टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनले हरायो

 जेठ २६, २०८१ शनिबार ८:५३:२४ | एजेन्सी
unn.prixa.net

तस्बिर : एजेन्सी

आईसीसी टी–२० विश्वकप क्रिकेटमा अफगानिस्तानले न्युजिल्यान्डलाई ८४ रनको फराकिलो अन्तरले हराएको छ । टी–२० विश्वकपमा अफगानिस्तानले न्युजिल्याण्डलाई हराएको यो पहिलो पटक हो ।

आज बिहान गुयानाको प्रोभिडेन्स मैदानमा भएको खेलमा जितका लागि एक सय ६० रनको लक्ष्य पछ्याएको न्युजिल्यान्ड १५ ओभर २ बलमा ७५ रनमा अलआउट भयो । न्युजिल्याण्डका ग्लेन फिलिप्सले १८ तथा म्याट हेनरीले १२ रन बनाउनुबाहेक अरु खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । अफगानिस्तानका राशिद खान र फारुकीले समान चार विकेट लिए ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै एक सय ५९ रन बनाएको थियो । उसका रहमानउल्लाह गुरबाजले सर्वाधिक ८० रन बनाए । इब्राहिम जद्रान ४४ रनमा आउट भए । न्युजिल्यान्डका म्याट हेनरी र ट्रेन्ट बोल्टले समान दुई तथा लोकी फर्गुसनले एक विकेट लिए । अफगानिस्तान र न्युजिल्यान्ड समूह ‘सी’ मा छन् ।

अफगानिस्तानले आफ्नो पहिलो खेलमा युगान्डालाई एक सय २५ रनले हराएको थियो । आज पहिलो खेल खेलको न्युजिल्यान्ड पराजित भएको हो । यो समूहमा वेस्टइन्डिज, युगान्डा र पपुवा न्यु गिनी (पीएनजी) पनि रहेका छन् ।

अहिले भइरहेको अर्को खेलमा समूह ‘डी’ का बंङ्ग्लादेश र श्रीलङ्का खेलिरहेका छन् । श्रीलङ्काले बङग्लादेशलाई जितका लागि एक सय २५ रनको लक्ष्य दिएको छ । बङग्लादेशको यो विश्वकपमा पहिलो खेल हो । पहिलो खेलमा श्रीलङ्का दक्षिण अफ्रिकासँग ६ विकेटले पराजित भएको थियो । समूह ‘डी’ मा नेपालसहित दक्षिण अफ्रिका र नेदरल्यान्डस् पनि रहेका छन् ।

आज बेलुका नेदरल्यान्डस् र दक्षिण अफ्रिका तथा समूह ‘बी’ का अस्ट्रेलिया र इंग्ल्यान्डबिच खेल हुनेछ । इंग्ल्यान्ड टी–२० विश्वकपको साविक विजेता टोली हो ।

अन्तिम अपडेट: माघ १२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया