काटिएको झण्डै तीन हप्तापछि धेरैजसो उद्योगमा बिजुलीको लाइन जोडियो

 कात्तिक २८, २०८१ बुधबार ९:५:२५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – काटिएको झण्डै तीन हप्तापछि धेरैजसो उद्योगमा बिजुलीको लाइन जोडिएको छ । नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले हिजो उद्योगमा काटिएको लाइन जोड्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिएको थियो ।

त्यसअघि गएको आइतवार बसेको मन्त्रीपरिषद् बैठकले डेडिकेटेड र ट्रङ्क लाइन महसुल विवादको समाधान निकाल्न लाल आयोगको प्रतिवेदनको सिफारिशअनुसार महसुल निर्धारण गरी १५ दिनभित्र असुल गर्ने गरी उद्योगमा काटिएको लाइन जोड्न ऊर्जा मन्त्रालयलाई निर्देशन दिएको थियो ।

प्राधिकरणको ग्राहक सेवा निर्देशनालयका अनुसार आज बिहानसम्म धेरैजसो उद्योगमा लाइन जोडिएको छ । बक्यौता रकम नतिरेको भन्दै नेपाल विद्युत् प्राधिकरणले गएको असोज २४ गते ४९ उद्योगको सूची र रकमसहित १५ दिने म्यादसहितको सूचना जारी गरेको थियो ।

त्यस अनुसार कात्तिक ८ गते ३४ उद्योगको विद्युत काटिएको थियो । बिजुली काटिएकामध्ये छ उद्योगले यसबीचमा बक्यौता रकमको पहिलो किस्ता तिरेपछि जोडिएको थियो ।

यसैबीच ट्रङ्क तथा डेडिकेटेड लाइनको महसुल विवादबारे सरकारले गरेको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट दर्ता भएको छ । बक्यौता रकम असुलउपर नगरी लाइन जोड्ने निर्णय भएको भन्दै हिजो अदालतमा रिट दर्ता भएको हो । अधिवक्ता खडानन्द कँडेलले रिट दर्ता गर्नुभएको हो । रिटको पेसी आजका लागि तोकिएको छ ।
 

अन्तिम अपडेट: पुस २३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया