११ वटा एयरलाइन्सले हवाई भाडादरको विवरण बुझाए
मंसिर ७, २०८१ शुक्रबार
‘उडिजाउँ भने हेर म कुनै पन्छी होइन,
हिँडिजाउँ भने मलाई साथ दिने कोही छैन
के नै गल्ती भो मेरो..’
गायक छेवाङ लामाले आफ्नो गीतमा भनेजस्तै भएको छ अहिले विदेशबाट घर फर्कन ठिक्क परेका परदेशीको हाल ।
हातमा टिकट छ । घर नफर्की नहुने छ । तर पनि आकाशमा जहाज छैनन् । उनीहरुलाई लिन भनेर जहाजहरु सरकारले पनि पठाउनेवाला छैन । गाडीमा आउन सात समुद्र पारीबाट सम्भव छैन । हिँडि आउने त कल्पनाभन्दा पनि टाढाको कुरा हो ।
तर परदेशमा बस्ने पनि कहिलेसम्म ? यस्तै छटपटीमा हुनुहुन्छ मलेसियामा रुकुमका रबिन्द्र नकाल । उहाँले मलेसियाबाट घर फर्कन झोला पोको पारिसक्नुभएको थियो ।
मे ९ तारिखकको टिकट पनि हातमा थियो । तर नेपालमा नयाँ भेरियन्टसहितको कोरोना महामारी फैलिएपछि वैशाख २३ गते मध्येरातिदेखि नेपालले अन्तर्राष्ट्रिय उडानमा प्रतिबन्ध लगायो । लामो समयपछि स्वदेश फर्किन पाउने खुसीले फुरुङ् हुनुभएका रबिन्द्रको सपना निराशामा परिणत भयो । हातमा टिकट छ तर घर आउने जहाज छैनन् । घर आउन सबै प्रक्रिया पूरा गरिसकेकाले उहाँलाई समस्या भयो । कहाँ बस्ने, कहिलेसम्म बस्ने अनिश्चय भएको छ ।
‘मे १५ मा मेरो करार अवधि सकिसेको छ, चेक आउट मेमो पनि लिइसकेको छु’ रबिन्द्र भन्नुहुन्छ, ‘कम्पनीले १७ अप्रिलदेखि काम दिएको थिएन, अहिले त उल्टै होस्टेलबाट पनि निकालिदियो, खान नपाएर मर्ने स्थिति आइसक्यो ।’
घर आउने झोला पोको पारिसक्नुभएका रबिन्द्रलाई छटपटी भएको छ । 'उडी आउँ भने म कुनै पन्छि हैन' भने झैं उहाँ बन्द कोठामा थुनिनुभएको छ । अन्तर्राष्ट्रिय उडान बन्द भएपछि रबिन्द्र नकाललाई जस्तै यूएईको दुबईमा कार्यरत काभ्रेका अमित लामा पनि उडान बन्द हुँदा समस्यामा पर्नुभएको छ ।
श्रीमान् श्रीमती सँगै बसेर दुईचार पैसा कमाउँला भन्ने सोचले अमितले श्रीमतीलाई पनि यूएईमै बोलाउनुभयो । तर कमाउने सपना बोकेर यूएई पुग्नुभएकी उहाँकी श्रीमती अहिले बिमार पर्नुभएको छ । काम गर्न सक्ने अवस्थामा हुनुहुन्न । त्यहाँ बस्नको लागि उपयुक्त वातावरण पनि छैन ।
आफू एक्लै हुँदा कम्पनीकै क्वार्टरमा बस्नुहुन्थ्यो । तर श्रीमती आएपछि अलग्गै कोठा लिएर बस्नु भएको छ । अमित दिनभरि काममा जाँदा श्रीमतीलाई कोठामा एक्लोपनले सताउँछ । एक जनाको कमाइले दुई जना पालिन पनि समस्या छ । त्यसैले उहाँ श्रीमतीलाई जतिसक्दो छिटो घर पठाउन चाहनुहुन्छ । तर उडान बन्द छ । उहाँको समस्या हजारौंको भिडमा हराएको छ ।
‘यहाँ खर्च टन्न उठ्छ, म एक्लैले धान्न सक्ने अवस्था छैन, त्यसैले उसलाई घर पठाउन पाए हुन्थ्यो, तर खै कहिलेसम्म यसरी तड्पिन पर्ने हो,’ अमित गुनासो गर्नुहुन्छ ।
कोरोनाका कारण अहिले विभिन्न देशमा रहेका नेपाली श्रमिक एक प्रकारको त्रासमा बाँचिरहेका छन् । नेपालमा आफ्नो परिवारको चिन्ता अलग्गै छ । भिसा सकिएका, करार अवधि सकिएकाहरु अब के गर्ने भनेर पात्रोमा दिन गन्दै बसेका छन् । भिसा सकेकाहरु त अघिल्लो वर्ष झैं यो वर्ष पनि त्यहाँको सरकारले भिसा अवधि बढाइदिन्छ कि भन्ने आशामा होलान् । तर विदेशमा ज्यान गुमाएका श्रमिकका परिवारलाई भने आफ्ना मान्छेको शव नेपाल ल्याउन नपाउँदा हरेका रात अनिदोमै बित्छन् ।
मलेसियामा रहनुभएका आरके गडेल आफू स्वदेश फर्किन नपाए पनि त्यहाँ ज्यान गुमाएको आफ्नो साथीलाई नेपाल पठाउन पाए हुन्थ्यो भन्ने आशा व्यक्त गर्नुहुन्छ । ‘मेरो फ्लाइट २२ मे को थियो, तर अब त्यो रोकियो, मलाई केही चिन्ता छैन, एकदुई महिना जसरी पनि काटौंला’, उहाँ भन्नुहुन्छ, ‘तर यहाँ ज्यान गुमाएको मेरो साथीको शव १५ दिनदेखि अस्पतालमा छ, अस्पतालले नि दुई हप्ता भित्र लिएर जान भनेको छ, अब के गर्ने, शवलाई कहाँ लिएर राख्नु ?’
कोरोनाको कारण जिउँदो मानिस नेपाल आउन नपाए पनि परदेशमा ज्यान गुमाउने नेपालीको उद्धार त गरियोस् भन्नुहुन्छ उहाँ ।
‘के अब मरेको छोराको अनुहार हेर्नको लागि पनि दुईचार महिना कुर्नु पर्ने हो ?’ आरके आक्रोश पोख्नुहुन्छ ।
अहिले विदेशमा रहेका नेपाली श्रमिकहरुका समस्या अनेक छन् । यी त प्रतिनिधि घटना मात्रै हुन् । कसैको भिसाको अवधि सकिएको छ । कसैको करार अवधि सकिसकेको छ । यसकारण आफू गैरकानुनी हुने डर छ कतिलाई । कतिपय भने भिसा अवधिभन्दा धेरै बसेका कारण जरिवानामा परिने पो हो कि भन्ने पीरमा छन् । जागिर पनि गुमाएको अवस्थामा जरिबाना तिर्नुपरे कहाँबाट तिर्ने भन्ने चिन्ता छ ।
विदेशमा रहेका कति नेपाली श्रमिकका आफन्तहरुले नेपालमा ज्यान गुमाएका छन् । उनीहरु आफन्तको अन्तिम संस्कारमासमेत घर आउन पाएका छैनन् । यस्तै नेपाल फर्किन टिकट काटेर घर फर्किने दिन कुरेर बसेकाहरु पनि उतै छन् । सामान्यतया विश्वका विभिन्न देशबाट दैनिक ३ देखि ७ सयको संख्यामा नेपाली श्रमिक स्वदेश फर्किन्थे । उडान बन्द भएसँगै विदेशमा रहेका नेपाली श्रमिकको यो संख्या दिनप्रतिदिन बढ्दै गएको छ । नेपाल सरकारले केही निर्णय गरि पो हाल्छ कि भन्ने आशा छ सबैको ।
तर यस्तो बेला नेपाल सरकारले विदेशबाट नेपाली श्रमिकको उद्धार गर्ने कुनै कसरत गरेको देखिँदैन । बरु उल्टै सरकार आफ्नो कुर्सी जोगाउने प्रयासमा छ भने अन्य राजनीतिक दल आफ्नो पोल्टामा सरकार पार्न एकप्रकारको साँढे जुधाइ गरिरहेका छन् । बरु खाडीमा पसिना बगाएका नेपालीले आफ्नो देशका लागि गाँस कटाएर भए पनि परेको बेला प्राणवायुसमेत पठाएका छन् ।
अघिल्लो वर्ष कोरोना महामारीकै कारण २०७६ सालको चैत १० गतेदेखि बन्द भएका अन्तर्राष्ट्रिय उडान २०७७ सालको भदौ १६ गतेदेखि सञ्चालनमा आएका थिए । यो बीचमा नेपाल सरकारले उद्धार उडान पनि सञ्चालन गरेको थियो । यी उडानमार्फत विदेशमा समस्यामा परेका लाखौँ श्रमिकलाई नेपाल ल्याइएको थियो ।
त्यो बेला सरकारले ढिलै भए पनि दोब्बर भाडादरमा उद्धार उडानमार्फत यूएईबाट मात्रै झण्डै ७५ हजार नेपालीलाई घरसम्म पुराएको थियो । उद्धार उडानमा पनि ठगी भयो भन्ने लगायत विभिन्न आरोप लागे पनि जे होस् उडान भएका थिए । तर यो वर्ष भने अहिलेसम्म कुनै पनि उद्धार उडान भएका छैनन् । वैदेशिक रोजगारीमा रहेका श्रमिकको हितको लागि जिम्मेवार निकाय वैदेशिक रोजगार बोर्डले पनि उद्धार उडानको लागि अहिलेसम्म कुनै निर्णय नभएको जनाएको छ ।
अहिलेको अवस्थामा विदेशबाट कति जना नेपाली श्रमिक स्वदेश फर्किन चाहिरहेका छन् भन्ने कुराको यकिन तथ्यांक बोर्डसँग छैन । तर दैनिक तीन चार सय देखि बढीमा सात सयको हाराहारीमा फर्किने विगतको अवस्थालाई हेर्ने हो भने पनि अब पाँच छ सयको मात्रामा संख्या बढ्दै जाने बोर्डको अनुमान छ । परिस्थिति असहज भएपछि मात्रै उद्धार उडानको प्रक्रियामा लाग्ने बोर्डको भनाइ छ ।
‘अहिले नै उद्धार उडानको बारेमा कुनै निर्णय भइसकेको छैन, तर हामी तयारीमा भने पक्कै छौं’, बोर्डका कार्यकारी निर्देशक राजनप्रसाद श्रेष्ठले भन्नुभयो, ‘ अन्तर्राष्ट्रिय उडान सहज हुने अवस्था सिर्जना भएन र नेपाल फर्किने श्रमिकको संख्या धेरै भयो भने पक्कै पनि उद्धार उडान गर्ने नै छौं ।’
यस्तै वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकलाई कुनै अप्ठ्यारो नहोस् भन्नको लागि बोर्ड एकदमै सजग रहेको निर्देशक श्रेष्ठको भनाइ छ । अहिलेको कोरोना भ्यारियन्टले नेपाली श्रमिक कार्यरत मलेसिया तथा खाडी देशमा भन्दा पनि दक्षिण एसियाली देशमा बढी असर गरेकाले पहिलेको जस्तो उद्धार उडान गर्नुपर्ने अवस्था नरहेको उहाँको भनाइ छ । तर तत्काल कुनै समस्या परेको अवस्थामा भने आफूहरु तयार रहेको पनि बोर्डका निर्देशक श्रेष्ठले बताउनुभयो ।
‘आफूले के सहयोग गर्न सक्छौं भनेर हामीले सम्बन्धित देशका दूतावासहरुमा परराष्ट्र मन्त्रालयमार्फत पत्राचार गरेर ‘अपडेट’ लिने काम गरिरहेका छौं’, उहाँले भन्नुभयो, ‘नियोगहरुबाट जानकारी नआएसम्म यही समस्या छ भनेर यकिन गर्न सक्ने अवस्था त हुँदैन । त्यसैले अहिले त्यहाँको वस्तुस्थिति बुझ्ने काम गरिरहेका छौं ।’