गाडी दुर्घटना : ६ महिनामा १ हजार २ सय ३३ जनाको ज्यान गयो

 फागुन ६, २०८१ मंगलबार १३:२६:१० | रासस
unn.prixa.net

प्रतीकात्मक तस्बिर

काठमाण्डौ – चालू आर्थिक वर्षको ६ महिनामा गाडी दुर्घटनामा परेर एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ । लापर्बाहीपूर्वक गाडी चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गएको आर्थिक वर्षकाे तुलनामा वृद्धि भएको छ ।

गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२ हजार आठ सय ५६ गाडी दुर्घटनामा एक हजार एक सय ४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११ हजार तीन सय ३८ गाडी दुर्घटना हुँदा एक हजार दुई सय ३३ जनाको ज्यान गएको छ ।

गएको वर्षको ६ महिनाको तुलनामा यस वर्षको ६ महिनामा गाडी दुर्घटनाको सङ्ख्या घटे पनि ज्यान गुमाउनेहरूको सङ्ख्यामा वृद्धि भएको छ । गएको मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि ज्यान गुमाउनेहरूको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिनुभयो ।

गएको साउनमा एक हजार छ सय २८ गाडी दुर्घटनामा एक सय ५२, भदौमा एक हजार ६ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो ।

गएको असोजमा एक हजार आठ सय ७३ दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको ज्यान गएको विवरण रहेको मन्त्रालयले जनाएको छ ।

अघिल्लो गएकाे मङ्सिरमा दुई हजार १४ दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको ज्यान भएको थियो । 

त्यस्तै गण्डकी, काठमाण्डौ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि ज्यान गुमाउनेहरूको सङ्ख्या बढोकाे छ । मधेश प्रदेश र बागमती (काठमाण्डौ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि ज्यान गुमाउनेहरूको सङ्ख्या घटेको तथ्याङ्क रहेको छ ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया