अंक रहेको छ ।
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया