भारतको उडिसा घटनाबारे शिक्षा मन्त्रालयको गम्भीर ध्यानाकर्षण

 फागुन ७, २०८१ बुधबार ६:२१:३२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले भारतको उडिसा राज्यकाे कलिङ्गा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा अध्ययरत छात्रा प्रकृति लम्सालको घटना तथा त्यसपछि नेपाली विद्यार्थीप्रति भएको व्यवहारका सम्बन्धमा गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

मन्त्रालयले हिजो विज्ञप्ति निकालेर विद्यार्थीहरूले सम्बन्धित विश्वविद्यालयले निर्धारण गरेको नियमानुसार बुझाउनुपर्ने शुल्क बुझाइ अध्ययन गर्न पाउने विश्वव्यापी मान्यताविपरीत विश्वविद्यालय प्रशासनबाट त्यहाँ अध्ययनरत विद्यार्थीप्रति भएको व्यवहार निन्दनीय भएको जनाएको हो

घटनाका सम्बन्धमा विभिन्न सञ्चार माध्यमका साथै औपचारिक जानकारी प्राप्त हुनासाथ घटनाको यथार्थ जानकारी एवम् समस्या समाधानका लागि कूटनीतिक पहल गर्न अस्ति सोमवार नै परराष्ट्र मन्त्रालयलाई अनुरोध गरिसकेको जनाएको छ ।

घटनाबाट विद्यार्थी र अभिभावकको मनोविज्ञानमा पर्न गएको प्रभाव तथा भारतकै अन्य विश्वविद्यालयमा अध्ययनरत हजारौँ नेपाली विद्यार्थीमा उत्पन्न हुन सक्ने त्रास र अन्योलतालाईसमेत दृष्टिगत गरी यथाशीघ्र सबै विद्यार्थीको पठनपाठन कार्य पूर्ववत् सञ्चालन गराउने व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गराइएको मन्त्रालयका सहसचिव शिवकुमार सापकोटाद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

विद्यार्थीहरूले निर्वाध रूपमा अध्ययन गर्न पाउने अवस्थाको सुनिश्चितताको लागि कूटनीतिक तवरबाट परराष्ट्र मन्त्रालयमार्फत् मन्त्रालयले निरन्तर पहल भइरहेको उल्लेख छ ।

मन्त्रालयले अन्य विदेशी विश्वविद्यालयमासमेत घट्न सक्ने शैक्षिक समस्या समाधान गर्न सहयोग गर्ने उद्देश्यले सहायता कक्ष स्थापना गरेको जनाएको छ ।

मन्त्रालयले अभिभावक तथा विद्यार्थीहरूलाई पनि संयमता अपनाउनसमेत अपिल गरेको छ । यो घटनाबाट सिर्जित समस्याको न्यायपूर्ण र वैधानिक रूपमा समाधान नगरिएमा भविष्यका लागि भारतको उडिसा राज्यका विश्वविद्यालय/शिक्षण संस्थानमा अध्ययनका लागि प्रदान गर्दै आएको वैदेशिक अध्ययन अनुमतिपत्र प्रदान गर्ने कार्य स्थगित गर्न सकिनेतर्फ मन्त्रालयले सूचित गराएको छ ।     


 

अन्तिम अपडेट: फागुन ८, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया