मिटरब्याज पीडितहरु धादिङको सिम्ले हुँदै काठमाण्डौतर्फ

 फागुन ९, २०८० बुधबार ७:३३:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै ‍- न्याय मार्चमा निस्किएका मिटरब्याजपीडितहरु धादिङको सिम्ले हुँदै काठमाण्डौतर्फ लागेका छन् । झण्डै दुई सय महिला र एक सय ५० जना पुरुष गरी साढे तीन सयको सङ्ख्यामा रहेका उनीहरु पैदल यात्रामा छन् ।

बिहान ७ बजे धादिङको थाक्रे गाउँपालिका–२ सिम्लेबाट उनीहरु काठमाण्डौतर्फ लागेका हुन् । हिजो नै काठमाण्डौ छिर्ने भने पनि पैदल यात्रा सकसपूर्ण रहेको र दिनमा २० किलोमिटर पनि हिँड्न नसक्ने अवस्था रहेको पीडितको गुनासो छ । थकाइ र शरीर गलेका कारण आज बेलुकासम्म पनि काठमाण्डौ छिर्न मुश्किल पर्ने देखिएको उनीहरुको भनाइ छ ।

मिटरब्याज पीडित निर्णायक आन्दोलनका लागि भन्दै काठमाण्डौ आउन लागेका हुन् । पैदल यात्रामा रहेका उनीहरु सार्वजनिक ठाउँमा बस्ने र खाने गर्दै अगाडि बढिरहेका छन् । उनीहरुले गएको माघ १६ गते शहीद दिवसको दिन झापा र कञ्चनपुरबाट एउटै समयमा पैदलयात्रा शुरु गरेका थिए । अनि १७ दिन हिँडेर फागुनको ३ गते चितवनको नारायणगढमा भेला भएका थिए । त्यसपछि काठमाण्डौतर्फ लागेका हुन् । मधेसका २० जिल्ला र अरु ८ जिल्लाका पीडित न्याय मार्चमा छन् ।

फर्जी तमसुक, चेकलाई अवैध घोषणा गरेर क्षतिपूर्ति दिनुपर्ने, समस्या समाधान गर्न न्यायिक आयोग गठन गर्नुपर्नेलगायत उनीहरुका माग छन् । यसअघि गएको वर्ष चैत १२ गते मिटरब्याज पीडितहरु महोत्तरीको बर्दिबासबाट ११ दिन हिँडेर काठमाण्डौ आएका थिए ।

पीडितहरुको धर्ना, प्रदर्शन र दवावपछि सरकारले सम्झौता गर्दै चैत अन्तिममा मिटरब्याज पीडितको समस्या समाधान गर्न तीन सदस्यीय जाँचबुझ आयोग गठन गरेको थियो । विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्की संयोजकत्वको जाँचबुझ आयोगले गएको मंसिरमा सुझावसहित प्रतिवेदन सरकारलाई बुझाएको थियो ।

झण्डै २८ हजार उजुरी लिएको आयोगले ५ हजार उजुरीमा मिलापत्र पनि गराएको थियो । तर आफूहरुको समस्या समाधानका लागि गठन भएको आयोगले काम नगरेको र आफूहरुका समस्या सरकारले नसुनेको कारण फेरि हिँडेर काठमाण्डौसम्मको यात्रा गर्नुपरेको मिटरब्याज पीडित संघर्ष समितिका केन्द्रीय अध्यक्ष अवधेश कुशवाहले बताउनुभयो ।

सरकारले तीन वर्षदेखि आश्वासन दिए पनि माग पूरा नगरेको अध्यक्ष कुशवाहले बताउनुभयो । आयोगका अध्यक्ष कार्कीले पीडितका सबै माग पूरा गर्न सम्भव नरहेको बताउनुभएको छ ।

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया