प्रेमनगरीमा वरपिपल स्वाहा सार र मकुना मरणको विरह कथा !

 माघ २७, २०८१ आइतबार १४:२०:५४ | मिलन तिमिल्सिना
unn.prixa.net

'भ्यालेन्टाइन डे' अथवा प्रेम उत्सवको बेला नेपालका दुई पर्यटकीय स्थल पोखरा र सौराहा प्रेमरसको रंगमा रंगीन हुनुपर्ने हो । तर प्रेमको रसरंगले भरिभराउ हुनुपर्ने यी दुई ठाउँमा प्रेमविरत दुई कुराको चर्चा छ । पोखरामा ठुटे वरपिपलको र चितवनमा गोली लागेर मरेको जंगली हात्ती मकुनाको । घरपालुवा पोथी हात्तीलाई गर्भवती बनाउने मकुनालाई ‘ज्वाइँराजा’ पनि भन्छन् । पोखरामा वरपिपल ठुटो हुनु र चितवनमा ‘ज्वाइँ हात्ती’ मर्नुलाई धेरैले धेरै कोणबाट व्याख्या र विश्लेषण गरेका छन् । तर पिपल काटिनु र हात्ती मारिनुको चुरो कुरो चाहिँ अहिलेसम्म कसैले भनेका छैनन् ।

सबैभन्दा पहिले पोखराको ठुटे वरपिपलको कुरा गरौँ । पहिलेपहिले वरपिपलको चौताराको छुट्टै महत्त्व थियो । उकाली ओराली गर्ने पैदलयात्री, गाईबाख्रा चराउने गोठाला र घाँसपात गर्नेहरूले वरपिपलको चौतारामा बसेर थकाइ मार्थे । सुस्केरा र सुसेली हाल्थे । गाउँका भद्र भलाद्मी वरपिपलको फेदमुनि बसेर बात मार्थे । कसैकसैले चौताराकै फेदमा बसेर मायापिरती साटासाट गर्थे । केटाकेटीले चौताराको ढुंगामा बाघचाल, गुच्चा र गट्टा खेल्थे । वरपिपलको हाँगामा मच्चिएर रमाइलो गर्थे । गर्मीमा त्यही चौताराले शीतल दिन्थ्यो । त्यति बेला वरपिपल चौताराको छुट्टै महत्त्व थियो ।

तर हिजोआज गाउँघरका वरपिपल चौतारा सुनसान छन् । गाउँमा पैदल हिँड्ने, गोठाला र घाँसपात गर्ने मान्छे भेटिनै मुश्किल छ । चौतारामा थकाइ मार्ने मान्छे कोही शहर पुगे, कोही विदेश । चौतारामा बातचित गर्ने मान्छे च्याटमा भुल्न थाले । बाघचाल, पिङ, गुच्चा र गट्टा खेल्ने केटाकेटी फेसबुक र टिकटकमा अल्झिए । हिजोआज वरपिपलको चौतारामा बसेर पाइने शीतलु घरभित्र कोठाकै एसी र पंखाले दिन्छ । वरपिपल र चौताराले दिने आरामको औचित्य सकिएपछि तिनको के काम ? औचित्य सकिए पनि वरपिपल चौतारीलाई चुप लाग्न दिनु त भएन । त्यसैले केही न केही त गर्नैपर्‍याे भन्ने कसै कसैलाई लाग्यो ।

धर्मशास्त्र र सामाजिक मान्यताले नदिए पनि मान्छेले पहिले पहिले चौताराका वरपिपल काट्थे । आगो बाल्थे, गाईबाख्रालाई घाँस खुवाउँथे । अहिले त आगो बाल्न पनि रुख, दाउरा चाहिँदैन । ग्यास र बिजुलीमै भात पाक्छ । तर कोटीहोम र महायज्ञमा त ग्यास र बिजुलीबाट आगो बाल्न मिल्दैन । दाउरा नै चाहियो । कोटीहोममा दाउरा पनि नामै नचलेका रुखको कसरी चलाउनु ! कोटीको अर्थ करोड र होमको अर्थ पूजा । अर्थात् कोटीहोम महायज्ञ भन्नेबित्तिकै पूजाको पनि महापूजा भयो । कोटीहोम महायज्ञमा एक करोड तेत्तीस लाख हवन गरी स्वाहा स्वाहा भन्नुपर्छ । एक/दुई पटक मात्रै स्वाहा भन्नुपर्दा त जुन रुखको दाउराले पनि काम दिन्थ्यो । तर करोड र लाखसम्म स्वाहा भन्नुपर्दा ठूल्ठूला मुढा नै चाहियो ।

वरपिपलका ठूल्ठूला मुढा काटेर स्वाहा भन्दा बेवारिसेजस्तै बनेको चौताराको पनि स्वाहा हुने भयो । अनि कोटीहोमलाई ‘काटी होम’ भनेर पनि व्याख्या गर्न मिल्ने । त्यसैले पोखरामा चौताराका वरपिपल काटेर काटीहोम गर्न खोजिएको हो ।

अब चितवनको ‘ज्वाइँराजा’ भनेर चिनिएको मकुना मरणको मन्त्रणा गरौँ । केही महिनाअघि प्रधानमन्त्रीले काठमाण्डौमा भाषण गर्दा चितवन र बर्दियाका बाघको पनि सातोपुत्लो उड्यो । धेरै भएर देशलाई नै अप्ठेरो परेको भनेर प्रधानमन्त्री बाघविरुद्ध गर्जिँदा हात्ती र गैंडाहरू पनि डराए । हुन पनि हो, न मासु हुने न बेचेर पैसा कमाउन मिल्ने । उल्टै मान्छेको ज्यान लिएर र घरगोठ भत्काएर यी जनावरले आतंक मच्चाइरहेका छन् । बाघ, हात्ती, गैंडाजस्ता जनावर हेर्न भनेर नेपाल आउने पर्यटकले पनि एक/दुई वटामात्रै देख्न पाउने हुन् । तिनले एकैपटक हुलका हुल बाघ, हात्ती र गैँडा देखेका छैनन् क्यारे । वनजङ्गल घुम्न जाँदा एउटै बाघ र गैंडा देखे भने पनि उनीहरूको रहर मेटिन्छ । बथानका बथान हेर्छु भन्दैनन् क्यारे । हेर्छु भने पनि भएभरका बाघलाई एकै ठाउँमा राखेर देखाउन सकिँदैन ।

पर्यटकलाई एक/दुई वटा देख्दैमा रहर मेटिने र सबै एकैपटक देखाउन पनि नसकिने भएपछि बथानका बथान बाघ किन चाहियो ? बाघ धेरै नचाहिने भएपछि हात्ती पनि धेरै चाहिएन । पर्यटकलाई बाघ, गैंडालगायतका जनावर हेर्न जानकै लागि हात्ती चाहिने हो । एक/दुई वटा बाघ र गैंडा देखाउन जाँदा दुई/चार वटा हात्ती भए पुगिहाल्छ । हात्ती धेरै नचाहिने भएपछि हात्तीको छावा जन्माउन मात्रै काम लाग्ने मकुनाको के काम ? मकुनामाथि पर्यटक चढाएर घुमाउन मिल्दैन । मान्छेलाई देख्नेबित्तिकै जाइलाग्छ । घरगोठ भत्काएर आतंक मच्चाउँछ । पोथी हात्तीलाई प्रेम गर्न र केही छावा जन्माउनका लागि रोनाल्डो, ध्रुवेलगायतका अरू जङ्गली हात्तीहरू पनि छँदैछन् । त्यसैले मकुना मर्दैमा मान्छे नै मरेजस्तो रुवाबासी गर्न जरुरी छैन ।

सौराहाको मकुना र पोखराको वरपिपलविरुद्ध कुनै बुद्धिजीवी र विशेषज्ञले भनेको सुन्नमा नआएको यो मन्त्रणा कसैको मुखबाट निस्कियो भने पनि अर्को आश्चर्य हुने छैन ।

अन्तिम अपडेट: माघ २८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

मिलन तिमिल्सिना

दुई दशकदेखि रेडियो र अनलाइन पत्रकारितामा संलग्न मिलन तिमिल्सिना समसामयिक विषयमा विश्लेषण र व्यंग्यमा दखल राख्नुहुन्छ। 

तपाईको प्रतिक्रिया