मलेसियाबाट ११७ नेपाली लिएर हिमालय एअर काठमाण्डौ आउँदै

 असार ४, २०७७ बिहीबार १७:४:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियाबाट ११७ नेपाली काठमाण्डौ फर्कंदैछन् । हिमालय एअर १२ जना महिला र १०५ जना पुरुष गरी ११७ जना लिएर काठमाण्डौ उडेको मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ ।

जहाज साँझ ६ काठमाण्डौमा अवतरण गर्ने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप ५ उडान हुनेछन् । जुन २० अर्थात पर्सि शनिबार नेपाल एअरलाइन्सले, जुन २१ गते आइतबार हिमालय एअरलाइन्सले, जुन २५ मा पनि हिमालय एअरलाइन्सले नै र जुन २६ र २७ मा नेपाल एअरलाइन्सले उडान भर्नेछ ।

यो उडानको भाडादर ४५ हजार १ सय रुपैयाँ तोकिएको छ । फर्कने नेपाली स्वयंले नै यातायात खर्च व्यहोर्नु पर्ने नियम छ ।

यस्तै मलेसियामा रहेको नेपाली दूतावासले भिसा वा करार सकिएर स्वदेश फर्कने नेपालीसँग मलेसियाको अध्यागमनले चेकआउट मेमो खोजेकाले टिकट काट्नुअघि चेकआउट मेमो लिन सक्ने नसक्ने भनेर यकिन गर्न अनुरोध गरेको छ । चेकआउट मेमो लिएको तर कोरोनाको कारण म्याद सकिएको भए पनि स्वदेश फर्कन पाइने दूतावासले उल्लेख गरेको छ ।

भिसाको म्याद भएका तर बिदामा नेपाल फर्कनेले रोजगारदाताबाट बिदाको पत्र अनिवार्य साथमा राख्न पर्नेछ ।

कोरोना जाँचको रिपोर्ट नेगेटिभ आएको रिपोर्ट पनि साथमा हुनुपर्नेछ ।

तपाईको प्रतिक्रिया