नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक बिक्री शुरु

 चैत १४, २०८० बुधबार ८:५७:३३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल तस्बिर

काठमाण्डौ – नयाँ शैक्षिक सत्र २०८१ का लागि पाठ्यपुस्तकको बिक्री शुरु भएको छ । जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले हिजोदेखि सात वटा प्रादेशिकसहित ९ वटा बिक्री केन्द्रमार्फत् पाठ्यपुस्तक बिक्री शुरु गरेको हो । यसरी बिक्री भएको पुस्तक पालिकामार्फत विद्यालयहरुमा पुग्छ ।

ताप्लेजुङ, ओखलढुङ्गा, सोलुखुम्बु, तनहुँ, मनाङ, प्युठान, रोल्पा, हुम्ला, अछाम र बाजुरामा पाठ्यपुस्तक बिक्री शुरु भएको छ । आज संखुवासभा, खोटाङ, रसुवा, रौतहट, मुस्ताङ, डोल्पा र दार्चुलामा बिक्री शुरु हुने केन्द्रले जनाएको छ । समयमै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने उद्देश्यले दुर्गम पहाडी जिल्लालाई प्राथमिकतामा राखेर पुस्तक बिक्री शुरु गरेको जनक शिक्षा सामग्री केन्द्रका सूचना अधिकारी रविन्द्रकुमार शर्माले बताउनुभयो ।

त्यसैअनुसार पहिलो प्राथमिकतामा हिमाली क्षेत्र, दोस्रोमा पहाडी क्षेत्र, तेस्रोमा तराई र अन्तिममा काठमाण्डौ उपत्यकामा पुस्तक वितरण गर्ने केन्द्रको तयारी छ । केन्द्रले आउँदो शैक्षिक सत्रका लागि कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी पाएको थियो ।

कक्षा ५ को ५ लाख थान पुस्तक छाप्न बाँकी छ । त्यसबाहेक ६ देखि १२ कक्षासम्मको पाठ्यक्रम छापिसकेको केन्द्रले जनाएको छ । कक्षा ५ को पुस्तक पनि केही दिन मै छापिसक्ने केन्द्रका सूचना अधिकारी शर्माले बताउनुभयो । केन्द्रले आउँदो वैशाख २ गतेसम्म सबै विद्यार्थीको हातमा पुस्तक पुर्‍याउने लक्ष्य लिएको छ । 

यसअघि पुस्तक छाप्न आवश्यक पर्ने कच्चा पदार्थको अभाव, समयमै रकम निकासा नहुने, वितरण केन्द्रमै किताब थन्किने, दुर्गममा ढुवानीको समस्यालगायतका कारण पुस्तक छपाइमा ढिलाई हुने र विद्यार्थीले समयमा पुस्तक नपाउने समस्या थियो । तर गएको वर्षदेखि व्यवस्थापन मिलाएर सबै जिल्लाका विद्यार्थीलाई समयमै पुस्तक उपलब्ध गराउन थालेको जनक शिक्षा सामग्री केन्द्रले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया