दशैँ मनाउन गाउँघर जानेहरूले लामो दूरीका गाडी र हवाई टिकट पाउन मुश्किल

 असोज २१, २०८१ सोमबार १२:५१:४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – दशैँ मनाउन जन्मस्थान जान काठमाण्डौ उपत्यका छाड्नेको सङ्ख्या दिनहुँ बढिरहेको छ । तर अहिले लामो दूरीका सार्वजनिक गाडी तथा हवाई टिकट पाउन मुश्किल हुन थालेको छ ।

दशैँकाे यही असोज १४ गतेदेखि हिजोसम्म सात दिनको अवधिमा तीन लाख ६३ हजार एक सय ६४ जनाले काठमाण्डौ उपत्यका छाडेका काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रमुख एवम् प्रहरी नायब महानिरीक्षक भरतबहादुर बोहराले जानकारी दिनुभयो ।

उहाँका अनुसार अस्ति शनिवार बेलुकी ६ बजेदेखि आइतवार बिहानसम्म मात्रै १६ हजार चार सय ६५ जना काठमाण्डौबाट बाहिरिएका छन् । दशैँका लागि काठमाण्डौ उपत्यका छाड्नेका कारण अहिले नाका तथा राजमार्गहरूमा गाडीको जाम लाग्ने गरेको छ ।

कतिपय ठाउँहरूमा सडक भत्किने तथा भासिने गरेका कारण गाडी चलाउन तथा यात्रुहरूलाई निकै सास्ती हुने गरेको गाडी चालक बताउँछन् । बस तथा जहाजको टिकट पाउनै मुश्किल भएका कारण धेरैजसाे नागरिक दशैँको समयमा पनि घर जान नपाएर काठमाण्डौ उपत्यकामै रोकिन बाध्य भएका छन् ।

काठमाण्डौ बसपार्कबाट सुदूरपश्चिम जान हिँडेका कैलालीका लोकेश सिंहले गाडी नपाएर समस्या भएको बताउनुभयो । कतिपय लामो दूरीका यात्रुहरू टिकट नपाए पनि बसका बोनट तथा मुडामा बसेर भए पनि यात्रा गर्न बाध्य भएका काठमाण्डौबाट अछाम जानका लागि काठमाण्डौको गोङ्गबु बसपार्कमा भेटिएका दीपकबहादुर खत्रीले बताउनुभयो ।

अन्तिम अपडेट: पुस ९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया