अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न भक्तपुरमा सम्भाव्यता अध्ययन

 कात्तिक १६, २०७५ शुक्रबार १७:४३:५८ | उज्यालो सहकर्मी

भक्तपुर – भक्तपुरमा अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न शुक्रबार प्राविधिकसहितको टोलीले सम्भावित क्षेत्रको अनुगमन गरेको छ ।

सरकारले भक्तपुरमा ५० हजार दर्शक क्षमता रहेको अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न भकारी मूलको जग्गा छनौट गरे पनि स्थानीयले विरोध गरेपछि त्यसक्षेत्रको विकल्पमा सूर्यविनायक नगरपालिका वडा नं. ८ र ९ सिपाडोल क्षेत्रको जग्गाको शुक्रबार सम्भाव्यता अध्ययन गरेको हो । 

प्रतिनिधिसभाका सदस्य, पूर्व उद्योगमन्त्री एवं नेकपाका केन्द्रीय सदस्य महेश बस्नेतको विशेष पहलमा सरकारले करिब १५०० रोपनी क्षेत्रफलमा रंगशाला निर्माण गर्न सूर्यविनायक नगरपालिकाको वडा ९ नंखेल र १० चित्तपोल तथा चाँगुनारायण नगरपालिकाको वडा नम्बर ८ र ९ ताथलीमा रंगशालाका लागि जग्गा पहिचान गरेको थियो । 

स्थानीयले ‘बस्ती उठाउन पाइँदैन, रंगशाला चाहिँदैन’ भन्दै विरोध गरेपछि विकल्पको रुपमा सूर्यविनायक नगरपालिका –८, सिपाडोलमा रंगशाला निर्माणका लागि जग्गा छनौट गर्न अनुगमन गरेको थियो । युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले समेत यस क्षेत्रको अवलोकन गर्नुभएको छ ।

सरकारले रंगशाला निर्माणका लागि युवा तथा खेलकुद मन्त्रालयका सहसचिव अणप्रसाद न्यौपानेको संयोजनमा भूमि सुधार मन्त्रालयका उपसचिव लक्ष्मीप्रसाद भट्टराई सदस्य सचिव रहनेगरि १५ सदस्यीय जग्गा पहिचान तथा छनौट समिति गठन गरेपछि त्यही टोलीले सम्भाव्यता अध्ययन गरेको हो । यही टोलीले भकारी मूललाई पनि छनौट गरेको थियो ।

भक्तपुरमा बन्ने रंगशालामा अन्तराष्र्टियस्तरको खेलहरु सञ्चालन हुने तीन वटा खेल मैदान, अन्य दुईमा राष्ट्रिय खेलहरु, बिभिन्न संस्थाले सञ्चालन गर्ने खेलहरु सञ्चालन गर्न मिल्ने गरि अन्तर्राष्टियस्तरको रंगशाला आगामी ३ वर्षभित्र निर्माण सम्पन्न गर्ने गरि काम अगाडि बढाएको सांसद एवं समितिका सल्लाहकार महेश बस्नेतले बताउनुभयो । 

५० हजार दर्शक क्षमता रहने यो रंगशालामा २५ हजार मोटरसाईकल, १० हजार चारपाङ्ग्रे सवारी साधन पार्किङ्ग गर्न सकिनेछ भने अन्य विभिन्न भौतिक पूर्वाधारहरु समेत निर्माण हुने योजना रहेको पूर्व उद्योगमन्त्रीसमेत रहनु भएका बस्नेतको भनाई छ । बस्नेतले जस्तोसुकै विरोध भए पनि भक्तपुरमा रंगशाला बनाएरै छाड्ने बताउनुभयो । 

उहाँले अन्तर्राष्ट्रिय रङ्गशाला निर्माणको लागि प्रस्तावित ठाउँमा रंगशाला बनाउन नदिन नेपाल मजदुर किसान पार्टीले मात्रै विरोध गरेको बताउँदै सांसद बस्नेतले भक्तपुरको विकासलाई नेमकिपाले अब कुनै हालतमा रोक्न नसक्ने उहाँले बताउनुभयो । 

अनुगमन पछि प्रदेश नं. ३ का सांसद शशिजंग थापाले सरकारले अन्तर्राष्ट्रियस्तरको रंगशाला निर्माण गर्न भक्तपुरमा प्रशस्त उपयुक्त जग्गाहरु रहेकाले भक्तपुरमै निर्माण हुने बताउनुभयो । अध्ययन अनुगमन गर्दै काठमाडौं उपत्यका विकास प्राधिकरणका प्रमुख भाइकाजी तिवारीले रंगशाला र कभर्ड हल निर्माण गर्न विरोध गरेको ठाउँलाई छाड्दै स्वागत गर्ने ठाउँमा अध्ययन गरेको बताउनुभयो । 

टोलीले यस क्षेत्रको थप अध्ययन अनुसन्धान गरि यहाँ कति जग्गा छन्, सार्वजनिक जग्गा कति छन्, सबै अध्ययन गरेर विकल्पसहितको प्रतिवेदन दिएपछि रंगशाला निर्माणको कार्य अगाडि बढाइने बताउनुभयो । 

अनुगमनमा सांसद बस्नेत, सांसद थापा, सूर्यविनायक नगरपालिकाका प्रमुख वासुदेव थापा, उपप्रमुख जुना बस्नेत, वडा अध्यक्षहरु सानुकाजी कायस्थ, रविन्द्र सापकोटा, किरण थापा, उपेन्द्र केसीलगायतको सहभागिता रहेको थियो । सरकारले आर्थिक वर्ष २०७५–०७६ मा खेलकुदका ३ अर्ब ७५ करोड रुपैयाँ विनियोजन गरेको छ ।
 

अन्तिम अपडेट: कात्तिक १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया