एनपीएल क्रिकेट : सेमिफाइनल समीकरण पूरा, अन्तिम खेलमा मेलौली विजयी

 कात्तिक १४, २०७५ बुधबार २०:२६:५३ | जयराज अवस्थी
unn.prixa.net

बैतडी – बैतडीको देहीमाडौंमा जारी निंगलासैनी प्रिमियर लिग(एनपीएल) टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा सेमिफाइनल समीकरण पूरा भएको छ ।  

बुधबार  सम्पन्न समूह ‘डी’को लिग चरणको अन्तिम खेलमा शिवनाथ गाउँपालिकालाई ७ विकेटले स्तब्ध पार्दै  मेलौली नगरपालिका सेमिफाइनल प्रवेश गरेको हो ।  
निंगलासैनी  खेल मैदान देहीमाडौंमा सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको शिवनाथ १५ दशमलब ४ ओभरमा १११ रनमा समेटियो ।  जसमा विरेन्द्र चन्दले ४२ तथा भानदेव ओझाले १७ रनको योगदान गरे । मेलौलीका विरेन्द्र विष्टले ह्याट्रिकसहित ४ तथा जयराम भट्टले २ विकेट हात पारे । विरेन्द्र प्रतियोगितामा ह्याट्रिक गर्ने दोस्रो खेलाडी बनेका छन् । उनी खेलमा म्यान अफ् द म्याच  समेत घोषित भए । यसअघि पञ्चेश्वरका ईश्वर चन्दले प्रतियोगितामा पहिलो ह्याट्रिक  गरेका थिए । 

११२ रनको विजयी लक्ष्य  मेलौलीले १२ दशमलब २ ओभरमा ३ विकेटको क्षतिमा पूरा गर्यो । जसमा कृष्ण भट्टले  अविजित  ३४ तथा किरण ठगुन्नाले २९ रन बनाए । शिवनाथका कैलाश ऐरले १ विकेट हात पारे ।  यो जितसँगै मेलौली सेमिफाइनल पुग्ने चौथो टोली बनेको छ । यसअघि समूह ‘ए’बाट सिगास गाउँपालिका, समूह ‘बी’बाट दशरथचन्द नगरपालिका ‘सी’ र समूह ‘सी’बाट पाटन नगरपालिका सेमिफाइनल पुगिसकेका छन् ।  

प्रतियोगिता अन्तर्गत सेमिफाइनलका खेलहरु बिहीबार हुने भएका छन् । पहिलो सेमिफाइनलमा सिगास गाउँपालिका र पाटन नगरपालिका भिड्नेछन् भने दोस्रो खेलमा दशरथचन्द नगरपालिका ‘सी’ र मेलौली नगरपालिकाबीच प्रतिस्पर्धा हुनेछ ।  
उपाधि भिडन्त तथा फाइनल खेल कात्तिक १६ गते हुनेछ ।  फाइनलका दिन विभिन्न कलाकारका साथमा सांस्कृतिक कार्यक्रमसमेत सञ्चालन हुने प्रतियोगिताका संयोजक वीरसिंह बोहराले जानकारी दिए ।

निंगलाशैनी क्रिकेट क्लबको आयोजनामा जारी प्रतियोगिताको  प्रथम पुरस्कार १ लाख ११ हजार १११ रहेको छ ।  कात्तिक ८ गतेदेखि सुरु भएको प्रतियोगितामा १२ टोली सहभागी रहेका थिए । 

२०५६ सालमा स्थापना भएको निङ्गलाशैनी क्रिकेट क्लब (एनसीसी) विकास,अनुसासन र गतिशिलता भन्ने मूल भावका साथ बैतडीमा सक्रिय अवस्थामा रहेको छ ।  

क्रिकेटको उर्वरभूमिको रुपमा चिनिदै आएको बैतडीमा प्रतिभावान खेलाडीको खोजीका लागि प्रतियोगिता आयोजना गरिएको एनसीसीका अध्यक्ष महेश भण्डारीको भनाई रहेको छ ।  निङ्गलाशैनी प्रिमियर लिग(एनपीएल) क्रिकेटले बैतडीमा क्रिकेटको विकास हुने समेत विश्वास गरिएको  छ । 

अन्तिम अपडेट: बैशाख २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

जयराज अवस्थी

जयराज अवस्थी बैतडीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया