दार्चुलाको छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने

 जेठ ८, २०८१ मंगलबार ७:८:५० | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – दार्चुलाको व्याँस गाउँपालिकामा पर्ने छाङरु र तिङ्करमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने भएको छ । सरकारले आउँदो आइतवार अर्थात् जेठ १३ गतेदेखि पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ अभियान सञ्चालन गर्दैछ । अभियानमा २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका बालबालिकालाई खोप दिने तयारी छ ।

यसअघि खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउन पाउनेछन् । देशभरिका झण्डै १४ लाख ६२ हजार बालबालिकालाई पोलियो रोगविरुद्धको खोप ‘आइपीभी’ लगाइनेछ । तर व्याँस गाउँपालिकाको वडा–१ मा पर्ने दुई गाउँ छाङरु र तिङ्करमा अभियान सञ्चालन नहुने गाउँपालिको स्वास्थ्य शाखाका संयोेजक उमेशसिंह कुँवरले जानकारी दिनुभयो ।

जिल्ला सदरमुकाम खलङ्गामा गर्मी बढेपछि त्यहाँका बासिन्दा कुन्चा सरेका छन् । कुन्चा सरेका छाङरु र तिङ्करगाउँमा पोलियोविरुद्धको खोप अभियान सञ्चालन नहुने संयोजक कुँवरले बताउनुभयो । छाङरु र तिङ्करमा खोप पाउनुपर्ने बालबालिकाको सङ्ख्या शून्य रहेकाले ती गाउँमा खोप अभियान सञ्चालन नहुने भएको हो ।

२०७३ साल वैशाख महिनादेखि २०७५ साल असोज महिनासम्म जन्मिएका बालबालिकाको संख्या शून्य रहेकाले अभियानअन्तर्गत खोप आवश्यक नरहेको गाउँपालिकाले जनाएको छ । लक्षित उमेर समुहका बालबालिका अहिले जिल्ला सदरमुकाम खलङ्गामै रहेकाले त्यहाँका बालबालिकाले जिल्ला सदरमुकाम खलङ्गाबाटै खोप पाउने स्वास्थ्य कार्यालय दार्चुलाका खोप सुपरभाइजर विरेन्द्र भट्टले जानकारी दिनुभएको छ ।

अपि हिमाल गाउँपालिकामा भने खोप लगाउने तयारी छ । यार्सागुम्बा खोज्न लेकगएका विद्यार्थीलाई ल्याएर विद्यालय र स्वास्थ्य संस्थाबाट खोप दिने तयारी भएको अपि हिमाल गाउँपालिकाको स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले जानकारी दिनुभयो । अपि हिमाल गाउँपालिकामा तीन सय ३३ जना बालबालिकाले खोप लगाउनेछन् ।

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया