अस्वाभाविक रूपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिक मारमा

३०/३५ हजारमा पाइने हवाई टिकटलाई अहिले एक लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था

 कात्तिक २७, २०८१ मंगलबार १५:२३:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाल वैदेशिक रोजगार व्यवसायी महासङ्घका अध्यक्ष राजेन्द्र भण्डारीले अस्वाभाविक रूपमा हवाई भाडा वृद्धि हुँदा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका बताउनुभएको छ ।

अध्यक्ष भण्डारीले ट्राभल एजेन्सीहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल विस्तारका लागि १० घण्टा बन्द गरेर उडान कटौती भएको मौकामा हवाई भाडा वृद्धि गर्दा वैदेशिक रोजगारीमा जाने श्रमिकहरू मारमा परेका बताउनुभएको हो । अस्वाभाविक रूपमा वृद्धि भएको हवाई भाडा सरकारले तत्काल नियन्त्रण गरी पुरानै भाडादर कायम गराउन उहाँले माग गर्नुभयो ।

अध्यक्ष भण्डारीले कार्टेलिङ गरेर तीन सय प्रतिशतसम्म हवाई भाडा वृद्धि भएको दाबी गर्नुभयो । सामान्य समयमा ३०/३५ हजारमा पाइने हवाई टिकट अहिले एक लाख रुपैयाँसम्म तिर्नुपर्ने अवस्था आएको उहाँले उल्लेख गर्नुभयो । त्रिभुवन विमानस्थलमा उडान कटौती हुँदा टिकट नपाउने समस्या भोगिरहेका श्रमिकहरूले भाडा महँगीका कारण अझ समस्यमा परेका उहाँकाे भनाइ छ ।

वैदेशिक रोजगारीमा जाने श्रमिकहरू हवाई भाडा वृद्धि र टिकट नपाउँदा अफ्ठ्यारो अवस्थामा छन् । अध्यक्ष भण्डारीले नेपालबाट दैनिक १२ सयदेखि १५ सय र बिदामा आएर फर्किने पाँच सय गरी दैनिक दुई हजार जना विदेश जाने गरेका बताउनुभयो ।

अहिले नेपालमा पर्यटन आगमन वृद्धि हुने सिजन भएको हुँदा हवाई टिकट पाउन मुश्किल रहेको छ । हवाई भाडा वृद्धि र टिकट नपाएपछि तेस्रो देशबाट मानिसहरू विदेश जाने खतरा बढेको भण्डारीले बताउनुभयो । अचाक्ली रूपमा वृद्धि भइरहेको भाडाबारे पर्यटन मन्त्रालय र सरोकारवाला निकायले अनुगमन र नियन्त्रण गर्नुपर्ने उहाँको माग छ ।

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया