केआईआईटी विश्वविद्यालयले नेपाली विद्यार्थीसँग माफी माग्यो

 फागुन ६, २०८१ मंगलबार १७:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नेपाली विद्यार्थीहरूमाथि दुर्व्यवहार भएको घटनामा भारतको कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) ले माफी मागेको छ ।

विश्वविद्यालयका उपकुलपति शरणजित सिंहले विज्ञप्ति निकालेर नेपाली विद्यार्थीहरूमाथि गरिएको व्यवहारप्रति खेद व्यक्त गर्दै माफी माग्नुभएको हो । उहाँले विद्यार्थीलाई दुर्व्यवहार गर्ने दुई जना कर्मचारीलाई सेवाबाट हटाएको र तीन जना वरिष्ठ अधिकारीहरूलाई निलम्बन गरेर घटनाबारेमा छानबिन शुरू गरेको पनि जानकारी गराउनुभएको छ ।

अस्ति आइतवार विश्वविद्यालयमा अध्ययनरत नेपाली विद्यार्थी प्रकृति लम्सालको शङ्कास्पद मृत्यु भएपछि हिजो नेपाली विद्यार्थीहरूले घटनाको छानबिन गर्न माग गर्दै प्रदर्शन गरेका थिए । प्रदर्शनका क्रममा नेपाली विद्यार्थीमाथि कुटपिटसँगै प्रशासनले होस्टल छाड्न भनेको थियो । प्रशासनले झन्डै पाँच सय विद्यार्थीलाई रेल स्टेशनमै पुर्‍याइदिएको थियो । तर चौतर्फी आलोचना बढेपछि हिजो राति विश्वविद्यालयका कर्मचारीहरू रेल स्टेशन र त्यहाँका होटलमा पुगेर नेपाली विद्यार्थीसँग माफी माग्दै फर्कन आग्रह गरेका थिए ।

यस्तै नेपाली विद्यार्थीहरूलाई दुर्व्यवहार गरेकी प्राध्यापक मन्जुशा पाण्डेले सामाजिक सञ्जाल फेसबुकमा भिडिओ पोस्ट गर्दै नेपाली विद्यार्थीसँग माफी माग्नुभएको छ । नेपाली विद्यार्थीहरूले भने आफूहरू असुरक्षित रहेको भन्दै विश्वविद्यालयमा फर्किन मानिरहेका छैनन् ।

यसैबीच नेपाली विद्यार्थीहरूलाई विश्वविद्यालयमा सुरक्षाको वातावरण मिलाउन नेपाली राजदूतावास नयाँ दिल्लीबाट गएको टोलीले विद्यार्थीसँग कुराकानी गरेको छ । यो घटनालाई लिएर सरकारले निरन्तर पछ्याइरहेको र अवस्था बुझ्न नेपाल प्रहरीका दुई जना अधिकृत विश्वविद्यालय पुगेका परराष्ट्रमन्त्री आरजु राणा देउवाले बताउनुभएको छ ।

यस्तै भारतका लागि नेपालका राजदूत शङ्कर शर्माले केआईआईटीका संस्थापक अच्युत सामन्तसँग टेलिफोनमा कुराकानी गर्नुभएको छ । राजदूत शर्माले नेपाली विद्यार्थी र विश्वविद्यालय प्रशासनबीचको तनाव सामान्य बन्दै गएको र चाँडै विद्यार्थीहरूको अध्ययनले निरन्तरता पाउने बताउनुभएको छ ।

घटनाबारेमा भारतको ओडिशा राज्यको विधानसभा र नेपालको प्रतिनिधिसभामा पनि कुरा उठेको छ । प्रकृति लम्साल मृत्यु प्रकरणमा पक्राउ परेका भारतीय छात्र आद्विक श्रीवास्तवलाई प्रहरीले पक्राउ गरी न्यायिक हिरासतमा पठाएको छ । यस्तै नेपाली विद्यार्थीहरूलाई कुटपिट गर्ने दुई जना सुरक्षा गार्ड पनि पक्राउ परेका छन् ।

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया