अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाइँदै

 फागुन ९, २०८० बुधबार १०:२८:३० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै - अन्तर्राष्ट्रिय मातृभाषा दिवस नेपालमा पनि विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदैछ । २५औँ अन्तर्राष्ट्रिय मातृभाषा दिवस २०२४ को नारा “बहुभाषी शिक्षा अन्तरपुस्ताको शिक्षाको स्तम्भ हो” भन्ने रहेको छ । संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९९९ मा घोषणा गरी सन् २००० देखि फेब्रुअरी २१ तारिखका दिन अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो ।

नेपालमा भने २०६६ सालदेखि विशेषरुपमा अन्तर्राष्ट्रिय मातृभाषा दिवस मनाउन शुरु गरिएको हो । दिवसको अवसरमा नेपाल प्रज्ञा प्रतिष्ठान, भाषा आयोग र संयुक्त राष्ट्र सङ्घीय शैक्षिक वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) ले मातृभाषामा विभिन्न कार्यक्रमको आयोजना गर्ने जनाएका छन् ।

सन् १९५२ मा बङ्लादेशमा मातृभाषा (बङ्गाली भाषा) बोल्न पाउनुपर्छ भनेर माग गर्ने विद्यार्थी मारिएको दिनको सम्झनामा दिवस मनाउने गरिन्छ । त्यसबेला बङ्लादेशलाई पूर्वी पाकिस्तान भनिन्थ्यो । बङ्लादेशमा अहिले पनि आजको दिन राष्ट्रिय बिदा दिने गरिन्छ ।

दिवसको सन्दर्भमा आदिवासी जनजाति साहित्यकार/लेखक महासङ्घ, दक्षिण कोरियाको आयोजनामा अन्तर्राष्ट्रिय मातृभाषा उत्सव–२०२४’ आयोजना भएको छ । यही १९ तारिखदेखि शुरु भएको उत्सव २५ तारिख अर्थात् १३ गते आइतवारसम्म चल्नेछ । यसैगरी, आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठानले यस वर्षको ‘मातृभाषा राष्ट्रिय सेवा पुरस्कार’ जनकवि दुर्गालाल श्रेष्ठलाई प्रदान गर्ने भएको छ ।

मातृभाषाको माध्यमबाट नेपाली साहित्यको उत्थान र विकासमा पुर्याएको योगदानको कदर गर्दै जनकवि श्रेष्ठलाई  एक लाख रुपैयाँ राशिको पुरस्कार प्रदान गर्न लागिएको प्रतिष्ठानकी अनुसन्धान अधिकृत सरिना गुरुङले जानकारी दिनुभयो ।

नेवारी भाषामा धेरै साहित्य सृजना गर्नुभएका गीतकार श्रेष्ठले लेख्नुभएको ‘फूलको आँखामा फूलै संसार, काँडाको आँखामा काँडै संसार’ गित लोकप्रिय छ । यसैबीच, भाषा आयोगको प्रतिवेदन २०७६/७७ अनुसार नेपालमा बोलिने भाषाहरूको सङ्ख्या १ सय ३१ पुगेको छ । यस्तै, विश्वमा १५ दिनमा दुईवटा भाषा लोप हुने गरेको अवस्था छ । मातृभाषा लोप हुन नदिन सरोकार भएका निकायले काम गर्नुपर्नेमा जोड दिइएको छ। 

अन्तिम अपडेट: बैशाख १५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया