रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
काठमाण्डौ – कुवेत सरकारले आज पनि त्यहाँ आममाफीमा सहभागी १६६ जना नेपालीलाई काठमाण्डौसम्म ल्याइदिएको छ । भिसाको अवधि सकिएर नवीकरण नगरेका र रोजगारदाता परिवर्तन गर्दा लागेको जरिवाना माफ गर्दै कुवेतले आममाफीको अवसर दिएर निःशुल्क काठमाण्डौसम्म ल्याइदिएको हो । फर्कनेमा १ जना पुरुष, पाँच वर्ष मुनीका ५ जना बालबालिका, एक जना ५ वर्षमा माथिका बालक र १६९ जना महिला रहेका त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ ।
आममाफीमा सहभागी सबैलाई आफैंले सेल्टरको व्यवस्था गरेको कुवेतले दिनहुँ नेपालीहरुलाई काठमाण्डौ ल्याइरहेको छ । झण्डै तीन हजार नेपाली आममाफीमा सहभागी छन् । कुवेतबाट आजसम्म ७ उडानमार्फत एक हजार ६४ जना नेपाली स्वदेश फर्किएका छन् ।
आजै साउदीको रियाद, यूएईको आबुधाबी र कतारको दोहाबाट नेपालीहरु काठमाण्डौ आइपुगेका छन् । यूएईको आबुधाबीबाट १ सय ५१ जना नेपाली फर्किएका हुन् ।
नेपाल फर्किनेहरुमा ज्येष्ठ नागरिक, महिला, आफन्त गुमाएका परिवारका सदस्य र भिजिट भिसामा आएर समस्यामा परेकाहरु रहेका दूतावासले जनाएको छ । त्यस्तै केही बिरामी तथा घाइते पनि आजको उडानमा फर्किएका छन् । यूएईबाट फर्किएका सबैको विमानस्थलमा कोरोना परीक्षण गरिएको छ ।
यूएई सरकारले स्वदेश फर्कनेहरुको आरडीटी विधिबाट निःशुल्क परीक्षण गरिदिएको हो । आज परीक्षण गरेकामध्ये ३ जनाको रिपोर्टमा कोरोना पोजेटिभ देखिएको छ । पोजेटिभ देखिएकाहरु आजको उडानमा स्वदेश फर्कन पाएनन् । उनीहरुको यसपछिको रिपोर्टका आधारमा अर्को उडानमार्फत स्वदेश फर्काइने एयरलाइन्सले जनाएको छ ।
यस्तै, कतारको दोहाबाट १४९ जना नेपाली स्वदेश आइपुगेका छन् । नेपाल एअरलाइन्सको चार्टर्ड उडान नम्बर आर ए २३९२ मार्फत १४९ जना नेपाली स्वदेश फर्किएको त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ ।
दूतावासका अनुसार, दोहाबाट सुत्केरी र गर्भवतीसहित ८२ जना महिला, तीनजना नाबालक र ६४ जना पुरुष स्वदेश फर्किएका छन् । आज बिहान साउदीको रियादबाट पनि २४६ जना नेपाली स्वदेश आइपुगेका छन् । आजै यूएईबाट थप दुई उडानमार्फत नेपाली फर्कंदै छन् भने बहराइन, मलेसिया र बंगलादेशबाट पनि नेपाली स्वदेश फर्कंदैछन् ।