माघ सकिनै लाग्यो, न हिउँ न वर्षा

 माघ २९, २०८१ मंगलबार ७:५९:४ | रासस
unn.prixa.net

कास्की – यसपालिको हिउँदयाम वर्षा र हिमपात नभई बित्न आँटेको छ । पहिलापहिला हिउँले सेताम्मे हुने हिमाली र उच्च पहाडी क्षेत्रमा सुक्खापनको जोखिम बढेको छ ।

डाँडाकाँडा फुस्रा भएका छन् । कृषि ज्ञान केन्द्र मुस्ताङका कृषि अधिकृत दिलीप नेपालीले हिउँ र वर्षा नहुँदा किसानलाई चिन्ता थपिएको बताउनुभयो । मौसमअनुसार हिउँ र पानी नपर्दा बालीको उब्जनी र गुणस्तरसमेत खस्कने उहाँको भनाइ छ ।

पछिल्लो समय जलवायु परिवर्तनको तीव्र असर विशेषगरी हिमाली क्षेत्रमा परेको विभिन्न अध्ययनले देखाएका छन् । मौसमी घटना र प्रवृत्ति यस्तै रहेमा हिमाली क्षेत्रमा रैथाने उत्पादन लोप हुने खतरा छ ।

हिमपात र वर्षात् नहुँदा खेती प्रणालीसँगै हिमाली जनजीवन पनि प्रभावित भएको छ । हिउँ नपर्दा पर्यटक लोभ्याउने हिमाल पनि कालापत्थरजस्ता देखिन थालेका छन् ।

विश्वव्यापी रूपमा गहिरिँदो जलवायु सङ्कटको सबैभन्दा ठूलो मार नेपालका हिमालमा परेको विज्ञहरू बताउँछन् ।

पर्यावरणीय अध्येता कुलचन्द्र अर्यालका अनुसार जलवायु सङ्कटको नकारात्मक असर पर्ने विश्वकै सबैभन्दा बढी संवेदनशील क्षेत्रमा नेपालको हिमालय क्षेत्र पर्छ ।

अहिलेकै गतिमा तापक्रम बढ्ने अवस्थामा त्यसको असरबाट हिउँ पग्लिँदै जाने हो भने केही दशकमा नेपालका हिमाल कालापत्थरमा परिणत हुने उहाँ बताउनुहुन्छ ।

विश्वव्यापी तापक्रम वृद्धिलाई १ दशमलव ५ डिग्री सेल्सियसमा सीमित पार्दा पनि यही शताब्दीको अन्त्यसम्ममा हिन्दूकुश–हिमालय क्षेत्रको ३६ प्रतिशत हिउँ भण्डार रित्तिने अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द (ईसीमोड) को अध्ययनले देखाएको छ । 

अन्तिम अपडेट: माघ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया