सुनसरीको न्यु स्टारलाई हराउँदै मच्छिन्द्र क्लब फाल्गुनन्द गोल्डकपक...
पुस ९, २०८१ मंगलबार
काठमाण्डौ – कर्फ्युको समयलाई मध्यनजर गर्दै कुवेत सरकारले अनलाइनमा आवश्यक विवरण भरेर नजिकको बिक्री केन्द्रबाट खाद्यान्न खरिद गर्ने व्यवस्था गरेको छ ।
कर्फ्युको बेला बाहिर निस्किन जोखिम हुने भन्दै कुवेत सरकारले तोकेको वेबसाइटमा आवश्यक विवरण भरेर नजिकको बिक्री केन्द्रमा समय लिई सामान खरिद गर्न सकिने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
सुपरमार्केट तथा कोअपरेटिभ सोसाइटीमा समय लिनको लागि www.moci.shop मा गएर आवश्यक विवरण भर्न दूतावासले आग्रह गरेको छ ।
विवरणमा सिभिल आईडी नम्बर, सिभिल आईडी पछाडि रहेको सिरियल नम्बर, बसोबास गर्ने क्षेत्र, मोबाइल नम्बर, इमेल भरेर आफ्नो नजिकको सुपरमार्केट, कोअपरेटिभ सोसाइटी र उपयुक्त समय छनोट गर्नुपर्ने हुन्छ ।
विवरण भरिसकेपछि क्यूआर कोड प्राप्त हुने र आवश्यक पर्दा त्यही कोड देखाउनुपर्ने दूतावासले जनाएको छ ।
सिभिल आईडीमा आफू बसोबास गर्ने क्षेत्र फरक परेमा my address doesn’t match my civil id भन्ने अप्सनमा क्लिक गरी PACI नम्बर हाल्न पनि दूतावसले सुझाएको छ ।
यस्तै कर्फ्यु अवधिभर मेडिकल केन्द्र तथा अस्पतालमा समय लिनुपरेको अवस्थामा https://curfew.paci.gov.kw/request/create वेबसाइटमा गई आवश्यक विवरण भरी समय लिन सकिने दूतावासले जनाएको छ ।
कुवेत सरकारले घोषणा गरेको आममाफीमा सहभागी भई अहिले विभिन्न क्याम्पमा रहेका नेपालीहरूको अवस्थाबारे सम्बन्धित क्याम्पमा सम्पर्क गरी बुझ्ने कार्य गरिरहेको दूतावासको भनाइ छ ।
क्याम्पमा रहँदा स्वास्थ्यमा केही असहजता भएमा, खाना, पिउने पानी, सरसफाई लगायतका विषयमा थप केही गर्नुपर्ने भएमा क्याम्प व्यवस्थापन पक्षबाट त्यहाँ खटिएका कर्मचारीहरूसँग शिष्टतापूर्वक अनुरोध गर्न र अहिलेको परिस्थितिमा सबैले संयमित भई उच्च मनोबलका साथ सुरक्षित रहन दूतावासले आग्रह गरेको छ ।
कम्पनी क्षेत्रमा आवद्ध नेपालीहरूलाई खाने, बस्ने लगायतका समस्या भएमा आफ्नो कम्पनी व्यवस्थापनसँग कुराकानी गर्न तथा आफू बस्दै आएको बासस्थान नछोड्न पनि दूतावासको अनुरोध छ ।
कुवेतमा रहेका नेपालीहरुका समस्या समाधानका लागि आवश्यक सहयोग, सम्बन्धित निकायहरूसँग समन्वय तथा सहजिकरण गरिरहेको भन्दै त्यहाँ रहेको नेपाली दूतावासले तत्काल सम्बोधन गर्नुपर्ने समस्या भएमा दूतावासमा टिपाउन पनि आग्रह गरेको छ ।
दूतावासको टेलिफोन नम्बरहरूः २५३२१६०३, २५३२१६०४, २५३२१६०५ र हटलाइन नम्बरः ९८८६९१२१ मा फोन गरेर आफ्ना समस्या टिपाउन सकिने दूतावासले जनाएको छ ।
कुवेतमा गएको मे १० तारिखदेखि अबको मे ३० तारिखसम्म पूर्णकालीन कर्फ्यु लागू गरेको छ ।