वनजङ्गलका झिजामिजा र पत्करको समयमै व्यवस्थापन गर्न नसके डढेलो बढ्ने चिन्ता

 माघ १९, २०८१ शनिबार ९:३२:६ | रासस
unn.prixa.net

काठमाण्डौ – वनजङ्गलभित्र सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ जम्मा हुँदै जाँदा सुक्खा मौसममा डढेलोका घटना बढ्न सक्ने चुनौती देखिएको छ । त्यस्ता पदार्थको समयमै व्यवस्थापन र सदुपयोग गर्न नसके डढेलोले भयावह रुप लिन सक्ने विज्ञहरुको चिन्ता छ ।

वन तथा वातावरण मन्त्रालयले हिजो गरेको अन्तरक्रियामा उनीहरुले समयमै वन व्यवस्थापन गरी काठ दाउरा सङ्कलनलाई थप प्रभावकारी बनाउन तथा गाउँ बस्ती किनारका ज्वलनशील पदार्थ व्यवस्थापन गर्न सुझाव दिएका छन् ।

निजी क्षेत्रलाई जिम्मेवारी दिएर, बायो बिक्रेट बनाएर, स्थानीय समुदाय र विद्यार्थीलाई परिचालन गरेर भए पनि त्यस्ता ज्वलनशील पदार्थ हटाउन अभियान चलाउनुपर्नेमा विज्ञको जोड छ ।

मन्त्रालयको वन तथा जलाधार महाशाखाका प्रमुख सहसचिव दिपक ज्ञवालीले वनमा सुकेका झिजामिजा, पत्कर र झाडीलगायत ज्वलनशील पदार्थ निजी क्षेत्रलाई जिम्मेवारी दिएर भएपनि औद्योगिक कच्चा पदार्थका रुपमा प्रयोग गर्न सके केही मात्रामा भए पनि डढेलोको जोखिम हुने बताउनुभयो ।

वन डढेलो विज्ञ सुन्दर शर्माले डढेलो नियन्त्रणका लागि कार्यदल बनाएर कार्ययोजना कार्यान्वयन गर्न सकेमात्र प्रभावकारी हुने सुझाव दिनुभयो ।

नेपाल प्रहरीका प्रहरी बरिष्ठ उपरिक्षक तारादेवी थापाले प्रहरीले डढेलो रोकथाम र नियन्त्रण बारेमा समुदायमा जनचेतना जगाउन घरदैलो अभियान गर्ने तयारी गरेको अवगत गराउँँदै यसमा सञ्चारमाध्यम र सामाजिक सञ्जालको समेत उपयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

सशस्त्र प्रहरी बलका प्रहरी नायब उपरिक्षक लक्ष्मणबहादुर बस्नेतले डढेलो रोकथाममा सुरक्षा पहिलो प्राथमिकताको सिद्धान्तअनुसार समुदाय परिचालन नै सबैभन्दा प्रभाकारी हुने उल्लेख गर्दै वनमा ट्र्याक बनाउने, सुकेका झारपात, पतिङगर र काठ हटाउने अभियान चलाउनुपर्ने बताउनुभयो ।

कार्यक्रममा वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही ठकुरीले डढेलोका घटना हुन नदिन वा भएमा तत्काल नियन्त्रण गरी सम्भाव्य क्षति हुन नदिनका लागि आवश्यक सबै कार्य गर्न मातहतका निकायलाई निर्देशन दिनुभयो ।

यसका लागि मन्त्रालय मातहतका सबै निकाय परिचालित हुनुपर्ने उल्लेख गर्दै उहाँले आफूहरुले उपलब्ध स्रोत साधन र जनशक्ति परिचालन गरी डढेलो नियन्त्रणका लागि हरसम्भव प्रयास गरिरहेको जानकारी बताउनुभयो ।

मन्त्रालयका सचिव डा.दीपककुमार खरालले डढेलो नियन्त्रणमा काम गर्न सम्बन्धित निकायका प्रतिनिधि सम्मिलित हुने गरी १० दिनभित्र कार्यदल गठन गरिने जानकारी दिनुभयो ।  

अन्तिम अपडेट: माघ १९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया