चिसो सिरेटो र हुस्सुले तराईको जनजीवन कष्टकर

 पुष १९, २०८१ शुक्रबार ८:३२:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

तस्बिर : रासस

काठमाण्डौ – चिसो सिरेटो र बाक्लो हुस्सुका कारण तराईको जनजीवन कष्टकर बनेको छ । मधेश प्रदेशका सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा र पर्साका धेरै ठाउँमा केही दिनदेखि दिनभर हुस्सु लाग्ने र सिरेटो चल्न थालेको छ ।

हुस्सु र सिरेटोसँगै बढेको चिसोले बजार तथा कार्यालयहरुमा चहलपहल घटेको छ । अस्पतालहरुमा रुघाखोकी, ज्वरो, कोल्ड डायरियाका बिरामी बढेका छन् । नागरिकलाई चिसोबाट बचाउन प्रदेश र पालिका सरकारले प्रभावकारी काम गर्न नसकेको पीडितको गुनासो छ । तर मधेश प्रदेश सरकारले राहत पठाउने र जनचेतना बढाउने काम भइरहेको दाबी गरेको छ ।

प्रदेशको गृह, सञ्चार तथा कानुन मन्त्रालयका प्रवक्ता दीपेन्द्र कुमार यादवले सबै जिल्लामा कम्बल पठाएको जानकारी दिनुभयो । नेपाली सेनामार्फत सबै जिल्लाहरुमा कम्बल पठाइएको र सम्बन्धित जिल्लाका विपद् व्यवस्थापन कार्यालयले पालिकासँग समन्वय गरेर वितरण गर्ने उहाँको भनाइ छ ।

चिसोबाट बच्न अपनाउनुपर्ने सावधानीबारे चेतनामुलक कार्यक्रम पनि सञ्चालन गर्ने तयारी भइरहेको उहाँले उज्यालोलाई जानकारी दिनुभयो ।

यो हप्ताको शुरूदेखि नै तराईका धेरै ठाउँमा बाक्लो हुस्सुसँगै सिरेटो चल्न थालेको हो । तराईका धेरै ठाउँ र पहाडका उपत्यका तथा बेँसी क्षेत्रमा आज पनि हुस्सु र कुहिरो लागेको छ ।

पहाडी क्षेत्रमा बिहानपख लागेको कुहिरो दिउँसोपछि हटे पनि तराईमा दिनभरजसो हुस्सु लाग्ने गरेको छ । अझै केही दिन तराईको मौसम यस्तै रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । 

अन्तिम अपडेट: पुस २१, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया