तिहारको किनमेलका कारण काठमाण्डौ उपत्यकाका बजारमा उपभोक्ताको भीड

 कात्तिक १५, २०८१ बिहीबार ९:४७:२६ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – तिहारको किनमेलका कारण काठमाण्डौ उपत्यकाका बजारमा उपभोक्ताको भीड लागेको छ । आज विशेषगरी फूलमाला, पूजाका सामग्री र उपहारको किनमेल भइरहेको छ । अहिले काठमाण्डौका बजार र चोक सयपत्री र मखमली मालाले सुसज्जित भएको छ । लक्ष्मीपूजा गर्न, घर सजाउन र भाइटीकाका लागि मालाको प्रयोग धेरै हुने गर्छ । सडक पेटीदेखि डिपार्टमेन्ट स्टोरसम्म माला राखिएका छन् ।

काठमाण्डौ उपत्यका नजिकका जिल्लामा उत्पादित फूल किसान आफैंले काठमाण्डौको बजारमा ल्याएका फ्लोरिकल्चर एसोसिएन नेपाल (फ्यान) ले जनाएको छ । फ्यानका निवर्तमान अध्यक्ष मीनबहादुर तामाङका अनुसार देश भारतबाट आयात हुने मालाको प्रतिबन्ध लगाएकाले यसपालि स्वदेशी फूलले उचित मूल्य पाउने उहाँले जानकारी दिनुभयो । यो वर्ष मालाको मूल्य गत वर्षकै हाराहारीमा रहेको उहाँको भनाइ छ ।

बजारमा सयपत्री माला एक सयदेखि एक सय ५० र मखमली मालाको मूल्य ५० देखि ६० रुपैयाँमा बिक्री हुने गरेको छ । यसपालि तिहारमा सयपत्री माला ४० लाख वटा, चार लाख ७५ हजार वटा मखमली र बाँकी गोदावरी मालाको खपत हुने अनुमान गरिएको उहाँले जानकारी दिनुभयो । तिहारमा सबैभन्दा धेरै सयपत्री मालाको खपत हुने गर्छ ।

काठमाण्डौ, ललितपुर, भक्तपुर, धादिङ, नुवाकोट, सिन्धुली, काभ्रे, रामेछाप, ओखलढुङ्गालगायतका जिल्लाबाट काठमाण्डौ उपत्यकामा फूल तथा माला भित्रिने गरेको छ । यसैबीच काठमाण्डौ महानगरपालिकाले स्वदेशमा उत्पादन भएका फूलको बिक्री/वितरणलाई व्यवस्थित गर्न महानगरपालिका क्षेत्रभित्रका ४६ वटा ठाउँमा बिक्री÷वितरणको व्यवस्थापन गरेको छ ।

प्लास्टिकजन्य फूल तथा सजावटका सामग्री बिक्री/वितरणमा रोक लगाउँदै महानगरले स्वदेशमा उत्पादन भएका फूलको व्यापारलाई प्रवर्द्धन गर्न यस्तो व्यवस्था गरेको जनाएको छ । गएको वर्ष पनि महानगरपालिकाले प्रदर्शनीमार्गको भृकुटीमण्डप, तीनकुने चउर, हाँडीगाउँ र बालाजु विष्णुमती करिडोरमा फूल बिक्री गर्ने ठाउँ मिलाएको थियो । त्यस्तै व्यापारीलाई प्लास्टिकजन्य फूल तथा अन्य सजावटका सामग्री बिक्री/वितरण नगर्न महानगरले अनुरोध गरेको छ । 

अन्तिम अपडेट: पुस ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया