स्वदेशी दूध र दुग्धजन्य पदार्थको खपत बढाउन उपभोक्तालाई आग्रह

 फागुन ९, २०८० बुधबार ११:५१:१३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डाै - दुग्ध विकास संस्थानले उपभोक्तालाई स्वदेशी दूध र दुग्धजन्य पदार्थको खपत बढाउन आग्रह गरेको छ ।

संस्थानले एक विज्ञप्ति निकालेर स्वदेशी दूधको उत्पादन आत्मनिर्भरता उन्मुख रहेकाले उपभोक्तालाई खपत बढाउन अनुरोध गरेको हो । पछिल्लो समय दूध उत्पादक किसानले लामो समयदेखि भुक्तानी नपाएको गुनासो गर्दै आएका छन् ।

संस्थानले अहिले आर्थिक गतिविधिमा आएको मन्दी तथा उपभोक्ताको क्रय शक्तिमा आएको कमीले बजारमा खपत घटेको, दैनिक सङ्कलन हुने कच्चा दूधलाई प्रशाेधन गरी मौज्दात राख्नु परेको जनाएको छ । बजारको मागभन्दा धेरै दूध धुलो दूध र मखनकोरुपमा मौज्दात राख्ने गरिएको छ । यसबाट दुग्धजन्य शृङ्खलाको सन्तुलनमा समस्या भएको संस्थानले जनाएको छ ।

संस्थानले संस्थानसँगको सञ्जालमा आबद्ध संस्थाबाट अहिले पनि दूध सङ्कलन नियमित भैरहेको तर धुलो दूध कारखानाहरु पूर्णरुपमा सञ्चालन नभएको अवस्था रहेको जनाएको छ । मौज्दातकै कारण एक अर्ब रुपैयाँभन्दा धेरै पुँजी ब्लक हुँदा नगद प्रवाह चक्र बिथोलिन पुगेको उसको भनाइ छ ।

संस्थानले किसानलाई भुक्तानी नियमित हुन नसकेको अवस्थामा उपभोक्तालाई समस्या परेकोतर्फ ध्यानाकर्षण भएको जनाएको छ । मौज्दात व्यवस्थापनबाट अहिलेको अवस्थालाई सामान्य बनाउन दुग्ध पदार्थहरुको बिक्री मूल्य घटाइ बजारीकरण र प्रवर्द्धन गर्नेदेखि निर्यात बजार विस्तारको गृहकार्य भैरहेको विज्ञप्तिमा उल्लेख छ । साथै किसानको भुक्तानी सहज बनाउन संस्थानले धुलो दूध र मखनको मौज्दात आधारमा सहुलियत ऋणका लागि कृषि तथा पशुपक्षी विकास मन्त्रालयमा अनुरोध गरी प्रकृयामा रहेको पनि जनाएको छ ।

सरकारी तथ्याङ्क अनुसार नेपालमा वर्षमा २५ लाख ७० हजार मेट्रिक टन दूध उत्पादन हुन्छ । दैनिक रूपमा ६५ देखि ७० लाख लिटर दूध उत्पादन हुने र त्यसको १७ प्रतिशत औपचारिक क्षेत्रमा, ३३ प्रतिशत अनौपचारिक क्षेत्र र बाँकी ५० प्रतिशत घरेलु प्रयोजनका लागि प्रयोग हुँदै आएको छ ।

अन्तिम अपडेट: बैशाख १४, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया