बीपी राजमार्गको वैकल्पिक सडक अझै खुल्न सकेन

 असोज २०, २०८१ आइतबार ८:४३:३८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – बीपी राजमार्ग अन्तर्गत पर्ने वैकल्पिक मार्ग अहिलेसम्म पूर्ण रूपमा शुरु भएको छैन ।

मंगलटारबाट रोशी खोला पार गरी तेमाल गाउँपालिका–७ कल्धार, मेटोल, कुरुबास, काङलिङ, पोखरी नारायणस्थान, कानपुर, भकुन्डे हुँदै धुलिखेलतर्फको लागि वैकल्पिक मार्ग शुरु गर्न निरन्तर प्रयास भइरहेको तर अहिलेसम्म सञ्चालन नभएको ट्राफिक काभ्रेपलान्चोक जिल्ला समन्वय समितिले सूचना निकालेर जानकारी दिएको छ ।

मंगलटारबाट सिन्धुलीको सिमानासम्मको झण्डै ७ किलोमिटर बाटो सञ्चालन गर्न प्रयास भइरहेको र वैकल्पिक रुट खुल्न साथ जानकारी गराइने सूचनामा उल्लेख छ । बीपी राजमार्ग पूर्ण रूपमा बन्द नै छ  । यस्तै हेटौँडा–कुलेखानी–फाखेल–हुमाने सडक आज दिउँसोसम्म खुलाउने तयारी छ ।

अविरल वर्षापछि आएको बाढीपहिरोले विभिन्न ठाउँमा क्षति पुर्‍याएपछि अवरुद्ध रहेको हेटौँडा–कुलेखानी–फाखेल–हुमाने हुँदै काठमाण्डौ जोड्ने सडक आज खुलाएर सञ्चालनमा ल्याउने गरी काम भइरहेको यातायात पूर्वाधार निर्देशनालय बाग्मती प्रदेशका निर्देशक पुष्करप्रसाद पोखरेलले जानकारी दिनुभयो ।

फाखेल सडकखण्डमा भएका अवरोध पन्छाउने क्रम अन्तिम चरणमा छ । त्यस्तै कुलेखानी सिस्नेरीतर्फको सडक सञ्चालनका लागि भोलि सोमवारसम्म लाग्ने आँकलन गरिएको छ । सङ्घीय राजधानी काठमाण्डौ जोड्ने पृथ्वी राजमार्ग र त्रिभुवन राजपथ नियमित सञ्चालनमा छन् ।

दशैँको मुख्य दिन नजिकिए पनि मुख्य बसपार्क काठमाण्डौको गोंगबुमा अघिल्ला वर्ष जस्तो चहलपहल बढ्न सकेको छैन । अघिल्लो हप्ताको बाढीपहिरोले मुख्य राजमार्ग तथा सहायक सडक निक्कै प्रभावित भएपछि दशैँ मनाउन घर जानेहरु अन्योलमा छन् ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका डीएसपी रविन कार्कीका अनुसार घटस्थापनायताको तीन दिनमा झण्डै ९० हजार जना यात्रुले सडकमार्गबाट काठमाण्डौ उपत्यका छोडेका छन् । विगतका वर्षमा यो सङ्ख्या दैनिक ५०/६० हजारदेखि एक लाखसम्म हुने गरेकाे उहाँकाे भनाइ छ ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका अध्यक्ष विजय स्वाँरले सडकको अवस्थाकै कारण यसपाली यात्रुमा दशैँको उत्साह नभएको बताउनुभयो । 
 

अन्तिम अपडेट: पुस २६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया