एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षा नतिजाकाे त्रुटि सच्याउन सरकारलाई निर्देशन

 भदौ १९, २०८१ बुधबार १८:६:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – चिकित्सा शिक्षा आयोगले सार्वजनिक गरेको एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि तत्काल सच्याउन संसदीय समितिले सरकारलाई निर्देशन दिएको छ ।

प्रतिनिधिसभा अन्तर्गत शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको आजकाे बैठकले प्रवेश परीक्षाको नतिजामा चिकित्सा शिक्षा आयोगले गम्भीर त्रुटि गरेको निष्कर्ष निकाल्दै सच्याउन सरकारलाई निर्देशन दिएको हो ।

परीक्षाको नतिजामा एउटा विद्यार्थीको प्राप्ताङ्क अर्कै विद्यार्थीको नाममा आउने जस्तो गम्भीर त्रुटि आयोगबाट भएपछि त्यसलाई तत्काल सच्याउनका लागि शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई निर्देशन दिइएको समितिका सभापति अम्मरबहादुर थापाले जानकारी दिनुभयो । समितिले तत्काल छानबिन समिति गठन गरी १० दिनभित्र प्रतिवेदन समितिमा पेश गर्न पनि सरकारलाई सचेत गराएको छ ।

बैठकमा समितिका सदस्यहरूले चिकित्सा शिक्षा आयोगले विद्यार्थीको भविष्य नै डामाडोल हुने गरी परीक्षाको नतिजा सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । यस्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले पनि आयोगले गम्भीर त्रुटि गरेको भन्दै त्यसलाई छानबिन गरेर अघि बढ्ने प्रतिबद्धता समितिमा व्यक्त गर्नुभएको थियो ।

अन्तिम अपडेट: पुस १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया