गभर्नर बन्न कस्तो याेग्यता चाहिन्छ ?

 फागुन २२, २०८१ बिहीबार १५:५:१२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – नयाँ गभर्नर छान्नका लागि सरकारले प्रक्रिया शुरू गरेको छ । नेपाल राष्ट्र बैंक ऐनमा अर्थमन्त्रीको अध्यक्षतामा गभर्नर सिफारिश समिति व्यवस्था छ । त्यही व्यवस्थालाई आधार मान्दै हिजाे बेलुकी बसेको मन्त्रिपरिषद् बैठकले गभर्नर सिफारिश समिति बनाउन अर्थ मन्त्रालयलाई स्वीकृति दिएको हो ।

अर्थमन्त्रीको अध्यक्षतामा रहने सिफारिश समितिमा पूर्वगभर्नरहरूमध्येबाट एक तथा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरूमध्येबाट नेपाल सरकारले तोकेको एक जना व्यक्ति सदस्य रहने छन् । याे समितिले गभर्नरका लागि तीन जनाको नाम सिफारिश गर्नेछ । जसमा डेपुटी गभर्नरमध्ये एक जनाको नाम सिफारिश हुनैपर्ने व्यवस्था छ । गभर्नर बन्नका लागि अहिलेका डेपुटी गभर्नरद्वय निलम ढुंगाना, बमबहादुर मिश्रलगायतका व्यक्तिहरूले लबिङ शुरू गरेका छन् । ढुंगाना र मिश्रमध्ये एक जनाकाे नाम मन्त्रिपरिषद्सम्म पुग्ने निश्चित छ ।

समितिले गभर्नर नियुक्तिका लागि सिफारिश गर्दा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरू तथा डेपुटी गभर्नरहरूमध्येबाट तीन जनाको नाम नेपाल सरकार, मन्त्रिपरिषद्मा सिफारिश गर्नेछ ।

गभर्नर बन्न लगानी बोर्डमा प्रमुख कार्यकारी अधिकृत (सीईओ) भइसकेका सुशील भट्टसमेत लबिङमा हुनुहुन्छ । यस्तै अहिलेका गभर्नर महाप्रसाद अधिकारी पुनः दोहोरिने आशामा हुनुहुन्छ ।तत्कालीन नेकपा नेतृत्वको सरकारका प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गर्नुभएका गभर्नर अधिकारीको कार्यकाल चैत अन्तिम हप्ता सकिँदैछ ।

गभर्नर बन्न कस्तो याेग्यता चाहिन्छ ?

राष्ट्र बैंक ऐन २०५८ को दफा २० मा गर्भनर पदमा नियुक्त हुने व्यक्ति नेपालको नागरिक हुनुपर्ने, उच्च नैतिक चरित्र भएको हुनुपर्ने तथा आर्थिक मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङ्कशास्त्र, गणित वा कानून विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको र १० वर्षको कार्य अनुभव भएको हुनुपर्ने व्यवस्था छ ।

गभर्नरको काम, कर्तव्य र अधिकार राष्ट्र बैंकको ऐनमा स्पष्ट छ । समितिले गरेका निर्णयहरू कार्यान्वयन गर्ने, बैंकको सञ्चालन तथा व्यवस्थापन गर्ने, बैंकले गर्नुपर्ने कार्यहरू व्यवस्थित गर्ने, अन्तर्राष्ट्रिय सङ्घ–संस्थामा बैंकको तर्फबाट प्रतिनिधित्व गर्ने/गराउने, मौद्रिक तथा विदेशी विनिमयसम्बन्धी नीति कार्यान्वयन गर्ने/गराउने, वाणिज्य बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप तथा कर्जाको ब्याजदर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाले कर्जा वा निक्षेपमा लिने वा दिने ब्याजदर सम्बन्धमा आवश्यक नीति निर्धारण गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाले कायम गर्नुपर्ने तरलतासम्बन्धी नीति निर्माण गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाहरूले राख्नुपर्ने अनिवार्य मौज्दातको आधार, रकम, तरिका, शर्त, समयावधि तथा त्यसको प्रयोगबारे आवश्यक व्यवस्था गर्ने अधिकार गभर्नरमा निहित हुन्छ ।

त्यस्तै वाणिज्य बैंक तथा वित्तीय संस्थाको पूँजी कोषको पर्याप्ततासम्बन्धी शर्त निर्धारण गर्ने, सुन तथा अन्य बहुमूल्य धातुको खरिद–बिक्री गर्दा अपनाउनुपर्ने प्रक्रिया र शर्तको सम्बन्धमा निर्णय गर्ने, बैंकले प्रदान गर्ने सेवामा सेवा शुल्क निर्धारण गर्ने, आवश्यकता अनुरूप बैंकका शाखा कार्यालय तथा अन्य कार्यालय स्थापना र बन्द गर्ने निर्णय गर्ने, बैंकको एजेन्सी स्थापना गर्ने र बन्द गर्ने, बैंकको सूचना प्रणालीको विकास र सञ्चालन सम्बन्धमा आवश्यक व्यवस्था गर्ने, वाणिज्य बैंक तथा वित्तीय संस्थाको सुपरीवेक्षण सम्बन्धमा आवश्यक व्यवस्था मिलाउने, वाणिज्य बैंक तथा वित्तीय संस्थालाई प्रदान गरिएको इजाजतपत्र रद्द गर्ने सम्बन्धमा निर्णय गर्ने अधिकार गभर्नरमा हुने भएकाले पनि यो पदलाई शक्तिशाली पदका रूपमा हेरिने गरिएको छ ।

न्यूज एजेन्सी नेपाल

अन्तिम अपडेट: फागुन २२, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया