च्याम्पियन्स लिगमा पीएसजी र म्यानचेस्टर सिटीबीचकाे खेल राति पा...
माघ ९, २०८१ बुधबार
तनहुँ – निर्माणाधीन १४० मेगावाटको तनहुँ जलविद्युत् आयोजनाले प्राकृतिक कुचिकारका रूपमा चिनिने गिद्ध संरक्षणका लागि ‘गिद्ध आरामस्थल’ निर्माण गरेको छ ।
वन्यजन्तु संरक्षण तथा जनचेतना योजनाअन्तर्गत आयोजनाका कारण लोपोन्मुख गिद्धको बासस्थान प्रभावित हुन नदिन व्यास नगरपालिका–१० दुम्सी भतेरीमा रहेकाे गौ संरक्षण केन्द्र परिसरमा गिद्ध आरामस्थल निर्माण गरिएको आयोजनाका प्रमुख श्यामजी भण्डारीले जानकारी दिनुभयो ।
आयोजनाले केन्द्रको परिसरमा स्थानीय स्रोत र साधनको प्रयोग गरी पाँच वटा टेलिस्कोपिक खम्बा जडान गरेको छ । हरेक खम्बामा गिद्धलाई बस्नका लागि फलामको आर्म राखिएको छ । फलामको आर्मका कारण गिद्धलाई कुनै नकारात्मक असर पर्न नदिई सुरक्षित बनाउन आर्मलाई काठले ढाकिएको छ । खम्बाको टुप्पोमा काठको ढकनी लगाइएको छ । त्यसमा गिद्ध सुरक्षित रूपमा बस्न सक्नेछन् । आहाराका लागि आउने र खाएपछि गिद्धलाई आराम गर्नका खम्बा जडान गरिएका हुन् ।
नगरपालिकाको सक्रियतामा दमौली बजारभन्दा झन्डै ६ किलोमिटर दूरीमा रहेको मादी नदी किनारमा गौ संरक्षण केन्द्र सञ्चालित छ । झन्डै २०० रोपनी जग्गामा सञ्चालित केन्द्रमा नगरपालिका क्षेत्रमा बेवारिसे अवस्थामा रहेका र बूढा भएका गाईगोरु ल्याउने गरिएको छ । गाईगोरु मरेमा त्यहीँ रहेको खाल्डोमा राखिने भएकाले आहाराका लागि गिद्ध त्यहाँ आउने गरेका छन् । शिकारी चरा समूहअन्तर्गत ठूला मांसाहारी पक्षी गिद्धले आफैं शिकार नगरी मरेका जनावरको मासु अर्थात् सिनो मात्र खान्छन् ।
गिद्धलाई यसअघि संरक्षण केन्द्रमा असुरक्षित रूपमा आहारा लिनुपर्ने बाध्यता थियो । याे ठाउँबाट ३३ केभी प्रसारण लाइन गएका कारण आहाराका लागि आउने र आहारापछि उड्ने गिद्ध ती लाइनमा ठोकिएर मर्ने गरेका थिए ।
प्रसारण लाइनमा ठोकिएर गिद्धलाई मर्न नदिन आयोजनाले मरेका गाईवस्तु फाल्ने खाल्डोको ठाउँ परिवर्तन गरी त्यस नजिक खम्बा जडान गरी आरामस्थल निर्माण गरेको हो । यसबाट गिद्ध संरक्षण गर्न जनचेतना अभिवृद्धि र वासस्थान संरक्षण भई गिद्ध सुरक्षित क्षेत्रका रूपमा विकास गर्न सहयोग पुग्ने भण्डारीको भनाइ छ ।
साथै आयोजनाले निर्माण गर्ने बाँधका कारण सेती नदीको प्राकृतिक बहावमा अवरोध उत्पन्न भई मुख्य रूपमा त्यहाँ पाइने रैथाने असला तथा शहर प्रजातिका माछाको जीवन जोखिमा पर्ने र त्यसको संरक्षणका लागि सेती तथा मादी नदीको सङ्गमस्थलबाट झन्डै ४५ किलोमिटर मादीको माथिल्लो तटीय क्षेत्रमा मत्स्य संरक्षण योजना कार्यान्वयनमा ल्याइएको छ ।
व्यासका वडा नम्बर ३, ४, ५, ६, ७ तथा १०, मध्य नेपालका ४, ५, ६, ७ तथा ८ नम्बर वडा, रूपा गाउँपालिकाका १, ३ तथा ७ नम्बर वडा र मादी गाउँपालिकाका ४, ५, ९, १०, ११ तथा १२ नम्बर वडालाई प्रभावित क्षेत्र मानिएको छ । तीन प्याकेजमा विभाजन गरी निर्माण भइरहेको आयोजनाको समग्र भौतिक प्रगति ६४ प्रतिशत रहेको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।