कुवेतबाट स्वदेश फर्किए १५० नेपाली

 असार ६, २०७७ शनिबार ११:५३:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – आज पनि कुवेतबाट १५० जना महिला स्वदेश फर्किएका छन् । कुवेतमा आममाफीमा सहभागी महिला कुवेतबाट जजिरा एअरमार्फत केहीबेरअघि काठमाण्डौमा अवतरण गरेका हुन् । कुवेतले जजिरा एअरमार्फत दिनहुँ त्यहाँ आममाफीमा सहभागी नेपालीलाई आफ्नै खर्चमा नेपाल पठाइरहेको छ ।

कुवेतले रोजगारदाता परिवर्तन गर्दा लाग्ने शुल्क र भिसा नवीकरण नगर्दा अवैधानिक भएका नेपालीलाई आममाफीको अवसर दिएर निःशुल्क रुपमा काठमाण्डौसम्म ल्याइदिएको हो । कुवेतबाट हिजो शुक्रबारसम्म ६ उडानमार्फत ८ सय ९८ जना स्वदेश फर्किसकेका छन् । त्यहाँ आममाफी सहभागी भएकालाई कुवेत सरकारले नै सेल्टरमा व्यवस्था गरेर राखेको थियो ।

आममाफीमा सहभागी झण्डै तीन हजार नेपाली छन् । उनीहरु सबैलाई कुवेतले निःशुल्क रुपमा ल्याइदिने छ । जसमध्ये अहिले महिला श्रमिकलाई प्राथमिकतामा राखेर स्वदेश फर्काइएको छ । बाँकीको हकमा पनि प्रक्रिया अघि बढिसकेकाले दूतावासले जनाएको छ । यस्तै आज कोरियाबाट २२८ जना नेपाली काठमाण्डौ आएका छन् ।

कोरियन एअरको चार्टर्ड उडानमार्फत बिहान आफ्नै खर्चमा उनीहरु स्वदेश फर्किएका हुन् । आजै त्यही जहाजमार्फत १६१ जना नेपाली कोरिया उडेका छन् । कोरियाबाट बिदामा नेपाल आएका र फर्कनका लागि भ्यालिड भिसा र श्रम स्वीकृति भएका नेपालीहरु मात्रै फर्कन लागेको ईपीएस कोरिया शाखाका अधिकृत बाबुराम घिमिरेले जानकारी दिनुभयो ।

हिजो बसेको कोभिड १९ क्राइसिस् म्यानेजमेन्ट कमिटीको बैठकले बिदामा आएका, पढ्न जाने विद्याथी र नयाँका लागि पनि वैदेशिक रोजगारी फेरि खुलाउने निर्णय गरेको छ । सरकारले लकडाउन हुनुअनि नै वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति दिन रोकेको छ ।

तपाईको प्रतिक्रिया