नीतिगत र संस्थागत सुधारबिना पुँजीगत खर्च बढाउन कठिन रहेको अ...
मंसिर ८, २०८१ शनिबार
सुनसरी – इनरुवा ३ कानुन टोल बस्तीका बीरेन्द्र सदालाई इनरुवा शान्ति चोकका एजेन्ट बीरेन्द्र साहले घरमै गएर मलेसियामा राम्रो कमाइ हुने सपना देखाए । सामान प्याक गर्ने काममा महिनाको ४० हजार रुपैयाँ कमाइ हुन्छ भनेपछि सदाले पनि केही सोच्नुभएन । हुन्छ भनिदिनुभयो ।
सदा मलेसिया जान सहमत भएपछि साहले भिसाको प्रक्रियाका लागि भन्दै २०७४ चैत ६ मा ६० हजार रुपैयाँ मागे । सदाले एजेन्टको हातैमा पैसा दिनुभयो । त्यतिबेला कसैले सदालाई मलेसिया बन्द भएको सुनाए । एजेन्टले भने खुलिसकेको भन्दै सान्त्वना दिए ।
वैशाखको पहिलो हप्ता एजेन्टले काठमाण्डौ बोलाए । ‘म काठमाण्डौ गएर आएको हुँ, म्यानपावर र एजेन्टले अबको १० देखि १२ दिनमा उडाइदिन्छु भनेको छ’ सदा भन्नुहुन्छ ।
काठमाण्डौबाट १२ दिनमा मलेसिया उड्न पाइने सपना बुन्दै उहाँ सुनसरी फर्किनुभयो । वैशाख १२ गते सदासँग एजेन्टले फेरि ४० हजार रुपैयाँ घरमै गएर लिए ।
केही दिनमै मलेसिया उडाइदिने भन्दै गाउँमै पुगेका एजेन्ट साह पैसा लिएर फर्किए । ‘उसले त मसँग एक लाख १० हजार रुपैयाँ मागिरहेको थियो, मैले दिइनँ’ सदा सुनाउनुहुन्छ, ‘उड्ने दिनसम्म बाँकी १० हजार रुपैयाँ दिन्छु भनेको छु ।’
सदाले जस्तै उहाँको गाउँका अरु सात जना युवासँग पनि एजेन्ट साहले प्रतिव्यक्ति एक लाख १० हजार रुपैयाँ लिएका छन् ।
तालुस ऋषीदेव, कमल सदा, जीवन सदा, दिलिप सदा, इपन सदा, तिलसर शर्मा र वरैशपैत सदाले मलेसिया जानकै लागि प्रतिव्यक्ति एक लाख १० हजार रुपैयाँ एजेन्ट बीरेन्द्र साहलाई बुझाएका छन् ।
उनीहरुसँग जस्तै गाउँका अरु युवासँग पनि एजेन्टले मलेसिया पठाइदिने भन्दै एक वर्ष अघिदेखि पैसा लिएर नपठाएको सदाले बताउनुभयो । तर यति कुरा थाहा हुँदाहुँदै पनि उनीहरु एजेन्टकै विश्वासमा छन् ।
बीरेन्द्र सदासहित कमल, जीवन र दिलिप १२ दिन भित्र मलेसिया उड्न पाइने सपना देखेर बसेका छन् ।
यही गाउँमा जनकलाल खत्वे ठेला चलाउनुहुन्थ्यो । उहाँको कमाइले घरव्यवहार चलिरहेकै थियो । आफ्नै ठेला भएकाले किस्ता तिर्नदेखि सबै खर्च पुग्थ्यो । तर एजेन्ट साहले दुई वर्षअघि जनकलाललाई पनि आफ्ना जालमा पारे ।
मलेसियामा राम्रो काम र कमाइ हुने विश्वास दिलाएपछि जनकलाललाई पनि एकपटक विदेश जाउँझैं लाग्यो । त्यसपछि एजेन्टले जसो भन्छन्, उसै गर्नुभयो ।
५० हजार रुपैयाँ ऋण गरेर काठमाण्डौ आउनुभयो । १० हजारको पासपोर्ट बनाएर बाँकी ४० हजार रुपैयाँ एजेन्टलाई नै दिनुभयो ।
पासपोर्ट बनाएको आठ दिनमा मलेसिया उडाइदिने आश्वासन दिएका थिए एजेन्टले । आठ दिनपछि मलेसिया हैन जनकलाललाई एजेन्टले घर फर्काइदिए । एक वर्ष बित्यो, तर कतै पनि पठाएनन् ।
‘एक वर्षपछि फेरि पैसा पुगेन ३० हजार रुपैयाँ देउ भन्यो, पैसा थिएन फेरि ऋण गरेर दिएँ,’ जनकलालकी श्रीमती रन्जितादेवी खत्वे सम्झनुहुन्छ, ‘त्यति मात्र भए त हुन्थ्यो, इनरुवा बचत बैंकमा खेत राखेर डेढ लाख रुपैयाँ ऋण लिन पनि उसैले सघायो र पैसा लियो ।’
दुई वर्षको अवधिमा जनकलालले पटक पटक गरेर दुई लाख २० हजार रुपैयाँ एजेन्ट बीरेन्द्रलाई दिनुभयो । उनले कहिले मलेसिया, कहिले यूएई त कहिले कतार पठाइदिने भन्दै मेडिकल पनि गर्न लगाए । तर पठाएनन् ।
‘अहिले साउदी पठाउँछु भनेको छ, भएको ठेला पनि बेचेर उसलाई नै पैसा दिएको हो, बैंकमा जग्गा राखेर निकालेको पैसाको पनि ब्याज तिरेको छैन, घर भएको डेढधुर जग्गा पनि जाने भयो,’ रन्जितादेवी भन्नुहुन्छ, ‘बैंकबाट मानिसहरु आएका आएकै छन्, उसलाई तिमीले पैसा लगेको ब्याज तिमी नै तिर भन्दा पनि मान्दैन, हाम्रो यही विषयमा घर झगडा हुन्छ ।’ एजेन्टले माग्नेबित्तिकै नै पैसा दिए पनि रन्जितादेवीसँग एजेन्ट बीरेन्द्रलाई पैसा दिएको कुनै प्रमाण छैन ।
रन्जितादेवीका श्रीमान् जनकलाल अझै एजेन्टको भरमा हुनुहुन्छ । विदेश जाने बाटो हेर्दै अहिले ठेला चलाइरहनुभएको छ ।
सरकारले गएको चैत १८ गतेदेखि कलिङ भिसा आएकालाई अन्तिम श्रम स्वीकृति प्रदान गरे पनि नयाँ जान चाहनेका लागि भने मलेसियाको रोजगारीको ढोका अझै बन्द छ । गएको वर्षको जेठ २ गतेदेखि बन्द रहेको मलेसियाको रोजगारी नयाँ जान चाहनेका लागि कहिले खुल्छ भन्ने अन्योल छ ।
तर गाउँगाउँमा युवाहरुलाई मलेसियाको रोजगारी बन्द भएको थाहै नपाएर एजेन्टको विश्वासमा पैसा दिने गरेको सुरक्षित आप्रवासन परियोजना अन्तर्गत सुनसरीमा कार्यरत वित्तीय साक्षरता प्रशिक्षक ज्ञानीकुमारी चौधरी बताउनुहुन्छ ।
‘उनीहरुलाई मलेसियाको रोजगारी बन्द छ, तपाईँहरु ठगीमा पर्नुभयो भनेर मैले उनीहरुको घरमै गएर पटक पटक सम्झाएँ, तर विश्वास एजेन्टकै गरिरहेका छन्, हामीलाई १० दिनमा पठाउँछु भनेको छ भन्छन्, अरु कुरा सुन्न चाहँदैनन् युवाहरु,’ वित्तीय साक्षरता प्रशिक्षक चौधरीले भन्नुभयो ।
बस्तीकै युवालाई एउटै एजेन्टले ठगीरहेको जानकारी पाएपछि उनीहरुलाई सम्झाउन पटक पटक घरैमा जाँदा पनि आफ्नो कुरै नसुन्ने गरेकाले केही गर्न नसकिएको प्रशिक्षक चौधरी बताउनुहुन्छ ।
‘पठाउँछ/पठाउँदैन पनि थाहा छैन्, कस्तो काममा कहाँ पठाउँछ भन्ने पनि थाहा छैन’ चौधरी भन्नुहुन्छ, ‘एजेन्टले यही कुराको फाइदा उठाइरहेको छ ।’
गाउँमै एकपटक एजेन्ट बीरेन्द्रसँग पनि भेट भएको र मलेसिया पठाइदिने भन्दै पैसा लिएको कुरा गर्दा उसले कुनै प्रतिक्रिया नदिएको पनि उहाँले बताउनुभयो ।
उज्यालोमा कार्यरत सन्जिता देवकोटा वैदेशिक रोजगार र नेपाली महिलाका बिषयमा कलम चलाउनुहुन्छ ।