थामे हिमताल विस्फोट हुनुमा भूक्षय-भूपरिवर्तन मुख्य कारण : जल तथा मौसम विज्ञान विभाग

 भदौ ८, २०८१ शनिबार १०:३१:५२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ  – सोलुखुम्बुको थामेमा बाढी आउने गरी हिमताल विस्फोट हुनुको कारण भूक्षय र भूपरिवर्तन रहेको जल तथा मौसम विज्ञान विभागले निष्कर्ष निकालेको छ ।

विभागले हिमताल विस्फोटबारेमा विस्तृत अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै विस्फोट भएको हिमताल २ भन्दा माथिल्लो क्षेत्रमा जमिनको सतह अर्थात ग्राउन्ड सर्फेमा आएको भूक्षय र भूपरिवर्तन अर्थात कम्पाउन्ड क्यासकेडिङ इफेक्टले हिमताल विस्फोट भई तटीय क्षेत्रमा बाढी आएको जनाएको हो ।

गएको साउन ३२ गते खुम्बु पासाङ ल्हामु गाउँपालिका वडा नम्बर ५ मा हिमताल विस्फोट भएर थामे खोलामा बाढी आउँदा थामे बस्तीसहित दुधकोशी तटीय क्षेत्रमा समेत क्षति पुगेको थियो । थामे खोलाको शिरमा पाँचवटा ताल देखिन्छन् । तर विस्फोटअघि ती पाँचैवटा तालबारे खासै चर्चा भएको थिएन ।

सन् २०१५ मा अन्तर्राष्ट्रिय पर्वतीय विकास केन्द्र (इसिमोड) ले हिमतालहरूको विवरण प्रकाशित गर्दा थामे जलाधार क्षेत्रमा रहेका हिमतालहरु १, २, ३, ४, ५ मध्ये, २, ३ र ४ मात्रै देखिएको विभागले जनाएको छ । १ र ५ गरी दुईवटा ताल अभिलेखमा नदेखिए पनि त्यतिबेलाका स्याटेलाइट तस्बिरहरूमा भने देख्न सकिने विभागले जनाएको छ ।

विभागको अनुरोधमा अर्थ अब्जरभेटर सिङ्गापुरले पनि स्याटेलाइट तस्बिरको विश्लेषण गरेको छ । अर्थ अब्जरभेटर सिङ्गापुरले पनि माथिल्लो हिमताल १ को प्राकृतिक बाँध भन्दा तलबाट हिमताल २ सम्मको क्षेत्रमा उल्लेख्य भूहलचल आएको देखिएको विभागले बताएको छ ।

विश्लेषणमा हिमताल १ भन्दा माथिल्लो क्षेत्रको पूर्ण जानकारी प्राप्त हुन नसकेको विभागले जनाएको छ । विभागको अनुरोधमा सेन्टिनियल एशिया र जापानको यामागुची विश्वविद्यालयबाट थामे शिरका पाँच हिमतालहरूको पानीको क्षेत्रफल बढे-नबढेकोबारे अध्ययन गरेको पनि प्रतिवेदनमा उल्लेख छ ।

पाँच तालहरूको पानीको क्षेत्रफलको विश्लेषण गर्दा चार वटामा परिवर्तन नदेखिएको, हिमताल २ विस्फोट भइ पानीको क्षेत्रफल झण्डै ७५ प्रतिशत घटेको देखिएको विभागले जनाएको छ । विस्फोट भएको भनिएको अर्को ताल हिमताल १ को आकारमा भने उल्लेख्य परिवर्तन आएको देखिएको छैन ।

विभागले हिमताल विस्फोट आसपास वर्षा र तापक्रममा उल्लेख्य वृद्धि भएको सङ्केत गरेको छ । विभागले साउन २५ देखि साउन ३१ सम्म सोलुखुम्बुको स्याङबोचेमा ८१ मिलिमिटर र फोर्त्से केन्द्र ६५ मिलिमिटर वर्षा मापन भएको तथा साउन २९ गते स्याङबोचेमा ३१ मिलिमिटर र फोर्त्से  केन्द्रमा झण्डै १८ मिलिमिटर वर्षा मापन भएको उल्लेख गरेको छ ।

यस्तै स्याङबोचेमा साउन ३० मा अधिकतम तापक्रम १६ डिग्री सेन्टिग्रेड र फोर्त्सेमा साउन ३१ म अधिकतम १५ दशमलव ९ डिग्री सेन्टिग्रेड पुगेको देखिएको विभागले जनाएको छ ।

तापक्रम र बर्षाले हिमपहिरोले गर्दा हिमताल १ को पानी ओभरफ्लो भइ हिमताल विस्फोट भएको हुन सक्ने विभागले जनाएको छ । हिमताल विस्फोटबाट थामेबाट ८२ किलोमिटर तलसम्म नदीको जलसतह बढेको विभागले उल्लेख गरेको छ ।  

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया