तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन हुँदै

 पुष ३, २०८१ बुधबार १०:३:४८ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – पर्सि शुक्रवारदेखि तेस्रो अन्तर्राष्ट्रिय गुणस्तरीय शिक्षा सम्मेलन शुरू हुँदैछ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र रातो बङ्गला फाउण्डेसनको संयुक्त आयोजनामा यही डिसेम्बर २०, २१ र २२ अर्थात  पुस ५, ६ र ७ गते हुने सम्मेलनमा समग्र नेपालको शिक्षा क्षेत्रको मार्गदर्शन तथा गुणस्तर अभिवृद्धिका लागि गर्न सकिने प्रयासका बारेमा छलफल हुनेछ ।

सन् २००३ देखि नै शुरु भएको सम्मेलन औपचारिक रुपमा यसअघि पहिलो सम्मेलन सन् २०१३ र दोस्रो सन् २०१९ मा भएको थियो ।

पूर्व प्राथमिक तहका कक्षाहरुदेखि नै गुणस्तरीय शिक्षा उपलब्ध गराई संयुक्त राष्ट्र सङ्घको दीगो विकासको लक्ष्य–४ मा रहेको गुणस्तरीय शिक्षा र नेपालमा विद्यालय क्षेत्र सुधार योजना अन्तर्गत काम गर्ने लक्ष्यसहित सम्मेलन आयोजना गर्न लागिएको फाउण्डेसनकी अध्यक्ष शान्ता दीक्षितले बताउनुभयो ।

बाल केन्द्रित सिकाइको सुनिश्चितता गरेमा दीर्घकालीन र सार्थक सिकाइ हुने उद्देश्यसहित मन्त्रालयसँगको समन्वयमा सम्मेलन आयोजना गर्न लागेको उहाँको भनाइ छ ।

शिक्षा क्षेत्रका सात जना अन्तर्राष्ट्रियस्तरका विदेशी विज्ञसहित झण्डै पाँच सय जना शिक्षाकर्मीको सभागितामा हुने सम्मेलनमा गुणस्तरीय शिक्षाका लागि अन्तर्राष्ट्रिय स्तरमा भएका अभ्यासहरुबारे छलफल गरी नेपाल सुहाउँदो शिक्षण र सिकाई विधिमा जोड दिइने छ । आउने दिनमा देशका सातवटै प्रदेशमा सम्मेलन आयोजना गर्ने लक्ष्य रहेको अध्यक्ष दीक्षितले बताउनुभयो ।

सम्मेलनबारे जानकारी दिन ललितपुरमा आयोजित कार्यक्रममा राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष महाश्रम शर्माले गुणस्तरीय शिक्षाकालागि नीति निर्माण र सरोकारवालाहरुको ध्यानाकर्षणका लागि सम्मेलन उपलब्धिमूलक हुने बताउनुभयो ।

कार्यक्रममा शिक्षा मन्त्रालयका उपसचिव रामप्रसाद शर्माले नेपालमा शिक्षा क्षेत्रमा भएका कमीकमजोरीको निवारण गरेर कक्षामा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न र नेपालको भावी शिक्षा प्रणालीलाई एउटा सकारात्मक मोड दिन सम्मेलनले भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभएको छ ।

सम्मेलनमा शैक्षिक नेतृत्व र सुशासन, समावेशीकरण र सामाजिक, भावनात्मक विकास, जलवायु परिवर्तन र शिक्षा, प्रविधि र नवप्रवर्तन, पूर्वप्राथमिक शिक्षा, पढाइ र सिकाइ विषयमा छलफल हुने छ ।
 

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया