विश्व बैंकको नेपालसम्बन्धी पछिल्लो प्रतिवेदनप्रति परराष्ट्रमन्त्री ज्ञवालीकाे आपत्ति

 मंसिर ७, २०७५ शुक्रबार १७:२३:४० | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडाैं - परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीले विश्व बैंकको नेपालसम्बन्धी पछिल्लो प्रतिवेदनप्रति आपत्ति जनाउनु भएको छ । 

परराष्ट्रमन्त्री ज्ञवालीले नेपालको ‘डुइङ बिजनेस’ कमजोर हुँदै गएको दावीसहितको विश्व बैंकको प्रतिवेदनप्रति आपत्ति जनाउनु भएको हो । जापानको साताव्यापी भ्रमणपछि शुक्रबार स्वदेश फर्कनु भएका उहाँले त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा संचारकर्मीमाझ नेपालसम्बन्धी विश्व बैंकको सो प्रतिवेदन यथार्थपरक नरहेको उल्लेख गर्दै त्यस सम्बन्धमा नेपाल सरकारले विश्व बैंकको ध्यानाकर्षण गराएको पनि स्पष्ट पार्नु भयो ।

उहाँले नेपाल व्यापार र लगानीको दृष्टिले गत वर्षभन्दा नीतिगत, कानुनी प्रबन्ध, संरचनालगायतका सबै दृष्टिले सुधारोन्मुख रहेको दावीसमेत गर्नुभयो ।

विश्व बैंकले केही दिनअघि सार्वजनिक गरेको प्रतिवेदन अनुसार नेपाल ‘डुइङ विजनेस’मा १ सय १० औंं स्थानमा छ । अघिल्लो वर्ष १ सय ५ औं स्थानमा थियो । सोही प्रतिवेदन यथार्थपरक नभएको भन्दै अर्थमन्त्री डा. युवराज खतिवडाले पनि असन्तुष्टि जनाई सक्नु भएको छ ।

मन्त्री ज्ञवालीले आफ्नो जापान भ्रमण सफल रहेको दावीसमेत गर्नुभयो । उहाँले आफ्नो जापान भ्रमणबाट दुई देशबीचको सम्बन्ध अझ उचाईमा पुर्‍याउन योगदान पुग्ने विश्वास समेत व्यक्त गर्नु भयो ।

जापानका परराष्ट्रमन्त्री तारो कोनोको निमन्त्रणामा मन्त्री ज्ञवाली गत मंसीर १ गते नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै जापान जानु भएको थियो । त्यस अवसरमा जापानले नेपालको खाद्य सहायता कार्यक्रमका लागि ३ सय ५० मिलिनियम जापानी यान बराबारको अनुदान सहायता उपलब्ध गराउने सम्झदारी पत्रमा पनि हस्ताक्षर भएको छ ।

मन्त्री ज्ञवालीले जापानी समकक्षी कोनोले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको पनि जानकारी दिनु भयो ।

मन्त्री ज्ञवालीले जापानबाट फर्कने क्रममा बिहिबार थाईल्याण्डस्थित नेपाली दुतावासको निरीक्षण र त्यहाँस्थित नेपाली समुदायसँग अन्तरक्रिया पनि गर्नु भएको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

अन्तिम अपडेट: माघ २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया