तीन जना निर्विरोध भएपछि अब ४१ पदको लागि उपचुनाव, काठमाण्डौक...
मंसिर ८, २०८१ शनिबार
काठमाण्डौं – भएको ६ धुर जग्गा एजेण्टको नाममा पास गरेर वैदेशिक रोजगारीका लागि मलेसिया गएका सर्लाहीको बरथहवा नगरपालिका–१ का महन्त रामको बिचल्ली भएको छ ।
एजेण्टको नाममा जग्गा पास गरिदिएर मलेसिया पुगेका राम पुगेको तीन महिनामै खुट्टा भाँचिएर फर्किनु परेपछि बिचल्ली भएको हो । उहाँलाई विदेश गएको ठयाक्कै मिति थाहा छैन । ३ छोराछोरी, आमा अनि श्रीमतीसहित ६ जनाको परिवार चलाउन अरु केही उपाय नभएपछि उहाँ चिन्तित हुनुहुन्छ ।
यही अवस्था थियो ३ वर्षअघि पनि । यही समस्याले उहाँलाई विदेशका बारेमा सोच्ने बनायो । विदेश जाने भनेर सोचेर के गर्नु ? कुन देश जाने, कसरी जाने अनि कसले पठाइदिन्छ ? उहाँलाई केही थाहा थिएन ।
गाउँबाट विदेश पठाइदिने भन्दै ‘कमिशन’ लिएर म्यानपावरसम्म मान्छे पुर्याइदिने ‘एजेण्ट’ को काम गर्ने नरेन्द्र ओझा र मछिन्द्र पासवान पनि महन्तकै गाउँका । उनीहरुले महन्तलाई विदेश पठाइदिने भए । महन्तले उनीहरुलाई १ लाख ६० हजार रुपैयाँ दिनुपर्ने भयो ।
जग्गाको नाममा ६ धुर भएका महन्तसँग डेढ लाख त के डेढ हजार पनि निकाल्ने उपाय थिएन । उहाँले आफ्नो समस्या सुनाएर बिन्ती गर्नुभयो । महन्तको बिन्तीले पग्लिए जस्तो गरेका नरेन्द्र ओझा र मछिन्द्र पासवानले भएको जग्गा आफ्नो नाममा पास गरेर विदेश जान अनि विदेश गएर कमाएर पैसा तिरेपछि जग्गा फिर्ता गरिदिने बताए ।
बिकल्प खोजिरहेका महन्तले तत्कालका लागि बिकल्प पाए । तर त्यो बिकल्पले पछि आफ्नो उठिबास लगाउला भन्ने कल्पना पनि गर्नुभएको थिएन उहाँले । उहाँ नरेन्द्र ओझाको नाममा जग्गा पास गरिदिन सहमत हुनुभयो ।
आफूले डेढ लाख रुपैयाँ लिने बताएका नरेन्द्रले जग्गा पास गर्दा एक लाख ९५ हजार रुपैयाँ महन्तले तिरेपछि मात्रै जग्गा फिर्ता गर्ने कागज बनाए । ‘त्यतिबेलै मलाई ठगिसकेका रहेछन् मलाई पत्तै भएन’ महन्त भन्नुहुन्छ । महन्तलाई नरेन्द्रले कम्पनीको काम हो भनेर मलेसिया उडाए ।
(फाइल तस्बिर)
महिनाको ९ सय रिगिंट तलब हुन्छ भनेका थिए नरेन्द्रले । तर मलेसिया पुगेका महन्तले न भनेको काम पाउनुभयो न ९ सय रिंगिट तलब नै । महन्तले बालुवा र ढुङ्गा बोक्ने काम गर्नुभयो । तीन महिना काम गर्दा उहाँले ६ सय रिंगिट तलब पाउनुभएको थियो ।
तीन महिना बितेपछि काम गर्ने क्रममा त्यही ठाउँमा प्रयोग भएको गाडीले कुल्चिँदा महन्तको खुट्टा भाँचियो । काम लगाउने कम्पनीले खुट्टाको उपचार ग¥यो । तीन महिना कोठामै सुत्नुपर्यो । तीन महिनापछि अब तँ काम गर्न सक्दैनस् भन्दै महन्तलाई नेपाल फर्काइदियो ।
कम्पनीले जान भनेपछि साथीहरुले पैसा उठाएर महन्तलाई नेपाल फर्काइदिए । उहाँले बीमासँगै घाइते भएको प्रमाणका आधारमा वैदेशिक रोजगार बोर्डबाट पनि क्षतिपूर्ति पाउनुहुन्थ्यो । तर उहाँलाई यस बारेमा केही थाहा थिएन ।
नेपाल फर्किएका महन्तलाई काठमाण्डौमा रहेका नरेन्द्र ओझाले बीमा कम्पनीसम्म पु¥याइदिए । तर बीमा कम्पनीले खुट्टा भाँचिएर उपचार गरेको कागजात माग्यो । कुनै कागजात नभएकाले बीमा कम्पनीले उहाँलाई रित्तै हात फकाईदियो । महन्त भन्नुहुन्छ, ‘त्यस्तो कागज बनाएर ल्याउनुपर्छ भनेर केही थाहा थिएन, मैले त्यही कुरा भने तर उहाँहरुले त्यसो भए चुप लागेर जानु भन्नुभयो ।’
कमाउन गएका महन्त राम भएको पनि गुमाएर घर फर्किनुभयो । विदेश नजाँदासम्म आफ्नो रहेको ६ धुर जग्गा आफ्नो रहेन । उहाँलाई बीमा कम्पनीमा छोडेर आफ्नो बाटो लागेका नरेन्द्र ओझा फर्किएर उहाँ भएको ठाउँमा गएका छैनन् । तर जग्गा छोडेर जान अहिले पनि दबाब दिइरहेका छन् ।
महन्तले आफूले विदेशमा नेपालमा भनिएको काम र तलब नपाएको अनि ढुङ्गा बोक्ने काम गर्नुपर्दा खुट्टा भाँचिएको भन्दै जग्गा फिर्ता गरिदिन आग्रह गरिरहनुभएको छ ।
तर नरेन्द्र ओझा र मछिन्द्र पासवानले जग्गा फिर्ता गर्नुको साटो घर छोडेर जान भनिरहेका छन् । बिचल्लीमा परेका महन्त र उहाँको परिवार अहिले यो संकटबाट पार पाउन उपाय खोजिरहेको छ ।
मोहन पौडेलसँग भुटानी तथा तिब्बती शरणार्थीका विषयमा लामो समय रिर्पोटिंग गरेको अनुभव छ । उहाँ वैदेशिक रोजगारका विभिन्न पाटामा पनि कलम चलाउनु हुन्छ ।