परदेशमा आफन्त गुमाउनेलाई सामीको साथ, आर्थिक सहायताले परिवारलाई राहत

 जेठ ४, २०७८ मंगलबार १३:२३:३७ | सुजता सुनुवार
unn.prixa.net

इलाम – श्रीमान् परदेशमा । आफू गाउँघरमा । परदेशमा श्रीमानको कमाइ हुन्छ, यता घरबार चलाउन सहज हुन्छ ।

आफ्नो मात्र होइन छोराछोरीको पनि भविष्य सुन्दर हुन्छ भने सपना धेरै परदेशीका श्रीमतीको हुन्छ । इलामको रोङ गाउँपालिका २ की मुना विश्वकर्माको पनि यही सपना थियो मन भरी । तर सोच्नु र भोग्नुमा निक्कै फरक भइदियो उहाँको जिन्दगी ।   

पाँच वर्षको छोरो, आठ महिनाको छोरी र घर व्यवहारको जिम्मेवारी उहाँको काँधमा छाडेर साउदी उडे श्रीमान् रामकुमार विश्वकर्मा ।

२०७० सालमा साउदी पुग्नु भएका रामकुमारले २०७२ सालसम्म गाडी चालकका रूपमा काम गर्नुभयो । फोनमा ६ महिनापछि बिदामा घर आउँछु, राम्रोसँग घर हेर्नु है भन्नुभएको थियो रामकुमारले । तर ६ महिनापछि घर आउने बाचा गरेको दुई घण्टा पनि नबित्दै श्रीमान् संसारबाट बिदा भएको खबर आयो ।

‘गाडी चलाउने मान्छे दुर्घटनामा परेर ज्यान गएछ, मैले त तीन दिनपछि मात्र थाहा पाए,’ मुना मलिन आवाजमा भन्नुहुन्छ,‘श्रीमान् घर आउलान्, अनि यसो गरौँला, उसो गरौँला भन्ने सोचेको थिए, परदेशीका श्रीमतीले सपना देख्न पनि नहुने रहेछ ।’

सबैको घरको आर्थिक स्थिति उस्तै हुँदैन । धन हुन्थ्यो भने घरमा मन मुटु छाडेर दुई चार वर्षलाई विदेश को पो जान्थ्यो होला र । तर मानिसलाई बाध्यताले कहाँ पुर्याउँछ कति बेला के हुन्छ के थाहा ।

जब परिवारको मियो ढल्छ तब सुरु हुन्छ अर्को आपत् । कमाउन गएको मानिस बाकसमा फर्कनु अनि घरमा साथ र सहयोग गर्ने अरू नहुनु ।

यस्तै आपतमा पर्नुभएकी मुनालाई इलाममा सुरक्षित आप्रवासन परियोजना सामीले सञ्चालन गरेको आप्रवासी स्रोत केन्द्रको सहयोग मिल्यो ।

श्रीमानको सदगत गरेपछि चुपचाप सङ्घर्ष गरिरहनुभयो । मुनालाई करार अवधि भित्रै परदेशमा ज्यान गुमाउनेका परिवारले वैदेशिक रोजगार बोर्डबाट आर्थिक सहायता पाउँछन्, उनीहरूका छोराछोरीलाई छात्रवृत्ति दिइन्छ भन्ने नै थाहा थिएन । एक दिन कसैले उहाँलाई यो कुरा सुनाइदियो । 

‘कता कता पैसा पाइन्छ रे भनेको सुनेँ, अनि वडा हुँदै जिल्ला प्रशासन कार्यालय गएँ, त्यहाँ सामीको एउटा अफिस रहेछ, त्यहाँबाट ठुलो सहयोग मिल्यो,’ मुनाले भन्नुभयो । 

इलामको जिल्ला प्रशासन कार्यालय हाता भित्रै रहेको आप्रवासी स्रोत केन्द्रमा पुगेपछि मुनासँग भएको कागजातका आधारमा आर्थिक सहायताको लागि प्रक्रिया अघि बढ्यो ।

केन्द्रकै समन्वयमा मुनाले वैदेशिक रोजगार बोर्डबाट तीन लाख रुपैयाँ र बिमा कम्पनीबाट सात लाख पाउनुभयो । त्यसका साथै कतारमा दुर्घटनामा परी ज्यान गुमाएकाले कतारबाट आएको बिमाबापतको रकम जिल्ला प्रशासन कार्यालय इलाममार्फत पाउनुभयो । सबै गरेर उहाँले जम्मा १५ लाख रुपैयाँ आर्थिक सहायता सामी परियोजनाको समन्वयमा पाउनुभयो । 

‘पैसा पाउनका लागि नाता प्रमाण, पासपोर्टको कपी, मृत्यु दर्ता र विदेश रहँदाको सम्पूर्ण कागजातसहित चाहिने रैछ, यस्ता कागजात मिलाउन मलाई त्यो अफिसले नै गर्यो, मुना भन्नुहुन्छ,‘चाहिने कागजात जुटाउन र यो ठाउँमा जानुहोस् भनिदिने मात्रै हुँदा पनि निकै सजिलो हुने रहेछ ।’

अहिले उहाँको छोराछोरीलाई बोर्डले नै प्रदान गर्ने छात्रवृत्तिका लागि पनि पहल भइरहेको छ ।

मुनालाई मात्रै होइन माङ्सेबुङ्ग गाउँपालिका १ की नौमाया सुनुवारलाई पनि क्षतिपूर्ति पाएपछि निक्कै सहज भएको छ । छोरोले परदेशमा कमाउला । घर आएर बुहारी ल्याउला र हामीलाई बुढेसकालमा पाल्ला भन्ने ठुलो आशा थियो उहाँको मनमा । नौमाया भन्नुहुन्छ, ‘कमाउन जान्छु भनेर हिँडेको छोरोको लाससमेत देख्न पाइनँ, छोरो त मरेर गइहाल्यो बाँच्ने हामी पलपल मर्न परेको छ ।’ ४७ वर्षकी आमा नौमाया दुखेसो पोख्नुहुन्छ । 

नौमायाको छोरो दिवन सुनुवार २०७५ सालमा कतार गएका थिए । तर कतार गएपछि के भयो भयो ।  दिवनकोे सास कतारमै रोकियो । मृत्यु भएको एक हप्तापछि मात्रै परिवारलाई दिवनको मृत्यु भएको खबर प्राप्त भयो । मृत्युको कारण भने निमोनिया भन्ने उल्लेख थियो । कोरोना महामारीका कारण शव ल्याउन पनि समस्या भयो । अन्तिम संस्कार पनि उतै गर्नुपर्यो । 

‘तेरो छोरो मर्यो भन्छन् तर मलाई त हैन होला जस्तो लाग्छ, मेरो नानीको मुख पनि हेर्न दिएन यो पापी कोरोनाले,’नौमाया भन्नुहुन्छ,‘मलाई त विश्वास नै लाग्दैन, नानी कतारमै काम गर्दै छ होला जस्तो लाग्छ ।’

नौमायाले पनि विदेशमा बित्नेका परिवारले आर्थिक सहायता पाउँछन् भन्ने सुन्नुभयो । तर कसरी पाइन्छ, कसले दिन्छ भन्ने थाहा थिएन उहाँलाई ।

सन्तान गुमाउनुको पीडामा डुबेकी नौमायालाई पनि आप्रवासी स्रोत केन्द्रकै समन्वयमा आर्थिक सहायता लिन सहज भयो । 

उहाँले बिमा कम्पनीबाट १३ लाख, बोर्डबाट ७ लाख रुपैयाँ गरी जम्मा २० लाख रुपैयाँ आर्थिक सहायता पाउनुभयो । कोरोनाको समयमा गन्तव्य देशमै अन्तिम संस्कारका लागि अनुमति दिनेका परिवारलाई वैदेशिक रोजगार बोर्डले दिने सान्त्वना राहत स्वरूप ५० हजार रुपैयाँ भने लिन बाँकी छ ।

त्यसका लागि पनि प्रक्रिया भइरहेको परियोजनाले जनाएको छ । 

सिलाई कटिङमा भविष्य खोज्दै

श्रीमानकाे  मृत्युपछि मुनालाई निकै समय घरबार चलाउन हम्मे – हम्मे भयो । सीप सिके सहज हुने भन्दै उहाँले सिलाई कटिङको आधारभूत तालिम लिनुभयो ।

अहिले उहाँको घरबार  यसैको भरमा छ । पालिकाले सिलाई कटिङ सम्बन्धितको थप तालिम दिए हुन्थ्यो भन्ने आशा छ मुनाको ।

मुनाले क्षतिपूर्तिबाट प्राप्त गर्नुभएको रकमले सूर्योदय नगरपालिका १२ मा जग्गा किन्नु भएको छ । यसैमा घर बनाउने र यसैमा सिलाई कटिङको व्यवसायिक सेन्टर खोलेर सञ्चालन गर्ने मुनाको सपना छ । 

मुनाले झैं नौमायाले पनि क्षतिपूर्तिबाट प्राप्त रकमले झापामा जग्गा जोड्नु भएको छ । यसैमा घर बनाउने, गाई बाख्रा पाल्ने अनि कान्छो छोरोलाई नेपालमै केही गर्न सक्ने आधार खडा गरिदिने नौमायाको लक्ष्य छ । एउटा छोरो परदेशले खोसे पनि सानो छोरालाई परदेशी भूमिमा टेक्न दिन्न भन्नुहुन्छ उहाँ ।

क्षतिपूर्ति पाइनेबारे जानकारी नभएका बढी 

जिल्ला प्रशासन कार्यालय नजिकैको भवनमा छ आप्रवासी स्रोत केन्द्र । पासपोर्ट बनाउन जिल्ला प्रशासन आइपुगेकाहरूलाई सही सूचना र जानकारी दिनुका साथै सुरक्षित वैदेशिक रोजगारी र समस्यामा श्रमिक र परिवारलाई सम्बन्धित निकायसँग जोड्ने र समस्या समाधानका लागि पहल गर्छ ।

इलाममा सामी परियोजना सञ्चालन भएयता १० घरपरिवारले आर्थिक सहायता पाएका छन् भने आठ घरपरिवारको प्रक्रियामा रहेको केन्द्रकी परामर्शकर्ता कल्पना थापाले जानकारी दिनुभयो । 

तर केन्द्रमा आइपुग्ने सबै जसोलाई आर्थिक सहायताका बारेमा जानकारी नभएको उहाँले बताउनुभयो । 

अहिले कोरोना महामारीको समयमा पनि केन्द्रले जिल्लाबाट परदेश गएकाहरूको समस्या फोनमार्फत सुन्ने र समाधानका लागि विभिन्न सम्बन्धित निकायसँग समन्वय र सहजीकरणको काम गरिरहेको छ । ०२७५२०७३२ नम्बरमा फोन गरेर आफ्नो समस्या र जिज्ञासाहरू राख्न सकिने केन्द्रले जनाएको छ ।

सुजता सुनुवार

सुजता सुनुवार उज्यालोमा कार्यरत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया