चालक अनुमतिपत्र लिन चाहिने न्यूनतम उमेर बढाउने सरकारको तयारी

 फागुन २२, २०८१ बिहीबार १५:१:२३ | उज्यालो सहकर्मी
unn.prixa.net

फाइल फाेटाे

काठमाण्डाै – सरकारले चालक अनुमतिपत्र अर्थात् 'ड्राइभिङ लाइसेन्स' लिन चाहिने न्यूनतम उमेर बढाउने तयारी गरेको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दुई पाङ्ग्रे गाडीको चालक अनुमतिपत्र लिने उमेर १६ वर्षबाट बढाएर १८ वर्ष पुर्‍याउने प्रस्ताव गरेको हो । यस्तै अहिले १८ वर्षमा लिन पाइने मझौला गाडीको चालक अनुमतिपत्रका लागि २१ वर्ष पूरा हुनुपर्ने प्रस्ताव छ ।

अहिले २१ वर्षमा लिन पाइने ठूला गाडीको चालक अनुमतिपत्रका लागि २३ वर्ष प्रस्ताव गरेको मन्त्रालयका यातायात शाखा प्रमुख शङ्कर सिंह धामीले जानकारी दिनुभयो । किशोर तथा युवा समूहका व्यक्तिले चलाएका गाडी दुर्घटनामा धेरै परेको पाइएपछि उमेर बढाउन प्रस्ताव गरेको उहाँको भनाइ छ ।

काठमाण्डौ उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार गएको साउनदेखि फागुन १९ गतेसम्म ६ हजार ८ सय ३४ जना चालकबाट गाडी दुर्घटना भएकामा झन्डै एक तिहाइ अर्थात् २ हजार २ सय जना चालकको उमेर १६ देखि २५ वर्ष छ । सबैभन्दा कम दुर्घटना ४१ वर्षभन्दा बढी उमेरका चालकबाट भएको पाइन्छ ।

सरकारले ६० वर्षभन्दा माथिको उमेर पुगेका व्यक्तिले ठूला र मझौला गाडी चलाउने अनुमतिपत्र नपाउने व्यवस्था पनि प्रस्ताव गरेको छ । यस्तै मन्त्रालयले कम्तीमा कक्षा ८ उत्तीर्ण भएकालाई मात्रै चालक अनुमतिपत्र दिने प्रस्ताव पनि गरेको छ । मन्त्रालयले प्रस्ताव गरेको विधेयकमा दुई पाङ्ग्रे गाडीको पछाडि बस्ने यात्रुले पनि हेल्मेट लगाउनुपर्ने नियम पनि प्रस्ताव गरिएको छ ।

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया