विदेश पुगेर समस्या परेपछि आत्तिनुभन्दा पहिल्यै सचेत हुनुपर्छ

 कात्तिक २९, २०७५ बिहिबार १२:४२:३३ | मेरो कथा मेरो भोगाई

लोकेश कोइराला/झापा, हाल युएई

म दुवई आएको १० वर्षभन्दा धेरै भयो । वैदेशिक रोजगारी भन्ने बित्तिकै समस्याका कुरा धेरै आउँछन् । हुन पनि समस्या धेरै छन् । तर ती समस्या किन भए भनेर हेर्ने हो भने आउने बेलामा चाहिने जति जानकारी नलिइ आउँदा भएको देखिन्छ । 

काम खोज्दै विदेश आउने बेला हामीले विदेश पुगेपछि कस्तो काम गर्ने हो, त्यो काम गर्दा कस्तो सेवा सुुविधा पाइन्छ, त्यो काममा केही समस्या पो आउँछ कि यस्ता कुराहरु हामी ख्यालै गर्दैनौं । मेरो भनाईको अर्थ यी कुरा नबुझी विदेश आउनु हुँदैन । तर हामी बुझ्दैनौं । 

विदेश आइसकेपछि रोजगारदाताले हामीलाई सम्झौतापत्रमा हस्ताक्षर गराउँछ । हामीमध्ये धेरैले त्यतिबेला पनि हतार गर्छौं । बुझ्दै नबुझी हस्ताक्षर गर्छौं । त्यसमा हस्ताक्षर गरिसकेपछि सम्झौता अवधिभर त्यही आधारमा काम गर्नुपर्छ । त्यही भएर सम्झौतापत्रमा हस्ताक्षर गर्नु अघि पनि ख्याल गर्नुपर्छ । 

सुरुमा सबै कुरा ठिक लाग्छ । तर दुई चार महिना बितेर त्यहाँको वातावरण, परिवेश बुझेपछि अरु कम्पनीले दिएको सेवा सुविधाभन्दा आफूले पाएको सेवा सुविधा कम लाग्छ थाल्छ । यस्तो समस्या आएपछि हामी घर फर्किने भन्न थाल्छौं ।

घर फर्किने भनेपनि न म्यानपावरलाई बुझाएको पैसा जति नै कमाइएको हुन्छ न त लिएको ऋण नै घटाइएको हुन्छ । अनि न यहीँ बस्नु न घर फर्किनु भन्ने हुन्छ । विदेश जाने भनेको कमाउनलाई नै हो । तर यहाँ सोचे जस्तो कमाई नहुँदा गलत काम गरेर पनि कमाउन खोज्दा त्यसले झनै ठूलो समस्यामा पार्छ । 

त्यसैले यस्ता अनेक खालका समस्या समाधान गर्न नेपालबाट आउने बेलैमा सचेत गराउनु आवश्यक छ । के काममा जाने हो, त्यो काममा कति पारिश्रमिक पाइन्छ अनि यदी केही समस्या परिहाल्यो भने के गर्ने भन्ने कुरा थाहा भएन भने परेको समस्या समाधान हुनुको साटो बढ्दै जान्छ । 

अर्को कुरा विदेश आइसकेपछि आफूले काम गर्ने कम्पनीका नियम कानुन मान्नुपर्छ । तपाईंका व्यक्ति काम पनि हुन्छन तर ती कामलाई कम्पनीको काम र नियमलाई असर नपर्ने गरी गर्नुपर्छ । त्यसैले विदेश आएर समस्यामा परिसकेपछि आत्तिनुभन्दा आउनुभन्दा अघि नै सचेत हुनुपर्छ । 

अन्तिम अपडेट: फागुन ३०, २०८०

तपाईको प्रतिक्रिया