तीन जना निर्विरोध भएपछि अब ४१ पदको लागि उपचुनाव, काठमाण्डौक...
मंसिर ८, २०८१ शनिबार
दुर्गाप्रसाद भट्टराई ।
सर्लाही – रामप्रवेश यादवले कमाउन विदेश जाने कुरा सुनाउँदा बुवाआमालाई छोरो टाढा हुने भयो भन्ने चिन्ताभन्दा जिम्मेवार भयो भन्ने कुराले खुशी बनायो । २१ वर्षकै उमेरमा छोराले जिम्मेवारी बुझ्यो भनेर महेन्द्र र कलावतीदेवी यादव मख्ख पर्नुभयो ।
खुशी हुनुको अर्को कारण पनि थियो, रामप्रवेशसँगका साथी कसैले पनि कमाइको मेलो समाउन सकेका थिएनन् । २०६४ सालमा छोराले कमाउने बाटो समाउने भयो भन्ने सोचेका महेन्द्रलाई के थाहा छोराको अनुहार नदेखी संसारबाट बिदा लिनुपर्छ भन्ने ।
सर्लाहीको बरथहवा – १३ का रामप्रवेशलाई मलेसिया पठाइदिने भए रौतहटका एजेण्टले । एजेण्टलाई एक लाख रुपैयाँ हालिदिएपछि सुरु भयो रामप्रवेशको मलेसिया उड्ने प्रक्रिया ।
२०६४ सालमा २१ वर्ष पुगेका थिए रामप्रवेश । उनी मलेसिया उडेपछि महेन्द्रले श्रीमती कलावतीदेवीलाई भन्नुभएको थियो, ‘हाम्रो छोराले सानै उमेरमा आफ्नो जिम्मेवारी बुझ्यो । उसँगैका साथी गाउँघरमै बरालिइरहेका छन् ।’
कलावतीका दम्पति छोराले धेरै कमाएर पठाउँछ भन्ने आशमा हुनुहुन्थ्यो । मलेसिया पुगेका महेन्द्रले २ महिनामा फोन गरेर बुवाआमालाई कम्पनीसँगै काम र कमाइ पनि राम्रो भएको सुनाए ।
(आमा कलावतीदेवी र छोरा रामप्रवेश)
कहिलेकाहीँ ‘ओभरटाइम’ पनि दिने रहेछ भनेर सुनाएका छोरालाई महेन्द्रले सम्झाउनुभयो, ‘काम राम्ररी गर्नु, पैसा धेरै खर्च नगर्नु मलेसिया जाँदाको ऋण तिर्नुपर्छ ।’
फोन गर्दा कहिल्यै पनि रामप्रवेशले काम र कमाइमा समस्या छ भनेर सुनाएनन् । गएको तीन महिनापछि उनले अर्को महिना पैसा पठाउने योजना सुनाएका थिए बुवाआमालाई । महेन्द्र र कलावतीदेवी छोराले पठाएको पैसाले ऋण तिर्ने योजना बनाउँदै हुनुहुन्थ्यो । तर महिना हुँदै वर्ष बित्दा पनि पैसा आएन । दुई वर्ष हुँदा पनि पैसा पाएनन्, रामप्रवेशले ।
केही नभनी फेरिएको छोराको व्यवहारले निराश भएका महेन्द्र र कलावती फोनमा कुरा गर्न खोज्नुहुन्थ्यो । तर फोन लाग्न छोड्यो । त्यसपछिका तीन वर्ष रामप्रवेशले न एक कल फोन गरे न कुनै खबर नै ।
एक दिन छिमेकीले कलावतीदेवीलाई छोराले फोन गरेको छ भन्दै बेलाए । श्रीमान् श्रीमती दौडिएर छिमेकीको घरमा पुग्नुभयो । महेन्द्र छोरासँग रिसाउनुभयो । ‘उहाँले छोरालाई तेरो पैसा चाहिँदैन तँ घर आइज भनेर गाली पनि गर्नुभयो’ कलावतीले बाबुछोरा बीचमा भएका कुरा सुनाउनुभयो ।
महेन्द्रलाई छोरासँग रिस उठ्नुको कारण अर्को पनि थियो । उहाँलाई गाउँलेले तेरो छोरो त मलेसियामा केटीसँग लागेको छ रे भनेर सुनाउन थालिसकेका थिए । महेन्द्रले त्यो कुरा फोनमा छोरालाई भन्नुभएन । घर फर्किन मात्रै भन्नुभयो ।
यही कुरा गाउँलेले कलावतीदेवीलाई पनि नसुनाएको होइनन् । तर उहाँ यस्ता कुरा गर्नेहरुलाई गाली गर्नुहुन्थ्यो । अरुलाई गाली गरे पनि कलावतीदेवी आफैंले आफूलाई चाहिँ सम्झाउन सक्नुभएको छैन । राती सुत्ने बेलामा गाउँले भनेका तिनै कुरा सम्झिएर उहाँ राम्ररी निदाउन सक्नुहुन्न ।
‘उसको बुवाले फोनमा मलेसिया जाँदा लिएको ऋण तेरो भागको अंश बेचेर म तिरिदिन्छु भनेपछि रामप्रवेशले हुन्छ भनेर फोन काटेको थियो’ कलावती सम्झिनुहुन्छ । उहाँले त त्यतिबेला बोल्न पनि पाउनुभएन । त्यसपछि पहिलेकै अवस्था दोहोरियो । रामप्रवेश सम्पर्कबिहीन भए ।
कमाउन गएको छोराले निराश बनाएपछि समस्यामा परेका महेन्द्रको ज्यान पनि थलिँदै गयो । छोरा गएको साढे ५ वर्षमा महेन्द्र बित्नुभयो । बुवा बितेको खबर सुनाउन परिवारसँगै गाउँले पनि फोन गरे रामप्रवेशलाई । तर फोन लागेन ।
कलावतीदेवीलाई खबर सुनाउन पाए त छोरो पक्कै आउँछ भन्ने आश थियो । त्यसैले गाउँबाट मलेसिया गएकाहरुमार्फत खबर पठाउनुभयो । खबर लानेहरुले महेन्द्रलाई भेटेरै सुनाइदिएको पनि बताए । तर महेन्द्र घर फर्किएनन् ।
यसले रामप्रवेश आफैं घर आउन नखोजेको थाहा पाउनुभएको थियो कलावतीदेवीले । तर पनि आमाको मन न हो कहाँ मान्थ्यो र । उहाँले छोराका साथीहरुलाई खोजिदिन भन्नुभयो । साथीहरुले फेसबुकमा फेला पारे ।
फेसबुकबाट म्यासेज गर्ने साथीहरुलाई रामप्रवेशले ब्लक गरेका छन् । रामप्रवेशका साथी विजय यादव भन्नुहुन्छ, ‘अहिले गाउँका कोही पनि साथी फेसबुकमा साथी छैनन्, सबैलाई उसले ब्लक गरिसकेको छ ।’
अरुका छोराभन्दा आफ्नो छोराले छिट्टै कमाइको बाटो समायो भनेर खुशी भएका महेन्द्रले छोराले कमाएको पैसा रातो थियो कि हरियो देख्न पाउनुभएन । अनि छोरा बुवाआमालाई सम्झिएर फर्किएनन् ।
अहिले यही चिन्ता कलावतीदेवीलाई छ । उहाँ उमेरले ६५ वर्ष पुग्नुभयो । तर शरीर ८० कटे जस्तै गरी गलेको छ । आशाभन्दा निराशाका कुरा धेरै छन् कलावतीदेवीसँग । भन्नुहुन्छ ‘मेरो पनि उसको बुवाको जस्तै हालत हुन्छ होला । बुवा मर्दा नआएको छोराले अब मलाई पनि भेट्दैन होला जस्तो लाग्छ ।’