कलंकीदेखि बसुन्धरासम्म राखेका ९ वटा बोर्ड हराएको भन्दै प्रहरीमा काठमाण्डौ महानगरको उजुरी

 चैत १४, २०८० बुधबार १४:५९:२० | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डौ – काठमाण्डौ महानगरपालिकाले चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकी–महाराजगन्ज सडक खण्डमा राखेका बोर्ड हराएको भन्दै प्रहरीमा उजुरी दिएको छ । काठमाण्डौ महानगरअन्तर्गतको महानगर प्रहरी बलले कलंकीदेखि बसुन्धरासम्म राखेका नौ वटा बोर्डहरु हराएको भन्दै खोजी गरिदिन जिल्ला प्रहरी परिसर काठमाण्डौमा उजुरी दिएको हो ।

कलंकी–महाराजगन्ज सडकखण्ड अलपत्र पार्दा भइरहेको समस्याप्रति स्थानीयको गुनासो सम्बोधनका लागि राखिएको बोर्ड हराएको उजुरीमा उल्लेख छ । चक्रपथ सुधार आयोजनाअन्तर्गत कलंकी–महाराजगन्ज सडक निर्माण सन् २०१५ मै सक्ने सम्झौता भए पनि अहिलेसम्म नबनेको भन्दै महानगरपालिकाकाले कलंकीदेखि वसुन्धरासम्म सडकका नौ ठाउँमा व्यंग्यात्मक कुरा लेखिएका होर्डिङ बोर्ड राखेको थियो ।

त्यसप्रति आपत्ति जनाउँदै काठमाडौँ चक्रपथ सुधार योजनाले यही चैत २ गते सार्वजनिक सूचना जारी गरेर बोर्ड तीन दिनभित्र हटाउन चेतावनी दिएको थियो । त्यही बोर्ड हराएपछि प्रहरीमा दिएको उजुरी र बोर्डको फोटो समेत फेसबुकमा पोष्ट गर्दै मेयर बालेन्द्र शाहले उपत्यकावासीले पाइरहेको सास्ती चाहिँ नेदेख्ने तर त्यही एउटा बोर्ड देख्ने भनेर कटाक्ष गर्नुभएको छ ।

समय सकिएको नौ वर्षसम्म पनि काम नसक्नेले सानो बोर्ड देखेको उहाँको भनाई छ । उहाँले आफ्नो देशमा एक दिनमै अस्पताल बनाउने चीनले अलपत्र सडकलाई लिएर कुटनीतिक नोट पठाएको भन्दै आपत्ति पनि जनाउनुभएको छ ।  

अन्तिम अपडेट: बैशाख १७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया